निकै भावयुक्त कविताका यी दुई हरफ मैले स्व.आशाकाजी सेवक सरले लेख्नु भएको ‘रामभक्तजीका बारेमा भन्नुपर्दा’ भन्ने लेखमा मैले पढेको थिएँ । आशाकाजी सरको भनाई अनुसार २०१४ सालमा ‘भों स्वां’नामको नेपाल भाषामा प्रकाशित कविता सङ्ग्रहमा समावेश गरिएको रामभक्तसरको ‘ल्हाःया पतिंचालिसे’ कवितामा उल्लेखित उक्त कवितांशको भावार्थ ‘अर्कालाई बिगार्ने कुनै काम नगरी आपूmलाई र अरुलाई पनि भलो हुने काम गर’ भन्ने हुन्छ । दमैले प्रायः सम्बोधन गरेको गुरुको पुरा नाम हो – रामभक्त कोख श्रेष्ठ । तर यस लेखमा मैले प्रायः सर भनेर सम्बोधन गरेको छु । उहाँको व्यक्तित्व, आचरण, व्यवहार आदिका बारेमा विभिन्न विद्धतवर्ग, शिक्षाविद्, समाजसेवी, साहित्यकार, राजनीतिज्ञ, स्वास्थ्यकर्मी, विद्यार्थीहरु लगायतका व्यक्तित्वहरुका लेख तथा अन्य माध्यमबाट उजागर भएको छ,भईरहेको छ र कालान्तरसम्म हुँदै जानेछ भन्ने विश्वास छ । जसमध्ये मैले केहीव्यक्ति महानुभावहरुको मात्र अध्ययन गर्न सकें । यस अघि प्राकृतिक स्वास्थ्य संस्था,योग मार्ग,भीमसेनगोला, बानेश्वर, काठमाण्डौबाट प्रकाशित प्राकृतिक स्वास्थ्य(त्रैमासिक प्रकाशन) रामभक्त कोख श्रेष्ठ स्मृति अंक चैत्र २०५७ (पूर्णांक ७),मा मेरो पनि ‘अपाङ्गता क्षेत्रमा रामभक्त कोख श्रेष्ठको योगदान’ शिर्षकको लेख प्रकाशित भएको थियो । यसपटकको रामनवमी केही दिन अगाडि मनाइसकेका छौं । ‘राम नवमी’ भन्ने शब्द सुन्ने बित्तिकै वा देख्ने बित्तिकै उहाँंले गर्नु भएको असल सत्कर्मको बढ्ता झझल्को आउँछ, याद आउँछ । यस्तै झझल्को र यादको सिलसिलामा ‘सबैको लागि शिक्षा (भ्मगअबतष्यल ायच बिि)’ विषयक उहाँले गर्नु भएको प्रयास एवं सोचको बारेमा मैले थाहा पाएको, सुनेको,देखेको र जाने बुझेको केही कुराहरु पस्कने प्रयास गरेको छु । गरिबीको कारणले,समय नमिलेको कारणले,शारिरीक तथा मानसिक रुपमा अपाङ्गता भएको कारणले,उमेरको कारणले वा अन्य जुनसुकै कारणले भएतापनि कुनै पनि बालक तथाव्यक्ति शिक्षाबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता राख्नु भएका रामभक्तसरले आफ्नो औपचारिक शिक्षा सम्पन्न गरेपछि पनि चाहे शिक्षालयमा रहेर होस वा विभिन्न संघसंस्थामा, चाहे कुनै पदमा छँदा होस वा नरहँदा पनि जीवनको अन्तिम घडीसम्म यसै अभियानमा क्रियाशिल भईरहनु भयो । वनेपा नगरपालिकाको नगर प्रमुख हँुंदा यस क्षेत्रमा बढी सक्रिय भएर विभिन्न तह र माध्यमहरुबाट आफ्नो सोच र लक्ष्यलाई कार्यान्वयनमा ल्याउने अवसर उहाँलाई मिल्यो । अपाङ्गता मध्ये