IMG-LOGO

जनसरोकार हराएको जात्रा

 मंगल, बैशाख १९, २०८०  – – तुयुकाजी ताम्राकार

            धार्मिक, साँस्कृतिक र पुरातात्विक दृष्टिकोणले पनौती अत्यन्त प्राचीन रहेको कुरा धेरै व्याख्या गरिरहनु पर्दछ भन्ने लाग्दैन । यहाँको प्राचीनताको विषयमा हिमवत्खण्डमा उललेख हुनुको साथै पछिल्लो चरणमा पनौतीको जात्रा, पर्व, संस्कृती एवं ऐतिहासिकता र पुरातात्विक महत्व बारे धेरैले लेखिपनि सक्नु भएकै छ । तर पनि कतिपय जात्रा, धर्म र सँस्कृतीहरु पनौतीकै जन समुदायमा लोप हुँदै जाने अवस्था छ । अनभिज्ञ रहेको देवता, जात्रा र सँस्कारहरु मध्ये एक खँद्य बारे उल्लेख गर्दछु ।           विश्वमा आजको जस्तो हातहतियारहरुको आविष्कार र निर्माण नभएको बेला खुकुरी, खुर्पा, बन्चरो, भाला, तरवार, खड्ग र खुँडा जस्ता हतियार प्रयोग गरि लड्थे र आफ्नो राष्ट्रको सुरक्षा गर्दथे । त्यसैले शत्रुबाट जोगिनको निम्ति खुँडा, खुकुरी खड्ग र तरबार जस्ता हतियारहरु आजको गोलाबारुद, बन्दुक र क्षेप्याश्त्रझैँ थिए । राजाहरुले खुँडा खुकुरी सधँै तमतयार र सुरक्षित राख्थे । दुष्मण आई लागे सजिलै छप्काउन खुँडा, खुकुरी तरवारहरुमा बेलाबेलाधार लाएर राख्दथे । नेपाल एकिकरण गर्दा पृथ्वी नारायण शाहले समेत खुँडा खुकुरी प्रयोग गरेको इतिहासमा उल्लेख छन् ।           मल्लकालिन समयमा पनौतीका राजा वा प्रशासकहरुले पनि आफ्नो सम्प्रभुसत्ता सुरक्षाको निम्ति खुँडा, खुकुरी, तरवार आदीको बन्दोबस्त गर्ने, जोगाउने, साँध लाउने, हेरचाह गर्ने र वर्षमा एक पटक पुजा गर्ने र जात्रा गरि समाज सुरक्षित रहेको देखाउने गरेको तथ्यले आज पनौतीको धर्म सँस्कृतीको रुपलिई सम्पदाको रुपमा रहेको छ । उक्त समयमा हतियार लुट्ने डरका कारण हतियार भण्डारण घर वा कोठा कसैलाई देखाउँदैनथे । गोप्यता भङ्गनहोस भन्ने दृष्टिकोणले खास मान्छेलाई बाहेक घर वा कोठामा हेर्न समेत प्रतिबन्ध थियो । नहेरीयोस भन्नाका लागि एउटा प्रभावकारी उपाय लगाएका थिए । त्यो थियो जस्ले त्यहाँ हेर्छ त्यस्को आँखा अन्धो हुन्छ । बर्षमा एक पटक पुजा गर्ने चलन पनि चलाए । देवताको नाम खँद्य राखियो । शक्तिशाली हतियार खुँडाबाट खँद्ये उच्चारण भएको हुनुपर्छ ।           खँद्यको पुजा जात्रा पर्व चल्दै चलाउँदै आएको आजभन्दा अढाइ सय वर्ष भन्दा पहिला देखि हो भन्ने कुरा सम्बन्धित पुजारि परिवार एवं अन्य जानकारहरुले जानकारी दिनुभएको हो । खासगरि उक्त देवताको पुजा दशैको समयमा मात्र गर्ने चलन रहेछ । घटस्थापनाको दिनमा देवस्थलमै जमरा राखेर पुजाको शुभारम्भ गरि अष्टमीको दिन खँद्य (खुँडा) लाई नारायण पाटी फूलले चारैतिर वेरी नदेख्ने गरि भगवती स्थानमा लगेर राख्नु पर्दछ । त्यसरि भगवती स्थानमा एउटा घैंटा पनिजल भरेर राख्ने गरिन्छ । भगवती स्थानमा बेलुकाबोका र हाँगाको बलि चढाइन्छ । पुजा पाठ पहिले खँद्य भगवनी स्थानमा लैजाँदा र फर्काउँदा नायखीँ बाजा बनाइन्थ्यो तर हिजो आज त्यो बाजा बनाउनेहरु नआउने हुँदा जात्राको रौनकता हराएझैँ भएर जनसरोकारबाट टाढा भएको छ ।           उपरोक्त कुराहरु उल्लेख गरि रहँदा उक्त जात्राको पुजारीको होला र देव स्थान कहाँ होला भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हुन्छ । वास्तवमा खँद्यको जात्रा पर्व संचालन गर्ने जिम्मा गोक्षे परिवारले गर्दै आएका रहेछन् । हिजो आज खँद्यको पुजा एवं अन्य सम्पूर्ण काम गर्ने अभिभारा प्रविण गोछेको रहेछ । वहाँहरुले परम्परा देखि चल्दै आएको सम्पूर्ण कामहरु गरिरहनु भएका छन् । जात्राकै क्रममा भगवती स्थानबाट जल भरेको कलश ढोका बाहिर योम्हरी स्थम्भ भएको स्थान तल खोला छेउमा राख्नु पर्ने काम पनि भइरहेको बताउनु भयो ।           खँद्यको द्यछेँ (घर) पसछें चोकमा स्व. अनिरुद्र पसछेंको घरको मातनको एउटा कोठामा छ । उक्त कोठामा खँद्य रहेको आजभन्दा अढाइसय वर्ष पहिले देखि नै रहेछ । कोठामा के कस्तो देवता भनेर बाहिरकाले त के घरकै मान्छेहरुले समेत हेर्न नहुने हेरे अन्धो हुन्छ भनेकोले आजसम्म नहेरेको परिवारकै सदस्यले बताउनु भयो । संयोगले उक्त खुँडा देख्नेले पनि सपनामा देखेको बताउनु हुन्छ । चोककै गणेश पसछें । अर्काे एउटा तथ्य के हो भने त्यस्ता हतियारको भण्डार रहेको घरको नाम नै खँछे रहेको र चोकको नाम पनि खँछे चोक नाम रहेको पनौती मै छ खुँडा खुकुरी तरवार आदी हतियारहरुको दशैमा साँध लगाउने र पुजा गर्ने चलन चाहिँ सबै हिन्दु धर्मावलीम्बीहरुले अझै गर्दछन् तर सरकारी खर्चबाट साँध लाउने पुजा गर्ने र जात्रै चलाउने परम्पराले पनौतीकै एउटा संस्कृती, सम्यता र सम्पदाको रुपमा विकास भएक ाहुन् । बार्षिक जात्राको क्रममा खँद्य बोकेर भगवती स्थानमा लैजाँदा र फर्काउने बेलान याखीँ बाजा सुन्ने वित्तिकै देउता हेर्नु पर्ला देखे अन्धा हुने डरले मान्छेहरु खास गरि बच्चाहरु भागा भाग गर्ने कुराहरु बुढा पाखाहरुको भनाइ छ । पनौतीमा लुकेर बसेको यो सम्पदालाई जोगाउनु पर्दछ भन्ने जानकारीहरु भन्दछन् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्