IMG-LOGO

प्रश्नभन्दा पर कोही छैनन् – बुद्धको शिक्षा

 मंगल, बैशाख २६, २०८०  – चन्द्र खाकी

         बुद्ध दर्शनका बारेमा बोल्ने मेरो औकात पुग्दैन । ज्ञानको अथाहा समुद्रमा बुद्ध दर्शनबारेको मेरो बुझाइ एउटा तोरीको गेडाजत्रो पनि छैन ।  तर बुद्धले भनेका एउटा कुराले साह्रै मन छुन्छ । बुद्धले कहिल्यै पनि आफूले भनेको कुरा आँखा चिम्लेर समर्थन गर भनेर भनेनन् । बुद्धले भनेका छन्– बुद्धले भन्यो भनेकै आधारमा कुनै पनि कुरालाई पत्याइनहाल्नू ! त्यसको सत्यताबारे जाँचपडताल गर्नू, सही ठहरिएमा मात्रै त्यसलाई मान्नू वा स्वीकार्नू ! बुद्धले सत्यको जाँचपडतालमा जोड दिए, आफूलाई थाहा नभएको कुरामा सन्देह गर्न, प्रश्न गर्न सिकाए । सबै कुरा प्रश्नको घेराभित्र हुन्छ भन्ने बताए । अन्धसमर्थन नगर्न सल्लाह दिए ।        बुद्धको बारेमा आज धेरैले ठूला ठूला अर्ति दिन्छन्, बखान गर्छन् तर बुद्धको प्रश्न गर्नेबारेको सिकाइलाई भने नकार्छन् । यहाँका स्वनामधन्य राजनीतिज्ञ, बुद्धिजीवी, लेखक, पत्रकार तथा लगभग सबैजना आफूलाई प्रश्नभन्दा पर वा माथि राख्छन् । अन्धभक्ति वा अन्ध प्रशंसा सबैलाई प्रिय लाग्छ । प्रश्न गर्ने, सन्देह गर्ने र सत्यको कसीमा जाँचपडताल गरेर मात्रै कुनै पनि कुरालाई स्वीकार वा अस्वीकार गर्नेलाई लगभग ’दुश्मनको कित्ता’ मा राख्ने चलन व्याप्त छ ।        आजभन्दा २५६७ वर्षअगाडि जन्मिएका बुद्धले आफूलाई भगवान मान्न इन्कार गरे, आफ्नो मूर्ति बनाएर पूजा गर्ने कुराको विरोध गरे । तर स्थिति त्यसको उल्टो छ । अहिलेको समकालीन नेपालमा पनि थुप्रै राजनीतिक भगवानहरु जन्मिएका छन्, पैदा गराइएका छन् – जसलाई अन्धभक्तहरु प्रिय छ, तिनीहरु पनि आफूलाई प्रश्नभन्दा पर ठान्छन् । तिनका कर्ममाथि प्रश्न गर्नेहरुलाई दुश्मनको कित्तामा राखिन्छ, अन्धभक्तहरु आमाचकारी गालीगलौजमा उत्रन्छन् ।        बुद्धजयन्तीका अवसरमा ती सबै आधुनिक भगवानहरुमा सद्बुद्धि पलाओस् – हार्दिक मंगल कामना भवतु सब्ब मंगलम !  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्