IMG-LOGO

मेरो जन्मदिनको सन्दर्भमा

 मंगल, असार ५, २०८०  – डा. बाबुराम भट्टराई

    आफ्नो जीवनको सातौं दशकमा प्रवेश गरेको सन्दर्भमा गाउँको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम  शिक्षा सहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुहुने सम्पूर्ण दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।जीवन नश्वर र क्षणभंगूर छ।अतः जन्म र मृत्यु वीचको सीमित समयभित्र प्रत्येक सचेत व्यक्तिले आफ्नो जीवनको परिभाषा गरेर आफ्नो लक्ष्य निर्धारण गर्छ र त्यसको प्राप्ति निम्ति दत्तचित्त रहन्छ । त्यसैको आधारमा उसले र इतिहासले उसको मूल्ं्यांकन गर्छ । मैले पनि २४ बर्षको उमेरमा २०३५ वैशाख १ गते आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको थिएँ । त्यही बाटोमा निरन्तर ४५ वर्ष हिंडेर यहाँ सम्म आइपुगेको छु । बाँकी जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धता सहित यहाँ त्यसलाई स्मरण गर्न चाहन्छु ।     ‘जीवनको लक्ष्यः संसारमा शास्वत ‘सत्य’ पत्ता लगाउन र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने। यस अनुसार विश्वमात्रलाई कर्मक्षेत्र र मानवमात्रलाई सेवाको पात्र बनाए पनि ‘नेपाल’लाई यो कर्मक्षेत्रको एउटा ‘इकाइ’ मानेर यसैको सीमाभित्र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने । यसको निम्ति विद्यमान सामाजिक,राजनैतिक मान्यतालाई नाश गरेर नयाँ मान्यताको प्रादुर्भाव गर्नुपर्ने अवश्यंम्भावी छ । सामन्तवाद र त्यसको पृष्ठपोषक राजतन्त्र नेपाल भित्रका ‘अन्याय’ र ‘असत्य आचरण’ को मूल कारण भएकाले यसको विनाश गरेर मानवमात्रमा समानता र न्याय कायम गर्ने व्यवस्था कायम गर्न आफ्नो अग्रिम भूमिका हुनेछ। यसको प्राप्तिको मार्ग हुनेछ ‘माक्र्सवाद’। आफ्नो भूमिका मुख्यतया क्रान्तिको निम्ति सैद्धान्तिक आधार तयार गर्नु र क्रान्ति पश्चात देशलाई सैद्धान्तिक नेतृत्व दिनुमा केन्द्रित हुनेछ । सक्रिय राजनीतिमा सकभर नलागे पनि आवश्यक परेमा नेतृत्व दिन नहिच्किचाउने । अन्यथा आफ्नो जीवन एउटा माक्र्सवादी विद्वान, दार्शनिक, लेखक र समाजसेवीको रूपमा व्यतित हुनेछ । व्यक्तिगत जीवन मानवको शक्तिले भ्याउनेसम्म आदर्शवादी हुनेछ । सच्चा माक्र्सवादीको रूपमा मानवमात्रका हितमा आफ्नो जीवन लगाउनेछु । स्वार्थन्धताको साँघुरो घेरामा बाँधिनबाट बच्न आफ्नो कुनै ‘परिवार’ कायम गर्ने छैन, सबै मानिस आफ्नो निम्ति ‘आफन्त’ हुनेछन् तर आफुलाई यो घोषित मार्गबाट विचलित नगराई यसैमा लाग्न अरू प्रेरणा दिने कुनै स्त्री भेटिए विवाह गरेर व्यक्तिगत जीवन चलाउन पनि हिच्किचाउने छैन । किनकि सन्तानोत्पादनद्वारा मानवको वंश कायम गर्नु पनि मानिसको एउटा कर्तव्य हुन्छ । परन्तु वासनाले आफुलाई वशमा पार्न कहिल्यै दिनेछैन । निर्दिष्ट मार्गबाट बहकाउने कुनै कुरामा ध्यान दिनेछैन । ‘आदर्श मानव’ बनेर अरूलाई उदाहरण देखाउनु आफ्नो जीवनको मूल लक्ष्य हुनेछ । तर यी सब माक्र्सवादसँग सहमत हुनेछन् – किनकि यो नै  एकमात्र वैज्ञानिक ‘वाद’ हो–यसलाई पनि संम्भव भए (आवस्यकता अनुसार) अरू प्रगतिशील बनाउने प्रयत्न भने हुनेछ । ‘धर्म’ र ‘ईश्वर’ जस्ता अन्धविश्वासमा कहिल्यै लाग्नेछैन । मानिसको विवेक र ज्ञान आफ्नो मुख्य हतियार हुनेछ । आफ्नो उद्देश्यको पूर्ति गर्न संघर्षरत हुन कहिल्यै डराउने छैन । मलाई आफ्नो शक्तिमा पूर्ण भरोसा छ र ज्ञान हासिल गर्न र आत्मानु शासनमा रहन कहिल्यै चुक्ने छैन ।’    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्