२०६६ साल वैशाखको अन्तिम साता लुक्ला जाँदै गर्दा यती एअरलाइन्सको ट्विनअट्टर विमानमा आकाशमा उडिरहेको बेला अघिल्लो दिन नेपाली लोक साहित्यका नक्षत्र सत्य मोहन जोशी सँगको भेटघाटको अविच्छिन्न याद आयो । यो भेट काभ्रेका अर्का सांस्कृतिक स्तम्भ ज्ञानकाजी मानन्धरको प्रयासले मात्र सम्भव भएको भन्नु अत्युक्ति नहोला । मेरो आगामी कृति ‘पनौतीका चाडपर्वहरु र मकरमेला’ का लागि भूमिका लेखिदिन अनुरोध गर्न जाने क्रममा मिलेको हो यो संयोग । यस मामिलामा ज्ञानकाजी मानन्धरले मन्तव्य एवं सत्यमोहन जोशी सरले दुई शब्द लेखि दिनु भयो । तपाईं गर्भवती हुनुहुन्छ ?(स्वास्थ्य पुस्तक), बाल स्वास्थ्यकथाहरु र गठेमङ्गल (लघुकथा सँग्रह) पछिको चौथो कृति थियो – ‘पनौतीका चाडपर्वहरु र मकरमेला’ । करीब डेढ घण्टाको त्यस भेटघाटमा आदरणिय सत्यमोहन जोशी सरबाट सहकालका देवता मच्छिन्द्रनाथ बारे धाराप्रवाह प्रवचन सुन्न पाइयो । कसरी मच्छिन्द्रनाथलाई पनि विश्व सम्पदा सूचिमा सुचिकृत गर्न पहल भएको, त्यसका लागि के कति प्रयासहरु भयो तथा त्यो प्रक्रिया कसरी स्थगित हुन गयो ? भन्ने बारे ननस्टप, सुनिरहुँ जस्तो प्रवचन थियो । प्रवचनका लागि थुप्रै श्रोताहरु हुनुपर्ने हो तर त्यहाँ श्रोता धेरै थिएन अर्थात् केवल म, ज्ञानकाजी सर, भक्तपुरका प्रेम प्रसाद काप्mले र एक अर्को व्यक्ति । युनेस्कोको पहलमा विश्वभरिका अभौतिक, अदृश्य र अस्पर्श कुराहरु पनि सुचिकृत गर्ने क्रममा मच्छिन्द्रनाथ पनि अर्थात् नेपालकै सबभन्दा लामो रथयात्रालाई पनि सूचिमा राख्ने पहल भयो । त्यसो त मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको मात्र, नेवारको मात्र नभई नेपालीहरु सबैको लागि अमूल्य सम्पत्ति हो । मच्छिन्द्रनाथ लाई सुचिकृत गर्ने क्रममा पाटनमै पनि यस रथयात्रा सँग सम्बन्धित व्यक्तिहरुको बैठक पनि भयो । त्यसमा रातो मच्छिन्द्रनाथलाई रङ्ग्याउने एक चित्रकार (पुँ) ले आप्mनो व्यथा अमिलो पाराले राख्नु भएको कुरा सत्य मोहन जोशीले सुनाउनु भयो । नेपाली सांस्कृतिक चाडपर्वहरुलाई धेरै वर्ष अगाडि दिइदै आएको सरकारी अनुदान रोकिने क्रम छ या समायानुकुल पारिएको छैन । उक्त चित्रकारले भन्दै थिए रे, उहाँ त डरले, त्रासले (यदि आफुले मच्छिन्द्रनाथमा वर्षेनी रङ्ग्याउन छोडे केही अनिष्ट भैहाल्छ कि भनेर) जेनतेन गरिकन धानिरहेको छ । कस्तूरीको बिना लगायतका अन्य सामाग्री या त कमसल खालको पाइन थालेको या निकै महँगो हुन थालेको छ, त्यसैले उहाँको अवसान पछि उहाँ पछिका अन्य पिँढीले निरन्तरता दिने कुरामा शंकै छ । मच्छिन्द्रनाथको रथयात्रालाई सूचिकृत गर्ने सिलसिलामा उघ्रेको पाटो हो त्यो । यस्तै व्यथा रहेछ रथ निर्माण गर्ने, बाजा बजाउने दरसन्तानहरुको पनि । यसै बीच पाटन दरबारको पुनःनिर्माणका क्रममा कसरी नेपाल सम्बन्धी अध्ययन गरी पुस्तक लेख्ने मेरी स्लेसरलाई कसरी आप्mनै आँखा अगाडि, आप्mनै ठाउँको