पनि बढी संवेदनशिल बौद्धिक अपाङ्गता (पहिले सुस्त मनःस्थिति भन्ने गरिन्थ्यो)भएका बालबालिकाहरुको निम्ति काभ्रे जेसिसका तत्कालिन पदाधिकारीहरुको पहलमा वनेपामा २०४४ चैत्रमा स्थापना भई संचालनमा आएको आदर्श बाल विकास केन्द्रको संचालक समितिको संस्थापक सदस्य रहनुका साथै अपाङ्गता भएका बालबालिकाहरुले पनि शिक्षा पाउन भनेरआपूm प्रधानाध्यापक रहेकै समयमा आजाद माध्यामिक विद्यालयमा कक्षा संचालन गर्न एउटा कोठा निःशुल्क उपलब्ध गराउनुका साथै अन्य सहयोग एवं निरन्तररुपमा सल्लाह, सुझावहरु पनि दिँदै आउनु भयो । सरी अपाङ्गता भएका बालबालिकाहरु (पहिला नामै नसुनेको) को लागि विद्यालय संचालन गर्न मलाई शिक्षक प्रमुखको जिम्मेवारी दिने कुरा हँुदा उहाँंहरुको विश्वास र भरोसालाई मैले नकार्न सकिन । मैले ११ बर्षको सरकारी स्थायी नोकरी छोडेको मात्र नभई त्यसबेला सरकारी नोकरीमा खाईपाई आएको आर्थिक सेवा सुविधा भन्दा निकै थोरै तलबमान, त्यो पनि दैनिक ज्यालादारीमै भएपनि मैले उक्त जिम्मेवारी स्विकार गरी यस अभियानमा लागेको थिएँ । यही विद्यालयकै कारण उहाँसँगको मेरो घनिष्टता बढ्दै गयो, मेरो मन भित्र गुरुको रुपमा स्थापित भयो । यसभन्दा अगाडि हामीबीचको सम्बन्ध केवल हेड सर र विद्यार्थी अनि सामाजिक संस्थाहरुको कार्य र कार्यक्रमहरुका दौरान सहकार्यमा मात्र सीमित थियो । पछि उहाँ वनेपा न.पा.को प्रमुख हुनु भएको समयमा यस विद्यालयको भवन निर्माण गर्न ३ लाख भन्दा बढी आर्थिक तथा भौतिक सहयोग गर्नु भयो । यस सहयोगबाट विदेशी दाताहरुलाई र स्वदेशका सहयोगी मनकारीहरुलाई सहयोग गर्नमा थप विश्वासको वातावरण समेत बन्यो र भवन तयार गर्न सफल हुनुका साथै शैक्षिक क्रियाकलापहरु गुणात्मक रुपमा संचालन गर्नमा ठूलो मद्धत पुग्यो । विश्वमा समावेशी शिक्षाको चर्चा, परिचर्चा भईरहेको र पूर्व प्रा.वि.का बालबालिकाहरुले आफ्नो शारीरिक तथा मानसिक वृद्धि विकासमा भन्दा किताब कापीको भारी बोकेर जबर्जस्ती लेख्ने र पढ्नमा एकोहोरो तल्लीन हुन बाध्य भईरहेको अवस्थामा साङ्ग र अपाङ्गता भएका बालबालिकाहरुलाई एउटै कक्षामा राखेर तिनीहरुको उमेर,सिकाई क्षमता, शारीरिक र मानसिक अवस्था अनुसार वैयक्तिक सिकाई योजना तयार गरि बाल मनोबिज्ञान र बालमैत्री वातावरणमा रमार्ईलो किसिमले तिनीहरुको वृद्धि र विकासमा मद्दत गर्न एकीकृत बाल विकास समितिको संयोजक स्विकार्नुका साथै महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग गर्नुभयो । जसले एउटा नमूना र अनुकरण्ीाय, त्यो पनि बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु अध्ययन गर्ने बिद्यालयमा एकीकृत समावेशी बालविकास कक्षा संचालन गर्न सफलता मिल्यो । यस्तो खालको कक्षा तथा कार्यक्रम अध्ययन तथा अवलोकन गर्न देशका र विदेशका संस्थाका ब्यक्तिहरु आउनु भयो । यसले थप सम्पर्क कायम गर्न मद्धत पु¥याउनुका साथै अन्तर्राष्ट्रिय रुपमा पनि विद्यालयको पहिचान गराउनर प्राविधिक तथा अन्य सहयोगहरु प्राप्त गर्न, गुणात्मक शिक्षा दिन,कार्यक्रम विस्तारित गर्दै लान समेत थप टेवा मिल्यो । मैले काम गर्ने दौरानमा केही अप्ठेरो पर्दा,समस्या हुँदा वा नयाँ कामको थालनी गर्नु पर्दा सल्लाह, सुझाव लिन प्रायः रामभक्त सरको घरमा वा कार्यालयमा जाने गर्थें । कहिलेकाहीँ कारणवश भेटघाट गर्ने समय केहि दिन लम्बियो भने उहाँले जिज्ञासा राखि हाल्नु हुन्थ्यो –धेरै दिन भयो नि,कता व्यस्त हुनु भयो भनेर । एकदिन सुस्त मनःस्थिति कल्याण संस्था केन्द्रीय कार्यालय,काठमाण्डौलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने मित्र राष्ट्र नर्वेको एन.एफ.यू. परियोजनाका विदेशी कन्सल्टेन्टले उक्त संस्थाको तालिम शाखाको जिम्मा लिएर केहि समयको लागि काजमा आएर सहयोग गर्नु प¥यो भन्ने कुरा गर्नुभयो । शुरुमा मैले उहाँलाई म त यहि विद्यालयमा केहि योगदान गर्छु भनेर आएको भनेर जवाफ दिएँ । पछि फेरि दुई, तीन पटक सोही कुरा दोहो¥याए पछि मलाई के जवाफ दिउँ, के जवाफ दिउँ भयो र मैले दुई, चार दिनभित्र तपाईंलाई जवाफ दिउँंला भनें । तत्पश्चात् म सरको घरमा गएर सो कुरा राखें, उहाँंले यो त राम्रो अवसर हो, हुन्छ भन्नुभयो । मैले यहाँको बिद्यालयको जिम्मेवारी वहन गर्न छोडेर जान नसक्ने किसिमको कुरा राखेँ । उहाँले भन्नु भयोे कि, तिमी सधैंको लागि होईन, केही समयको लागि त हो नी, त्यहाँ गएपछि केन्द्रीय स्तरका र अन्य विभिन्न निकायका व्यक्तिहरुसँग पनि चिनापर्ची हुन्छ । यस विद्यालयलाई थप सहयोग जुटाउन सहज हुन्छ,जाउ भन्नुभयो । त्यसपछि नाईं भन्न सकिनँ र गएँ । केन्द्रमा बिदा हुने शनिबार र आईतबार एवं अन्य बिदाका दिनमा वनेपा स्थित विद्यालयमा आउने गर्थें । सरले भन्नु भएजस्तै त्यहाँ काम गर्दै जाने क्रममा सम्बन्धित मन्त्रालय,विभाग,शाखा लगायत विभिन्न संस्था,उच्च तहका व्यक्तिहरुसँग चिनापर्ची गर्ने मात्र नभई शिक्षा मन्त्रालयमा रहेको विशेष शिक्षा शाखाका र बीपीईपीका डेनिस कन्सल्टेन्ट लगायतका कर्मचारीहरुसँग बैठक,छलफलमा सहभागी हुने, कतिपय कामहरुमा संगै हुने अवसर मिल्नुका साथै घनिष्टता हुन पायौं ।