IMG-LOGO

एजेण्डा बिहिन गठबन्धनले समाजवाद ल्याउला ?

 मंगल, कार्तिक १५, २०७९  भुपेन्द्र थापा (माधव)

         चुनावी माहोलले नेपालको राजनीतिक रंगमञ्चमा नयाँ तरंग जन्मिएको छ । विभिन्न कोणबाट सबैतिर चुनाव केन्द्रित बहसहरु हुन थालेका छन् । यी बहसहरुमा स्थापित र पूराना परम्परागत राजनीतिक पार्टीका शीषस्र्थ नेताहरु, विरुद्ध यूवा, विद्यार्थी, बुद्धिजिवी र समाजसेवीहरुको आवाजको मोर्चाबन्दी कसिंदै गएको छ । नयाँ पुस्ता र पुराना पुस्ता भन्ने बहसमा आम सरोकारवाला र मतदातहरुको चासो तिब्र बढ्दो छ । यस्ता बहसहरुमा जताततै सरसर्ती सुन्दा र बुझ्दा पुराना पुस्ताका शीषस्र्थ नेताहरुलाई आउँदो निर्वाचनमा जिताउनु पर्ने कुनै कारण, तर्क र बाध्यता कहिकतैबाट पनि सुन्न सकिंदैन । हामी यो समयमा राजनीति भन्दाबाहिर रहन कदापी सक्दैनौं किनकी यहाँ हरेक विषयहरु राजनीतिक विषयसँग जोडिएका हुन्छन् । राजनीति अनेकौं प्रवृत्ति बोकेको पागलपनको थुप्रो पनि हो । यो झुट, कपट, मुर्खता अनि घृणाको डंगुर पनि हो । यी र यस्ता प्रवृत्ति अंगालेको नेपाली राजनीति अब आस्थाका विषय रहेन । नेपालको राजनीति एउटा अपवित्र तमासाको केन्द्र झैं लाग्न थालेको छ । बिचार, सिद्धान्त र कार्यनीति कागजी खोस्टा एवं योग्यता, क्षमताविधि/पद्धती सबै गौण हुन थालेका छन् । घृणित गणितिय भागबण्डा नातावाद, कृपावाद, शासकिय सिन्डिकेट र अराजनीतिक गठबन्धनले नेपाली राजनीतिमा नराम्ररी हिलो छ्यापिएको छ । कुनैपनि दल निश्चित दर्शन, सिद्धान्त र कार्यक्रमका आधारमा गठबन्धनयुक्त मोर्चा वा तालमेलमा सहभागी भएर सरकार सञ्चालन गर्ने र चुनावी मोर्चामा संयुक्त एजेण्डा बनाएर जान सक्दछन् । तर न्यूनतम रुपमा राजनीतिक र वैचारिक आधार विना गरिने मोर्चाबन्दी वा गठबन्धन मुलुक र जनताको भावना विपरित सत्ता प्राप्तिका लागि मात्र हुने गर्दछ । यसले मुलुकको सार्वभौम सत्ता र जनताको मौलिक अधिकारको रक्षा र विकास गर्न दृढ विश्वार र संकल्प कुनै हालतमा गर्न सक्दैन । विशेषगरी पुराना र आफूलाई परिवर्तनको बाहक दावी गर्ने राजनीतिक पार्टी र तिनका नेतृत्व माथि नयाँनयाँ शंका र अविश्वास हुर्किन थालेका छन् । परम्परागत राजनीतिक दलहरु र नेतृत्वको संरक्षणमा मौलाएको संस्कार र विकृतिको व्याप्त दुर्गन्धले आज नागरिकहरुमा एउटा चेतनाको वैचारिक विद्रोहले परिवर्तनशील विस्फोटको रुप ग्रहण गर्दै गएको छ । आज यूवापंक्तिमा राजनीति प्रति जागरण पैदा भएको छ । जनतामा नविन्तम् उर्जा सिर्जना भएको छ । आम यूवाप्रति आसा र भरोसा जाग्न थालेको छ ।        