जिर्णोद्धार कार्यका लागि मोटो रकम र सुविधा दिएर विशेषज्ञका रुपमा निम्ट्याइए सत्यमोहन जोशी सरले बेलीबिस्तार लगाए । पटक पटकको बैठक पछि मच्छिन्द्रनाथको रथयात्रा सुचिकृत हुने सम्भावना बढ्दै गयो । यस क्रममा २ घण्टा लामो वृत्तचित्र निर्माण भई सीमित व्यक्तिहरु बीच प्रदर्शन पनि गरिएछ । बडो राम्रो थियो रे त्यो वृत्तचित्र । एक पटक युनेस्कोका प्रतिनिधिसँगको बैठकमा वर्षेनी हँुदै आएको मच्छिन्द्रनाथ बिग्रिने, लड्ने क्रममा कसरी पुननिर्माण हुन्छ त भन्ने जिज्ञासामा यसका लागि छुट्टै गुठीको व्यवस्था भएको र यसै गुठी मापर््mत नै आवश्यक व्यवस्था हुँदै आएको कुरा प्रकाशमा आयो । यसका लागि परापूर्वकाल देखि नै जग्गा जमिनको व्यवस्था गरी ठूलो संख्यामा र विभिन्न तहका व्यक्तिहरुलाई परिचालन गरिराखिएको कुरा युनेस्कोका प्रतिनिधिहरुले थाहा पाई कतै मच्छिन्द्रनाथको रथयात्रा विश्व सम्पदामा सुचिकृत गरिए पछि यो व्यवस्था भताभुङ्ग त हुने होइन ? कतै यस कार्यले परापूर्वकाल देखि सहज तरिकाले चल्दै आएको रथयात्रामा विचलन त आउने होइन भन्ने डरले मच्छिन्द्रनाथ रथयात्रालाई सुचिकृत गर्ने कार्य स्थगित हुन गयो । यो स्थगनले मच्छिन्द्रनाथलाई सुचिकृत गर्न प्रयासरत नेपालीहरुमा चोट पुग्न गएतापनि युनेस्को बाट स्थगन गर्नु पर्नाको कारण उजागर गरिएपछि भने सन्तुष्ट नै हुनुभएछ अर्थात् हाम्रो पुर्खाले कालान्तर सम्म थेग्ने गरी बनाइ दिएको प्रथा प्रति युनेस्कोले महत्व बुझि प्रशंसा गरिएकोमा भने खुशी नै हुनुभएछ । २०६६ साउनको महिना उनै संस्कृतिविद् सत्यमोहन जोशीका बाहुल्यबाट पनौतीको सांस्कृतिक चालचलनहरु सम्बन्धी मेरो कृति ‘पनौतीका चाडपर्वहरु र मकरमेला’ लोकार्पित भयो, काभ्रेली संस्कृतिज्ञ ज्ञानकाजी मानन्धर एवं अन्य संस्कृति अनुरागीहरुको माझमा । यसपछि पनि पटक पटक भेटघाट भैरह्यो । ज्ञानकाजीसरको एउटा पुस्तक विमोचन (किर्तीपुरमा), ज्ञानकाजीसरकै चण्डेश्वरी नाटक मञ्चनको बेला (वनेपामा), भृकुटीमण्डपमा पुस्तक प्रदर्शनीमा, मेरो नेवारी परिकार सम्बन्धी पुस्तकको भूमिका लेखाउन, पनौतीका ख्याती फोटोग्राफर प्रशान्त श्रेष्ठले भृकुटीमण्डपमा पनौती विषयकमा फोटो प्रदर्शनीका बेला । यी सबै पटकको भेटघाटको क्रममा उहाँको स्मरणशक्तिको खुबी देखेर हायलकायल भएँ । सन् २०१७ मा चिन जाँदा अरनिकोका कलाकृतिहरु हेर्दै गर्दा सत्यमोहन जोशीसर पनि मानसपटलमा आइराख्यो । अहिले करिब दुई हप्ताको लागि जर्मनी आउने क्रममै उहाँलाई सञ्चो नभएको समाचारहरुबाट चिन्तित थिएँ । असोज ३० गतेको बिहानका सामाजिक सञ्जालहरुमा उहाँको निधनको खबरबाट साह्रै दुःखी भएँ । उहाँको पार्थिव शरिरमा श्रद्धाका दुई पूmल चढाउने मौका पाइनँ । उहाँको शरीर जतन गरेर राख्ने निर्णय भएको छ । यो नेपालको लागि पहिलो यस्तो घटना हो । कुनै दिन दर्शन अवश्य पाईयला नै । सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली ।