समय समयमा आफ्नो विद्यालय, वनेपामा अबलोकन गराउन ल्याउने गरें । जसबाट कतिपय विशेष शिक्षा सम्बन्धी राष्ट्रिय स्तरका तालीम,गोष्ठी लगायतका कार्य यसै विद्यालयमा गर्ने गरियो । सर नगर प्रमुख हुनुभएकै बेलामा उहाँहरु आउनु भएको बेलामा सरलाई पनि बोलाएर विद्यालयमा सरले गर्नुभएको योगदानका साथ परिचय गराउने गर्थें । सरले पनि मैले विद्यालयमा गरेको कामको प्रशंसा उहाँहरुलाई सुनाउनु हुन्थ्यो । पछि सरले उहाँहरुलाई नगरपालिकामा पनि केही समयको लागि लिएर आउनु भन्नुभयो र मैले दुई, तीन पटक नगरपालिकामा लिएर गएँ । पछि उहाँहरु र सर बीच घनिष्टता बढ्नुका साथै डेनमार्क सरकारको समेत सहयोगमा महत्वपूर्ण, स्मरणीय, उल्लेखनिय तथा गौरव गर्नलायककार्य सम्भवत नेपालमै पहिलोपटक वनेपा न.पा. र काभ्रेपलाञ्चोक जिल्लामा अपाङ्गता र समग्र शिक्षाको अवस्थाबारे घरदैलो सर्वेक्षण भएको थियो । यसका साथै डेनमार्कको रीव नगरपालिकासँंग भगिनी सम्बन्ध जोड्ने कार्य भयो । वनेपा नगर पालिकाका जनप्रतिनिधिहरु लगायतका टीमलाई,डेनमार्क सरकारको निमन्त्रणामा विशेष गरि त्यहाँकोशिक्षा र विकास निर्माणको अध्ययन भ्रमण गर्ने लगायत अन्य विभिन्न सहयोग र अवसर प्राप्त गर्न सफल भयो, सरकोसक्रिय पहलमा । विडम्बना नै भन्नु पर्छ, यो सम्बन्धलाई पछिका वनेपा नगरपालिकाका जन प्रतिनिधिहरुले निरन्तरता दिन भने सकेन । यसरी नै ‘सबैको लागि शिक्षा’ कै थप सन्दर्भ जोड्नुपर्दा, सरकै कार्यकालमा वनेपा नगरपालिकालाई पहिलो पटक पूर्ण साक्षरता नगर घोषणा गर्नमा सफल हुनु अर्को महत्वपूर्ण, स्मरणीय, उल्लेखनिय तथा गौरव गर्नुपर्ने काम भएको थियो । अब सबैको लागि शिक्षा, गुणात्मक, जीवन उपयोगी लगायतका शिक्षाको बारेमा सरले प्रस्तावको रुपमा तयार गरी उहाँंले देह त्याग गर्नु ठिक १६ दिन अगाडि अर्थात् २०५६ चैत्र १४ मा मलाई दिनु भएको ‘शिक्षाको भावी रुपरेखा’ भन्ने पुस्तिका(ब्रोसर)मा प्रस्तावना, लक्ष्य, प्रक्रिया र कार्यक्रमका विषयवस्तुहरुमा उल्लेख गर्नुभएका कुराहरुमध्ये कार्यक्रमको बारेमा मात्र हुबहु यहाँ प्रस्तुत गर्न चाहें । यसबारे पूरै अध्ययन गर्न चाहनुभएका महानुभावहरुले मसँग उहाँले दिनुभएको प्रतिलिपी सुरक्षितका साथ राखेको छु । यहाँहरुले अध्ययन गर्न सक्नुहुन्छ । मलाई जस्तै अन्य व्यक्तिहरुलाई पनि उहाँंले पक्कै दिनुभएको होला । जोसँग छैन, भएकाहरुसँग अन्यले पनि अध्ययन गर्नुहोला । यस रुपरेखाबारेमा थोरै कुरा मैले सरको बारेमा अघिल्लो लेखमा पनि लेखेको थिएँ । शिक्षाको भावी रुपरेखा १) प्रस्तावना २) लक्ष्य ३) नीति ४) प्रक्रिया ५) कार्यक्रमः ५.