IMG-LOGO

२०० वर्ष अघिको हैसियतमा फर्किँदै एसिया, शक्ति गुमाउँदै पश्चिम

 मंगल, जेठ ३०, २०८०  - मार्टिन वुल्फ

                 सम्मानित विश्लेषक पराग खन्नाको तर्क छ- भविष्य एसियाको हो । तर, यसको मिहिन विश्लेषण आवश्यक छ । भौगोलिक हिसाबले एसिया युरोप भन्दा अलग छैन । ‘एसिया’ आफैँमा एसियाली अवधारणा होइन । यो त युरोपले आविष्कार गरिदिएको हो । एसियालीहरुले आफूलाई एउटै महादेशको अभिन्न हिस्साका रुपमा कल्पना गरेका होइनन् । त्यस्तो कल्पना सम्भव हुनका लागि यो क्षेत्र अति विशाल र विविध छ । अहिले पनि अवस्था त्यस्तै छ । अहिले ऐतिहासिक सन्दर्भमा हेर्दा छोटो तर विश्वलाई बदलिदिने युरोप अनि यसका सन्ततिको प्रभुत्व क्षीण हुँदै जाँदा विश्वमा एकखालको पुनर्सन्तुलन भइरहेको छ । अहिलेको अवस्थालाई एउटा बहु-ध्रुवीय र लथालिंग विश्वले विस्थापित गर्नेछ । त्यो विश्वको ठूलो हिस्सा ‘एसिया’ ले ओगट्ला त ? निश्चय नै ओगट्नेछ । चीन र भारत त्यसका खेलाडी हुनेछन्। तर, एसिया खेलाडीभन्दा पनि मैदान हुनेछ ।                   विश्वको मानचित्रमा हेर्नुहोस्, युरोप र एसिया एउटै महादेश हुन् ऐतिहासिक र सांस्कृतिक कारणले उत्तरी अफ्रिकालाई पनि अफ्रिकाको साटो एसिया महादेशमा समावेश गराउनु उपयुक्त हुन्छ । त्यसो भएमा यो युरेसिया बन्न पुग्छ, जुन मानव सभ्यताहरुको महादेश हो । ऐतिहासिक रुपमा हेर्दा यो महादेश विविध सभ्यताहरुको घर थियो। पूर्वमा कन्फ्युसियन सभ्यता, दक्षिणमा हिन्दु सभ्यता, पश्चिमतिर इस्लामिक सभ्यता र सुदूरपूर्वमा क्रिस्चियन । उत्तरतिरको स्तेपीमा फिरन्तेहरु थिए । यी छिमेकीहरुबीचको अन्तक्र्रिया गज्जबको थियो । तर, अस्तित्वमा रहनका लागि वा एक महादेशका रुपमा सोचिन समेत युरेसिया अत्यधिक ठूलो थियो । यो एक महादेशलाई दुई भागमा विभाजित गर्ने विचार ग्रिसेलीहरुले आविष्कार गरेको देखिन्छ । सर्वप्रथम एसियाको उल्लेख ४४० इसापूर्वमा ग्रिसेली इतिहासकार हेरोडोटसले गरेको पाइन्छ । त्यतिबेला उनले एसिया भनेको भू-भाग कति विशाल होला भन्ने कसैलाई थाहा थिएन ।                   बेलायती इतिहासकार जोन हेलका अनुसार पुनर्जागरण कालमा ‘युरोप’ नामले ‘इसाइ जगत’ नामलाई विस्थापित गरेको थियो । युरोपलाई अलग महादेशका रुपमा परिकल्पना गरेपछि पूर्वतिरको विस्तृत र विविध क्षेत्रलाई एसिया भनियो । तर, गएका केही शताब्दीमा भएका आर्थिक, प्राविधिक र सैन्य परिवर्तनले मात्रै युरोप र उसको उपनिवेशबाट जन्मेका मुलुकहरुको प्रभुत्व स्थापित भयो। युरोप र एसियाको विभाजनलाई सैन्य विजय र धनको स्वामित्वमा रहेको विशाल अन्तरले वास्तविक स्वरुप दियो । दिवंगत एंगस म्याडिसनका अनुसार १८२० मा पश्चिम युरोपको प्रतिव्यक्ति जीडीपी पूर्वी एसियाको तुलनामा दोब्बरभन्दा बढी थियो । १९५० मा त्यो अन्तर बढेर साढे ६ गुणा पुगेको थियो । तर, २०१८ मा आइपुग्दा त्यो घटेर २.४ गुणा भएको छ । जुन करिब दुई शताब्दीअघिकै जत्तिको हो ।                   १८२० मा विश्वको समग्र उत्पादनको ६१ प्रतिशत हिस्सा एसियाले उत्पादन गथ्र्यो । जबकि पश्चिम युरोपले २५ प्रतिशत मात्र उत्पादन गथ्र्यो । १९५० मा आइपुग्दा एसियाको त्यो हिस्सा झरेर मात्र २० प्रतिशतमा खुम्चियो । जबकि पश्चिम युरोपको हिस्सा बढेर २६ प्रतिशत पुग्यो । २०१८ मा भने पश्चिम एसियाको हिस्सा पुनः १५ प्रतिशतमा झर्‍यो भने एसियाले आफ्नो हिस्सा बढाएर ४८ प्रतिशत पुर्‍यायो । युरेसियाले धेरै हदसम्म पुनर्सन्तुलन कायम गरेको छ । उसोभए विश्वमा उसको हैसियत चाहिँ कस्तो छ त ? गएका दुई शताब्दीमा एसियाको हैसियत खस्कियो । किनभने अमेरिकी महादेशहरुको उत्पादन र जनसंख्या अनि अफ्रिकाको दक्षिणी हिस्सामा पनि जनसंख्या बढ्न पुग्यो। तथापि, मानव सभ्यताको केन्द्र भने युरेसिया रहिरह्यो। २०१८ मा विश्वको समग्र जनसंख्यामा युरेसियाको हिस्सा ७२ प्रतिशत छ । १८२० मा यो हिस्सा ९१ प्रतिशत थियो । त्यसैगरी विश्व उत्पादनमा युरेसियाको हिस्सा ७० प्रतिशत छ । १८२० मा यो ९२ प्रतिशत थियो। घटेको हिस्सा अधिकांश उत्तर अमेरिका सरेको छ ।                   त्यसकारण मुख्य कथा एसियाको पुनरोत्थान हो । जसको नेतृत्व पूवी एसियाले गरेको छ । १९ औँ शताब्दी र २० औँ शताब्दीको सुरुवाती दशकहरुमा भएको आर्थिक पतनपछि एसियाको पुनरोदय भएको छ । यो प्रक्रियामा युरेसिया धेरै हदसम्म पुनर्सन्तुलित भएको छ । र, स्वाभाविक रुपले समग्र विश्वकै पुनर्सन्तुलन भएको छ । यो ‘महान समागम’ पनि कुनै ‘एसियाली’ संस्कृतिको कारण भएको होइन । एसियाका अलगअलग संस्कृतिहरु, खासगरी पूर्वी र दक्षिण एसियाली संस्कृतिले प्रतिस्पर्धात्मक बजार, स्वतन्त्र उद्यम, उदार व्यापार, शिक्षा र आर्थिक वृद्धिको लक्ष्यजस्ता युरोपेली भनिने अवधारणाहरुलाई अपनाएका छन् ।                   खास ठाउँहरु फरक छन् त्यो खास समाजको इतिहास अनि राजनीतिक संस्कारमा निर्भर हुन्छ । उदाहरणका लागि चीन र भारत एकअर्काबाट असाधारण तरिकाले फरक छन्।् तर, यी समाजका थुप्रैको चाहना एउटै छ, समृद्ध जीवन । तथापि, यो एसियाली संस्कृति मात्रै होइन। यो विश्वव्यापी हो । तर, अफसोसको कुरा, त्यो लक्ष्य सम्भव पार्ने गरी समाजलाई संगठित गर्ने क्षमता भने यी समाजमा कम छ । तर, पछिल्ला केही दशकमा एसियाली समाजहरु, खासगरी पूर्वी एसिया यो मामिलामा अत्यधिक सफल भएका छन् । ठूलो जनसंख्या भएको एसियाले युरोपलाई भेट्टाउँदै गर्दा त्यसले उनीहरुबीच वाणिज्य-व्यापारको विशाल अवसर सिर्जना गर्छ । चीनको नेतृत्वमा रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप गठन भएको छ (तर भारतबाहेक) । यसले पनि यो प्रक्रिया झन् तीव्र हुने संकेत गर्छ । तथापि, यसमा चीनको केन्द्रीय भूमिका रहने लगभग अवश्यंभावी छ ।                   उसोभए युरेसियाको पुनर्सन्तुलन र विश्वको पुनर्सन्तुलनबारे हामी के भन्न सक्छौँ त ? सबैभन्दा महत्वपूणर् कुरा, यो प्रक्रिया स्वाभाविक हो। युरोपेली तथा अमेरिकीहरुले प्राप्त गरेको असाधारण शक्ति घट्दैछ । झण्डै आधा जनसंख्या रहेको र विश्वको सबैभन्दा ऐतिहासिक सभ्यताहरुको भूमि एसियाले यो परिवर्तनको नेतृत्व गर्नु स्वाभाविक हो । यो प्रक्रियाले निरन्तरता पाउने सम्भावना धेरै छ ।  विश्व अर्थतन्त्रको केन्द्र पूर्वतिर सर्दैछ । त्यसपछि एसिया आर्थिक र राजनीतिक हिसाबले अति महत्वपूणर् बन्नेछ । तर, सँगसँगै एसियाका आफ्नै अप्ठेराहरु हुनेछन् । त्यसमाथि यहाँ ठूलो आन्तरिक प्रतिस्पर्धा पनि चल्नेछ । त्यसैले सिंगो एसियाको एउटा सामूहिक ‘इच्छा’ हुनेछैन । बरु मुलुकहरुले आ-आफ्नो बाटो पहिल्याउनेछन् । अर्कोतिर पश्चिमले पनि आफ्नो सामूहिक सोचमा दुई परस्पर विरोधी विचार राख्न जरुरी छ । पहिलो, संसार जस्तो छ, त्यस्तैसँग पश्चिमले कारोबार गर्नुपर्ने हुन्छ । दोस्रो, संसारले जेसुकै सोचोस्, पश्चिमले आफ्ना उत्तम मान्यताहरु, खासगरी लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नैपर्छ । आखिर जीवन सहज हुने आश कसले पो गरेको थियो र ! (फाइनान्सियल टाइम्सबाट)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्