रास्वपा नेता रवि लामिछानेले माछा र केराको आयात वन्द गर्न एक जना पुराना नेतालाई साथ दिन अनुरोध गरेका छन् । लामिछानेको यस भनाईवाट उनी स्वतन्त्र व्यापार नीतिका विरोधी र संरक्षणवादका समर्थक भएको स्पष्ट भएको छ ।तर व्रिटिश अर्थशास्त्री डेभिड रिकार्डोले (१७७२-१८२३) संरक्षणवादले देश र जनतालाई अहित गर्ने भन्दै स्वतन्त्र व्यापार नीतिको दृढ समर्थन गरेको पाइन्छ । उनले तुलनात्मक लाभको सिद्धान्त प्रतिपादन गरेर कुनै पनि देशले अन्यले भन्दा कम लागतमा उत्पादन गर्न सक्ने आफ्नो विशिष्टता प्राप्त क्षेत्रको वस्तु उत्पादन गरेर अन्य देशमा त्यस वस्तुलाई निर्यात गर्नु पर्छ भने आफ्नो देशको तुलनामा कम लागतमा उत्पादन गर्ने देशवाट त्यस्ता वस्तुलाई आयात गर्नु पर्छ भनेका छन् । यसवाट संक्रमणकालमा केही व्यक्तिलाई नोक्सान गरे पनि सवै देशलाई अन्ततः फाइदा गर्छ । आफ्नो उत्पादनलाई संरक्षण गर्ने नाउँमा स्वदेशी जनतालाई महंगा वस्तु उपभोग गर्न वाध्य गराउनु किमार्थ पनि जनताको पक्षमा छैन । नेपालले भारत वा अन्य देशको तुलनामा राम्रो र सस्तो माछा र केरा उत्पादन गर्न सके विदेशवाट आयात हुने वस्तुलाई रोक्नै पर्दैन ≤ आफै आयात हुन वन्द हुन्छ ।यस अर्थमा रिकार्डो सहि छन् । जव रिकार्डो सहि छन् भने रवि लामिछाने गलत छन् । अब प्रतिनिधिसभामा एडमस्मिथको “अदृश्य हात” र सन्तुलन (भत्रगष्ष्दिचष्गm) को व्याख्या गर्ने रास्वपाका सांसद सुमना श्रेष्ठ यस वारे के भन्नु हुन्छ ? कुनै पनि देशले अरु देशवाट आयात गरिने वस्तुहरुलाई नियन्त्रण गरेमा अरु देशले पनि जवाफमा त्यस देशवाट अरु देशमा निकासी हुने वस्तुहरुलाई नियन्त्रण गर्ने छ ।हालैका वर्षहरुमा अमेरिका र चीनका विचमा भएको व्यापार युद्धमा यस्तै क्रिया र प्रतिक्रिया भएको देखिएको हो । नेपालको हकमा पनि यस्तै हुने हो । यसप्रकार नेपालले चीन , भारत वा अरु कुनै देशवाट नेपालमा आउने वस्तुहरुलाई रोकेमा ती देशहरुले पनि नेपालवाट निकासी हुने वस्तुहरुलाई रोक्ने निश्चित छ । यसले अन्ततः नेपाललाई गम्भीर रुपले घाटा गर्ने छ ।यसकारण रवि लामिछानेको विचारले देशलाई पछाडि धकेल्छ । रवि लामिछानेले यस्तो उटपटांग कुरा गर्नु अगाडि वहॉकै पार्टीका अर्थशास्त्रीसँग विमर्श गर्नु हुन अनुरोध छ ।