१ औपचारिक शिक्षा ५.१.१ आधारभूत शिक्षामा विशेष जोड दिने । ५.१.२ बाल विकास केन्द्र तथा पूर्व प्राथमिक शिक्षालाई बढावा दिने । ५.१.३ प्राथमिक शिक्षा सबैको लागि शिक्षा प्रदान गर्ने तर्फ उन्मूख गराउने । ५.१.४ व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिने । ५.१.५ माध्यमिक र उच्चमाध्यमिक शिक्षामा माथिका नीति अनुरुप सुधार गर्दै जाने । ५.१.६ शिक्षामा विद्यार्थीहरुको आकर्षण बढाउन भौतिक सुधार, शिक्षकतालिम र सह–क्रियाकलापको संचालन गर्ने । ५.१.७ विकेन्द्रीकरणको सिद्वान्त अनुसार समुदायमा आधारित र अभिभावकसमेत सक्रिय हुने शिक्षा व्यवस्थापन गर्ने । ५.१.८ भौगोलिक तथा सांस्कृतिक विविधता अनुसार समुदायमा आधारित व्यावसायिक,प्राविधिक एवं विज्ञान शिक्षाको बैज्ञानिक ढंगले विकास गर्ने । ५.१.९ बहु–विश्वविद्यालयको व्यवस्था (परिमार्जित रुपमा) मिलाउने । ५.२ अनौपचारिक शिक्षा अनौपचारिक शिक्षाको पूरक तथा विकल्पका रुपमा वाहिरको शिक्षा कार्यक्रमबाट सबैको लागि आधारभूत शिक्षा सुलभ गराउने । ५.३ अनौपचारिक रुपमा निरन्तर शिक्षाको ब्यवस्था गर्ने । जस्तैः ५.३.१ साक्षरोत्तर शिक्षा ५.३.२ आयआर्जन शिक्षा ५.३.३ समस्तरीय शिक्षा ५.३.४ स्वइच्छा विकास शिक्षा ५.३.५ जीवनस्तर सुधार शिक्षा ५.३.६ भविष्यमुखी शिक्षा ५.४ सामुदायिक अध्ययन केन्द्रको स्थापना ५.५ खुल्ला विश्वविद्यालय समेतको स्थापना गरी अनौपचारिक शिक्षाको विकास एवं सम्बद्र्धन गर्ने । – रामभक्त कोख श्रेष्ठ (पूर्व मेयर) वनेपा नगरपालिका, (फोनः ०११–६११९०) करिब २३ बर्ष अगाडिको उहाँको यो सोच आज पनि उत्तिकै सान्दर्भिक छ । अतः सबैले यसलाई मनन् गरेर कहाँ के गरि,कसरी हुन्छ कार्यान्वयन गर्नमा लाग्नुपर्दछ । बिशेषगरी संघीय, प्रदेश र स्थानीय सरकारले पूरा जिम्मेवारीका साथ कार्यान्वयनमा लाग्न जरुरी छ ।उहाँका अनुयायीहरुले यसको निम्ति निरन्तर पहल गर्नु पर्दछ । हार्दिक, हार्दिक श्रद्धासुमन गुरु रामभक्त कोखश्रेष्ठ प्रति । ‘अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईंको पनि बाटो उज्यालो हुन्छ ।’ –गौतम बुद्ध यस पंक्तिका लेखक आदर्श बाल विकास केन्द्रका संस्थापक प्रिन्सिपल हुन् र अहिले सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरुको बिशेष गरि छिटो प्रतिरोधात्मक कार्य गर्ने संस्था पोर्टेज तथा पुनस्सर्थापन संस्था नेपालमा निर्देशकको रुपमा कार्यरत छन् ।