अहिले देखिएका गठबन्धनधारी राजनीतिक शक्तिहरु बिचको मूख्य उद्देश्य भनेको जसरी पनि सत्ता हत्याउने क्षणिक स्वार्थ मात्र हो । आज मुलुक ईतिहासमै चरम अप्ठ्यारो अवस्थाबाट गुज्रिन बाध्य भएको छ । यो अवस्था निम्त्याउनुमा सत्ता गठबन्धन र प्रतिपक्ष गठबन्धनधारीहरु नै मुख्य दोषि हुन् । देश र जनताप्रति कुनै पनिप्रतिवद्धता नभएका यी राजनीतिक दल र नेतृत्व आज मुलुक र जनताका लागि ठूलो भार भएका छन् । अब यो भार विसाएर आम सचेत जनताहरु कम्मर कसेर लाग्ने दिन नजिकिंदै आएको छ । यो नेतृत्वले मुलुक र जनताको भावना अनुरुप प्रतिनिधित्व गर्ने सम्पूणर् हैसियत गुमाई सकेको छ । यिनीहरु राजनीतिक एजेण्डा विहिन राष्ट्रको विकास र जनताको उन्नतीको आधारलाई भन्दापनि मनि, मसल, गुण्डा र माफियाको परिचालनसँर्गै साम, दाम, दण्डभेदको प्रयोग सहित अनैतिक आधारमा आगामी निर्वाचन जित्ने दाउपेचमा लागि परेका छन् । यस्ता प्रवृत्तिबाट पे्ररित दल र नेतृत्व जनता प्रति उत्तरदायी र राष्ट्र प्रति जवाफदेही कसरी हुन सक्दछन् । हिजो जनताले चुनेर पठाएका अधिकांस नेताहरु जनपक्षिय कार्यबाट चुकिसकेका छन् । जसले गर्दा पूराना राजनीतिक पार्टी र नेतृत्वका विरुद्ध आफ्नै पार्टीका कार्यकर्ताहरु स्वतन्त्र रुपमा संघर्षको मैदानमा उत्रेर विद्रोह गर्ने लहर बढ्दै जान थालेको छ । दलका नेताहरुमा आफ्नै संगठन, कार्यकर्ता र आम मतदाता प्रति विश्वास गुम्दै जाँदा उनीहरु अन्य जुनसुकै विचार सिद्धान्त र कार्यदिशा भएका समूह वा दलहरुको शरणमा गएर भएपनि हिजोदेखि खाईपाई आएको सत्ता र शक्ति जुनसुकै मूल्य चुकाएर भएपनि सुरक्षित राखि रहन चाहन्छन् । त्यसको परिदृश्य आम जनता र राष्ट्रको अगाडी दिनको घामझैं छर्लङ्ग छ । राजनीतिमा स्वस्थ दलिय प्रतिस्पर्धाको मर्म, भावना र आस्थामा ग्रहण लागेको छ । पार्टी र नेतृत्वको यस्तो गलत व्यवहार र संस्कारका कारण पार्टीेहरु प्रति आम जनविश्वास कमजोर हुँदै गएको तितो सत्यलाई नेतृत्वले अझैपनि स्वीकार गर्न तयार भएको पाइदैन । निर्वाचन भनेको राजनीतिक दलहरुले आफ्नो विचार सिद्धान्त र कार्यक्रम प्रतिको जनताको समर्थन मापन एवं आफ्नो लोकप्रियतासँगै राजनीतिक वैद्यता परिक्षण गर्ने अनि राज्यको नेतृत्व गर्ने जनादेश प्राप्त गर्ने अवसर पनि हो । चुनावी सभाहरुमा आफू र पार्टीलाई जनताको मसिंहा दावी गर्ने पार्टीको लोकप्रियता र मजबुदीको अब्बल ठान्ने तर आफैले गरेका कर्तुतको गलत सावित गर्दै विपरित दलहरुसँग साँठगाँठ गरि एकसुत्रिय रुपमा चुुनाव जित्ने बाटो समात्ने यस्ता दलहरुको आफ्नो सामथ्र्य र पहिचान भने यो निर्वाचनले नगर्ने निश्चित छ ।        