उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अरु पार्टीहरुलाई क्लिन स्विप’ नारा दिएर तीनवटै निर्वाचन क्षेत्र हात पार्ने उद्देश्यसहित जुटेका बेला आएको ‘अडियो’ले लामिछाने हतास बनेका हुन् कि गम्भीर ? ऊनी यतिबेला चुनावी प्रचारप्रसारमा छन् तर, ठूलो दबाबमा छन् भन्ने कुरा उनले विभिन्न ठाउँमा गरे भाषणले प्रस्ट हुन्छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि उपप्रधानमन्त्री, गृहमन्त्री र सांसद पद एकसाथ गएपछि लामिछाने केही समय विक्षिप्त नै बनेका थिए । आफ्नो पद गएपछि सरकारबाट पार्टी नै बाहिरिने निर्णय गराएका उनले माघ २२ गते अपराह्न गरेको पत्रकार सम्मेलन पनि ‘काबु’मा थिएन । उनी आफैंले स्वीकारेको तथ्य हो यो । भनिन्छ, राजनीतिकर्मी जस्तोसुकै अवस्थालाई पनि ह्यान्डल गर्नु सिपालु हुनुपर्छ अर्थात् कूटनीतिक हुनुपर्छ । तर, टेलिभिजन कार्यक्रम चलाएर लोकप्रिय बनेका लामिछाने दुवै घटनामा ‘कमजोर कूटनीति’ प्रस्तुत गरिरहेका छन् । जनतलाई ठूल्ठूला भाषणले होइन, कामले देखाउने हो । ढाकाप्रसादमाथि छानबिन गरेर दोषी देखिए कारबाही गरे पुग्छ, ‘गढीमाईमा बली चढ्न’ तयार हुनै पर्दैन । यस्ता खालका कमजोर अभिव्यक्ति उनको पार्टीपंक्तिमा मात्र होइन, पार्टीका १८ सांसद र घण्टीमा भोट हाल्ने ११ लाख ३० हजार ३४४ मतदातामाथि पनि भारी पर्न सक्छ । कतिपयले यो उनैले जिम्मा लिने विषय हो भनेर तर्क गर्न पनि सक्लान् । तर, हेक्का रहोस्, राष्ट्रिय स्वतन्त्र पार्टी अब सार्वजनिक सम्पत्ति हो । पार्टीका सांसदहरु सार्वजनिक व्यक्तित्व हुन् । जनताबाट निर्वाचित भएका हरेक सांसद व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै सर्वोच्च निकायलाई खबरदारी गर्न सक्ने हैसियत राख्छन् । त्यसकारण कुनै पनि पार्टी र त्यसका सांसदले गर्ने गल्तीले दीर्घकालमा पार्टी सकिएला, त्यसलाई सामान्य विषय–प्रक्रिया मान्न सकिन्छ । तर, उनीहरुले गर्ने सानो गल्तीले देशलाई ठूलो क्षति पनि पुग्न सक्छ भन्ने कुरा नागरिकले बिर्सिनु हुँदैन । रह्यो ‘कोर टिम’को कुरा, राजनीतिज्ञहरुले ‘पैसा बार्गेनिङ’ गरेको यो पहिलो घटना भने होइन ।
