मानिसको स्वभाव र बिचारबाट को कस्तो छ भनेर चिन्न सकिन्छ । मानिसले जस्तो परिवेश उस्तै व्यवहार बनाउँछन् । हाउभाउ क्रियाकलापबाट उ कस्तो मान्छे हो तुरुन्तै पत्ता लगाउन सकिन्छ । नानी देखी लागेको बानी फेरिँदैन ,बदलिँदैन । मुख्य कुरा आफ्नो स्वार्थको लागी कति सम्म तल झर्न सक्छन् भन्ने हो । आशा लोभ लालच सबैमा हुन्छन् यसलाई कति सम्म नियन्त्रणमा राख्न सक्छ त्यसैमा उसको पहिचान हुन्छ । धूर्त व्यक्तिहरू आफूलाई फाइदा हुनेमा उ सबै भन्दा अगाडी बेफाइदामा पछाडि हुन्छन् ।उनीहरू आफूले गरेको दोष अरूको टाउकोमा पार्छन् र आफू चोखिन खोज्छन् । राजनीतिक व्यक्तिहरू सबै गलत होइन । राजनितीमा कोही चोखो हुँदैन । भन्नु पर्दा राजनीति नै फोहरी खेल हो भनेर बुझ्नु पर्दछ । भगवानको नाममा चढाएको सबै बस्तु पुजारीको हुन्छ तर पुजारीलाई भनेर भगवानलाई चढाएको हुँदैन ! व्यक्तिको कमजोरी माथी धूर्तहरूको नजर पर्यो भने त्यही कमजोरी भित्र धूर्तले फाइदा लुटिरहेको हुन्छ । राजनितीमा सत्ता बाहिर हुँदा चर्को विरोध गर्नेहरू सत्तामा पुगे पछि आफू फाइदा लुट्न पछि पर्दैन । हिजो बिलासी राजा भनेर सत्ता च्युत गरेको थियो । आज गणतन्त्रमा जनताका सन्तान राष्ट्रको उच्च स्थानमा पदासीन भए पछि महाराजाको पदवि ग्रहण गर्न पछि परेका छैनन् । त्यसैले राजनीतिक धूर्तहरूको तन्त्र हो । आफुलाई प्रजातन्त्र लोकतन्त्रका हिमायती भनेर गणतन्त्रमा सुबिधा भोगी महाराजाको पदवीलाई जीवन्त राख्न राज्यको ढुकुटीबाट अवकाश पछि पनि निरन्तर राज्यको सुविधा पाउने भएकोले यो देशका सबै नेताहरू कसरी उच्च पदमा आफ्नो नाम दर्ता गर्ने अभिलाषामा ठुला नेताहरू लागी परेका छन् । देशको लागी होइन आफ्नो र आफ्नो सन्तानहरूको भविष्य सुनिश्चितको लागी उच्च पदमा पुग्न सबै नेताहरू लालायित छन् । राजतन्त्रको अन्त्य गर्न सफल गणतन्त्रमा किन नेताहरू आफू शक्तिशाली भएर अहमतावादी एकाधिकारको शासन गर्न खोज्देैछन् ? देशमा भएको स्थानीय ,संसदीय चुनाव विकास गर्न, सुव्यवस्था कायम गर्न लागी भएको होइन । सत्तामा पुगेर भाग बन्दी पदको बाँडफाँड ,सरकारमा हिस्सा ओगट्न र आफू सुरक्षित हुनको लागी चुनाव भएको थियो । आज यही सिद्ध भयो । अहिले राजनीतिक खिचातानीको अव्यवहारिक गठबन्धनको लुछातानीमा सरकार चलिरचेको छ । यसो भनी रहँदा देशमा हुन गई रहेको उप निर्वाचनको विषयमा कुरा कोट्याउन मन लाग्यो । तपाई हामीले सोचेका थियौ । देशको ठुला पार्टीहरू आफ्नो अनुकूल गठबन्धन गरेर शक्तिशाली पार्टीको एकमना सरकार बनाउनु थियो । शीर्ष नेताहरूको चुरीफुरी र राजनीतिक दाउपेचमा नयाँ पार्टी नयाँ स्वतन्त्र उमेरदारहरूको विजय हुन नदिनु थियो । नयाँ अनुहारले चुनाव जित्ने कुरामा कमै व्यक्तिहरूले सोचेका थिए । काठमाडौँ मेयरमा बालेन शाह ,धरानका हर्क साम्पाङ र सभासदमा ज्ञानेन्द्र शाहको साथै रबी लामिछानेको स्वतन्त्र पाईनलले उत्साहमय छलाङ मा¥यो । चुनाव पश्चात् गृह मन्त्री बनेका रबी लामिछाने नेपालको राजनीति चक्रब्युहको भुमरीमा पर्दा अदालती फैसलाले सबै पद गुमाएका लामिछानेले राजनीति यात्रामा फेरी अग्नि परीक्षा दिनु पर्ने भएको छ । चितवनको जनता सँग फेरी जनमत लिनु पर्ने उप चुनाव हुदैछ । अबको उप निर्वाचनहरूमा जनताको धारणा के कस्तो रहने छ ? चुनावको परिणामले बताउने नै छ । अहिलेको परिस्थितिमा नेपाली जनताहरूले बुझ्नु पर्ने कुरा के होला ? राज्यको ढुकुटीले बहालवाला कर्मचारीहरूको तलब खुवाउन सक्ने स्थिति छैन । ज्येष्ठ नागरिकहरूको भत्ता कटौतीको हल्ला छ । देशको आर्थिक कारोबारहरू चलायमान हुन सकेको छैन । देशको अर्थतन्त्र चौपट छ । शीर्ष नेताहरूको दौडधुप सरकार चलखेल सत्ता टिकाउनमा नै जोड छ । के यी नै बुढा शीर्ष नेताहरूले अहिलेको परिस्थितिमा देशको अवस्था र अर्थतन्त्रलाई सुधार गरी देशलाई गम्भीर सङ्कटबाट बचाउन सक्ला ? देश भर भएका स्थानीय चुनाव, ससदिय चुनाव , प्रदेश चुनाव र मनोनीत भएका अथाह विजेता जन प्रतिनिधिहरू के गर्दै बसेका होलान् ? अहिलेको ताजा खबरमा बालेन शाह काठमाण्डौ नगर पालिकाले सिहदरवारको फोहर नउठाएर राजनीतिक अखडालाई दुर्गन्धित बनाई दिएको छ । एक्लो स्वतन्त्र उमेरदार बालेन शाहले यो हर्कट गर्न सक्छ भनेर कसैले सोचेका पनि थिएन ? कसैले कल्पनामा सम्म गर्ने कुरा थिएन गणतन्त्रको सत्ता साझेदारको सरकार एक स्वतन्त्र मेयरको अगाडी किन झुक्यो ? एक्लो भए पनि सत्यको बल अधिक हुन्छ । आज एक स्वतन्त्र उमेरदार बालेन शाहको आदेशले सिंहदरबारको राजनीतिक संयन्त्रलाई हल्लाइ दिएको छ । हर्क साम्पाङ धरानको मेयर भएर जनताको सेवकको रूपमा आफ्नो छवि बनाउँदै छ भने ज्ञानेन्द्र शाह एक्लैले पनि संसद् भवनमा जताको आवाज चर्को स्वरमा बुलन्द गर्दैछ । क्या वाद ! आखिर केही स्वतन्त्र उमेरदारले गर्न खोजे , गर्न सकिने रहेछ । आजको सवाल हो ! आखिर अधिकाशं विजेता जन प्रतिनिधिहरू के गर्दै छन् । त्यसैले अहिलेको उप निर्वाचनमा को कहाँबाट कसलाई जिताउनु पर्छ ? मतदाताहरूले गम्भीर भएर सोच्नु पर्छ । आजको आवश्यकता भनेको पार्टीमा आबद्ध भएर नेताले जता भन्यो उतै आफ्नो अमूल्य भोट दिने होइन । आफ्नो स्वविवेक प्रयोग गरेर आफ्नो गोप्य मत दिने अवसर आएको छ । अहिलेको उप चुनावले सम्पूर्ण नेपालीहरूको मनो भावना जनमतलाई प्रतिनिधित्व गरि रहेको अवस्था छ । अहिलेको जन प्रतिनिधि जसले यो देशको लिडर बनेर देशको समस्याहरूमा बोल्न सकोस् । लड्न सकोस् । जनताको अभिमतलाई सम्बन्धित ठाउमा पु¥याउन सकोस् ! शीर्ष नेताहरूको इसारामा चल्नेहरू आफ्नो जिब्रो चलाउन मात्र सक्छन् । के बोल्ने र कुन कुरा सही ! कुन कुरा गलत भनेर छुट्टाउने साहस गर्दैनन् । पार्टीको भाषामा बोलेको शब्दहरूमा राष्ट्रियता झल्किएको हुँदैन । आफ्नो स्वार्थ लुकेको हुन्छ । सत्य कुरा चाहेर पनि बोल्न सकेका हुँदैनन् । आज स्वतन्त्र सासंदहरु आफ्नो बल बुट्टाले जित हासिल गरेका हुनाले आफ्नो स्वविवेकले काम गर्न पाएका छन् । जसको आफ्नै बुद्धि, विवेक, क्षमताले केही गरेर देखाउन सक्छ त्यही तागतदार हो । उचालेको बाघले मृग मार्न कदापि सक्दैन । आज देश विकास नारामा मात्र सीमित भएको छ । हाम्रो देशका नेताहरू कहीँ न कतैबाट परिचालित छन् । देश परिवर्तनको लागी युवा शक्ति, जुझारु, स्वच्छ र लक्ष्य बोकेको त्यागी ब्यक्तीको खाँचो छ ।