एकले अर्काको बैशाखीको साहारामा चुनावी मैदानमा उभिएको गठबन्धन नामधारी जात, गोत्र र थर नभएको बाम दक्षिणपन्थी सत्ताधारी र बामपक्षगामी (प्रतिपक्षधारी) बिचको अलोकतान्त्रिक प्रतिस्पर्धा हुने देखिन्छ । यस्तो गठबन्धनको राजनीतिक र सैद्धान्तिक आधार के हो ? यसको चुनावी साझा एजेण्डा, कार्यक्रम र रणनीति के हुन ?यी गठबन्धनहरु कुन विचार सिद्धान्त र राजनीतिक जगमा खडा भएका छन् ? यो गठबन्धनले लामो समय देखि जनताले पटक-पटक संघर्षबाट ल्याएका जनताको तागत, त्याग, तपस्या र बलिदानबाट उपलब्ध भएको लोकतन्त्र नै धरापमा पर्ने सम्भावना बढेर गएको छ । यो अवस्था निम्तनुको मुख्य कारण भनेको राजनीतिक नेतृत्वमा देखिएको सैद्धान्तिक विचलन नै हो । दोस्रो सत्ता बाहेक सबै कुरा भ्रम हो भन्ने स्वार्थ केन्द्रित कारण नै हो । यस्तो फोहरी राजनीतिबाट जनताले कुन मुल्य, मान्यता र आर्दशको आशा गर्ने पार्टीका कार्यकर्ता, मतदाता, समर्थक र शुभचिन्तकहरुबाट नेतृत्व प्रतिको सर्मपणको भाव र नेताबाट भरोसाको मापन कसरी गर्ने ? जसले जसको दौराको फेरो समाएर भएपनि अर्थात् एकात्मक सर्वसत्तावाद होस, पुरातन दक्षिणपन्थी होस् वा लोकतन्त्रिक शासन व्यवस्थामा विश्वास गर्नेहरु बिच खासै कुनै फरक रहेन । यस्ता प्रवृत्तिले नेपाली राजनैतिक मञ्चमा केहि गठबन्धनधारी सिन्डिकेटले माकुराको जाल झिंगाको कालझै हुने निश्चित छ । राजनीतिलाई आफ्नो चरम अभिष्ट सिद्ध गर्ने अस्त्रको रुपमा प्रयोग गर्ने कुनै नेतृत्व कहिल्यै राजनेता हुन सक्दैन । लोकतन्त्र सिद्धान्त प्रति अडिग रहेन प्रणालीहो । सिद्धान्त सकिएपछि लोकतन्त्रका हिमायती भन्नेहरु पनि लुटतन्त्रमा परिणत हुने गर्दछन् । अहिलेसम्म जिनतिन चलेको ढर्रा र विटुलो जोरजामको राजनीतिले मुलुकलाई झन दिन प्रतिदिन भुमरी तिर धकल्दै छ । संविधान जतिसुकै राम्रो भएपनि नेतृत्वमा इमानदारीता नभएपछि व्यवस्था कसरी निरन्तर गतिमा चल्न सक्छ र ? यो व्यवस्था चलाउने पात्र र प्रवृत्तिमा संस्कार, उद्देश्य र इमान्दार प्रतिवद्धता अति नै आवश्यक पर्दछ । जुनकुरा, राजनीतिक नेतृत्वहरुमा क्रमश नष्ट हुँदै गएको तथ्यहरु विगत देखि वर्तमान सम्मको यात्रामा प्रष्टै देखिन्छ । ‘चीनीको नाम जपेर मुख गुलियो हुँदैन भने झै यो नेतृत्वको भजन कृर्तन गाएर मुलुक र जनताले मुक्ति पाउँदैनन्’ भन्ने प्रष्टै भएको छ । एउटा कुसल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी निर्वाचनको मा राजनीतिक दलहरुका निमित्त जनता निर्वाचन देखि निर्वाचनसम्मको भरिया मात्र हुन भन्ने लाग्दछ । नेताको सडकदेखि सदनसम्म चप्पलदेखि पजेरोसम्मको यात्रामा जनता उपयोग हुने गर्दछन् । यो अवस्थाको