महावीर पुनको नेतृत्वमा गत शुक्रबारदेखि अहोरात्र (दिनरात) को आन्दोलन सुरू भएको छ। यो आन्दोलनका मागहरू नेपाल र नेपालीलाई समृद्ध बनाउनका लागि हो। सबै पौने ३ करोड देश विदेशमा बस्ने नेपाली जनताको साथ छ र साथ रहिरहने छ । नेपाल सरकारले तुरून्तै वार्ता गरेर देश बनाउन राखिएको ब्यावहारिक मागहरूलाई अविलम्ब सम्बोधन गरोस् । संभवतः यस्तो सृजनशील आन्दोलन आजसम्म नेपालमा भएको थिएन होला । के हुन् ४ मागहरू ? निम्न अनुसार छन् ः १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक बर्ष संघीय र प्रदेश सरकारले आफ्नो बिकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस् र “अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष“ मा राखियोस् । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रबर्तन र आविष्कार गर्न सहयोग गरियोस् । सो कोषमा जम्मा भएको रकम सोही बर्ष खर्च नभएमा आगामी बर्षहरुमा पनि खर्च गर्न पाउने ब्यवस्था गरियोस् । २. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै “अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन, सन्चालन तथा खरिद ऐन“ बनाइयोस् र आवश्यकता अनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाईयोस् । ३. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापुर्वक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरि नब–उद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस् र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस् । सो कामलाई सहज बनाउन र आवश्यकता अनुसारको नीति नियम बनाउनको लागी “नव उद्यमी प्रवर्धन समिति“ बनाइयोस् र सो समितिले सरकारलाई आबश्यक कदम चाल्न अनुरोध गर्ने ब्यबस्था गरियोस् । ४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नको लागि बिज्ञान मन्त्रालय अन्तर्गत “व्यावहारिक अनुसन्धान र नवप्रवर्तन बिभाग“ खोलियोस् । सो बिभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र बिदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरुबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस बाताबरण तयार गर्ने पूर्ण अधिकार सहित दिईयोस्। “माथिका मागहरू एकदम ब्यावहारिक र सहजै पूरा गर्न सकिने खालका छन् । नेपाल पनि नवप्रवर्तनको युगमा जानै पर्छ ।