पछाडी मुख्यत आम मतदाताकै दोष देखिन्छ । नसुध्रिएको राजनीति, नबदलिएको नेतृत्व र चेत नखुलेको मतदाताका कारण मुलुकको भविष्य अन्धकार तिर र जनताको जीवनस्तर खस्कंदै गएको छ । आज महँगी, कालाबजारी, भ्रष्टाचार, लुटपाट, हत्या, हिंसा, चरम बढेर गएको छ । देशका सिमाहरु दिनदिनै मिचिरहेका छन् । जलस्रोत लगाएत सम्पूणर् हाम्रो प्राकृतिक स्रोत साधनहरुमा बाह्य नियन्त्रण बढ्दो छ । मुलुकको अर्थतन्त्र दलालपुँजीपति र विचौलियाको हातमा पुगेको छ । राष्ट्रिय सुरक्षा इतिहासकै सबै भन्दा कमजोर भएको छ । राज्यका विभिन्न अंग र निकायमा बाह्य घुसपैठसँगै अति नै प्रभावहरु बढेर गएको छ । देशको उर्जाशील जनशक्ति तिव्र रुपमा विदेशी श्रमबजारमा पलायन हुन बाध्य भएका छन् । जनताले हातमुख जोर्न मुख्य कृषि क्षेत्र निरन्तर भासिंदै गइरहेको छ । राष्ट्रिय व्यापार घाटातिब्र बढ्दै जाँदा बाह्य र आन्तरिक ऋण मुलुकले थेग्न नसक्ने गरि बढिरहेको छ । हाम्रो संविधानले निर्देशित गरेका असमान सन्धि सम्झौता पुनरावलोकन गर्नुको सट्टा उल्टै थप असमान र अपमानजनक सम्झौताहरु मुलुकलाई थोपरेर जनताको भावना र राष्ट्रको हित विपरित गरिएको छ । साथै असंलग्न परराष्ट्र नीतिमाथि नै प्रहार भैरहेको छ । बाह्य शक्तिकेन्द्रहरु प्रतिको सत्तापक्ष र प्रतिपक्षको भावभक्ति समर्पण यो तहमा देखिनु मुलुकलाई बाह्य शक्तिको सामरिक स्वार्थमा लगाउने जस्ता अपराधिक राष्ट्रघाती, एवं कृत्य कार्य गर्ने विरुद्ध आजका यूवा विद्यार्थी, पिछडिएका वर्ग, जाती, समूह, क्षेत्र एक ढिक्का भएर आउँदो निर्वाचनमा यिनले गरेका कर्म र अपराधको दण्ड दिन तयार भएर बस्नु पर्दछ । राणा शाहहरुको तानाशाही पञ्चायती निरंकुश एकात्मक समान्तवादी अत्याचारीका विरुद्ध संघर्षको इतिहास रचेर आएका यी राजनीतिक शक्तिहरु विरुद्ध आज यस्तो लेख्न बोल्न बाध्य पार्ने नेतृत्वप्रति खेद प्रकट गर्नु बाहेक केहि रहेन । विशुद्ध सत्तालिप्त राजनीतिक दलहरुको असमावेशी व्यवहार अप्राकृतिक राजनीतिक संस्कार एवं लोकतन्त्रको मुकुट ललगाएर लुटतन्त्र मच्चाउने आफ्नो वरिपरिकालाई समावेशी प्रतिनिधित्वको नाउँमा राजनीतिक संरक्षण गर्ने अपराधिक कृयाकलाप विरुद्ध सम्पूणर् न्यायपे्रमी जनसमुदाय एक जुटभएर आवधिक निर्वाचनद्वारा दण्डीत गर्न सके मात्र मुलुक र जनतामा नयाँ आसाका किरण झल्कन सक्नेछ ।        अन्त्यमा, नेताहरुको परिवारवादी राजनीतिक संस्कारले समाजवादको सपना कनुै हालतमा पूरा हुँदैन । चेतनाको आँखानखोले आउँदो पाँच वर्ष पार्टी र नेताहरुलाई गाली गरेरै वित्ने निश्चित छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्