पर्सी तीज आईसकेको छ । केही वर्ष यता तीज कुनै समूदाय वा धर्म विशेषमा सिमित छैन । सहर बजारमा प्राय सबै जना तीज कार्यक्रममा सहभागी हुन्छन् । रमाईलो गर्छन् । कुनै पनि चाँडपर्वको अवसरमा सबै समूदायका मानिसहरु बिच अन्तरघुलन हुनु सामाजिक र साँस्कृतिक रुपमा राम्रो पक्ष हो । राम्रो पक्ष सर्व व्यापकता हुनु नै पर्छ ।
भाद्र शुल्क तृतीयाका दिनमा मनाईने तीज पर्व तीज पर्व हिन्दु आर्य महिलाहरुको विशेष चाँड हो । जनजाति र अन्य धर्मवलाम्बीहरुले यो चाँड मनाउँदैनन् । तीज मनाउन विवाहित महिलाहरु आफ्नो जन्म घर आँउछन् । तीजको अधिल्लो रात मिठो मसिनो पकाएर खाईन्छ जसलाई दर भनिन्छ । भोलि पल्ट आफ्नो श्रीमान्को दीर्घ आयुको कामना गर्दै निराहार ब्रत बस्छन् । अविवाहितहरु असल पतिको कामना गरेर ब्रत बस्छन् । शिव मन्दिरहरुमा गएर पूजा आरधना गर्छन् । दिनभर आफ्ना दिदी बहिनीहरु,बचपनका साथीहरु,मिलेर श्रीमानका घरमा भोगेका दुःख पीडा र अनेक किसिमका यातनाहरु गीत, मार्फत नाचगान गरेर अभिव्यक्त गर्छन् । यस अर्थमा हिन्दु महिलाहरुको धार्मिक आस्था र यर्थाथ जीवन भोगाई अभिव्यक्त गर्ने संगम हो तीज पर्व । वर्ष दिनमा विवाह भएर विभिन्न ठाँउमा पुगेका महिलाहरु, आफ्ना दिदी बहिनीहरु साथी संगीहरुहरुको माझ मन खोलेर हाँस्न रमाईलो गर्न, नाचगान गर्न पाउनु सामाजिक ,साँस्कृति एवं मानसिक स्वास्थ्यका हिसाबले अत्यन्त राम्रो कुरा हो । तर यस भित्रको मिथक, रुढीवाढी सोचहरु प्रति प्रष्ट हुन जरुरी छ । निराहार ब्रत बस्दा श्रीमानको आयु लामो हुन्छ कि हुन्न ? अविवाहितहरुले असल श्रीमान पाउन्छ कि पाउन्न ? स्वंयमले प्रश्न गर्न आवश्यक छ । श्रीमानको लागि मात्र होईन परिवारको दीर्घ जीवनको लागि मिनेत, मिनेत मै साधना गर्दै खाद्य स्वास्थ्य, आर्थिक सम्बृद्धि लिङ्गिय विभेदहरु अन्त्य गर्दै महिलाहरुले भान्छा देखि, परिवारिक व्यवस्थापनमा विवेक पूर्णकाम गर्नु पर्छ यसले सबैको औसत आयु बढ्छ । पार्वतीले जस्तै निरन्तर साधना ,ध्यान, ज्ञानले आफ्ना शिव(सत्य)लाई चिन्न सक्ने प्रज्ञा चक्षुको विकास हुन्छ । यसको लागि भगवानसँग बरदान मागेर होईन, स्वंयमको मेहेनतले मात्र चाहेको कुरा प्राप्त हुन्छ ।
हाम्रा प्रत्येक चाँडपर्वका विशिष्ट सन्देशहरु छन् । हामीले जानेर नजानेर विकृतिलाई भित्र्याउनु हुन्न । महिना दिन अगाडि देखि पार्टी प्यालेस र होटलहरुमा तीज कार्यक्रमका गर्नु सके नसकेका खर्च गरेर प्रतिस्पर्धामा उत्रिनु नै औसत मानिसहरुका दुःखका कारण बन्न सक्छन् , । चाँडपर्व मनाई रहँदा मौलिक पक्ष र सकारात्मक सुक्ष्म तत्वहरुलाई उजागर गरी, नकारात्मक पक्षलाई समय सापेक्ष परिमार्जन गर्नु पर्छ ।
राजनैतिक सामाजिक आर्थिक संघ संस्थाहरुले तीजको अवसरमा दर खाने कार्यक्रम राख्दै आएको छ । कोरोना महामारीका कारण यस वर्ष यस्ता कार्यक्रम भएका निकै कमी भएको छ । यस्ता संस्थाहरुले गर्ने कार्यक्रममा एक महिना अगाडि देखि झकिझकाऊ सिंगारिएर खानपान,उत्ताउलो नाचगान, गर्नु भन्दा राजनैतिक,सामाजिक सांस्कृतिक चेतनाको अभिबृद्धि गर्ने,व्यक्तिका प्रत्येक सार्वजनिक कृयाकलापहरुबाट घर परिवार समाजमा पर्ने सकारात्मक र नकारात्मक पक्षहरुका बारेमा पनि छलफल हुन जरुरी छ । सहकारी जस्ता सामाजिक एवं आर्थिक संस्थाहरुले चाँडपर्वको नाममा हुने खर्चले , बजारको माग र पूर्तिमा कसरी प्रभाव पार्छ । हाम्रो जस्तो आय स्रोत भएकाहरुले बचत कसरी गर्ने ? बचतलाई पूँजीमा कसरी रुपान्तरण गर्ने ? खर्च कसरी कुन कुनमा गर्ने जस्ता विषयमा प्रशिक्षित गर्दै महिलाहरुको आर्थिक सम्बृद्धि, ,महिला उद्यमशीलता सशक्तिकरणका मुद्दाहरुलाई उठान गर्ने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ ।
यो सूचना प्रबिधिको युगमा खाएको लाएका गाएको सामाजिक संजालमा हालिरहेका हुन्छन् यी कुराहरूलाई हेरेर सक्ने नसक्ने सबैले पनि त्यस्तै गर्न देखासिकी गर्दा चाँडबाँड पर्वको रुपमा नभई समस्या रुपमा घर आँगनमा आई पुग्छन् । त्यस्तै तीजका अवसरमा थुप्रै व्यवसायिक गीतहरू रिलिज भईरहेका छन् । ती गीतहरुले महिलाका परिर्वतित स्वरुप दुःख इच्छा चाहानाहरु प्रस्तुत भई रहेका छन् तरसमाधानका उपाय खै त ?
मान्छे व्यक्तिगत एवं सामुहिक विषयहरु सबै सार्वजनिक हुँदा त्यसका प्रत्येक क्रियाकलापहरूको सामाजिक सन्देश, असरहरू व्यापक पर्छन् । समाजमा चाँडपर्वका नाममा अनेक क्रियाकलाप भईरहँदा मानिसका अहं,लोभ, अनन्त ईच्छाहरू सँगसँगै समाजमा पस्किरहेका हुन्छन् । यसकारण आफ्ना कुराहरू प्रदर्शन गर्दैहरु ,महिना दिन अघि देखि तीज मनाउँदै गर्दा, समाजमा कस्तो सन्देश जान्छ ? के गर्ने किन गर्ने सोच्ने हो कि ? अनि तिनै कुराहरुलाई मरिहत्ते देखासिकी गरिरहँदा भोग्याकै रुपमा यो पितृसत्तात्मक समाजको कठपुतली कै रुपमा अंधकारको भूमरीमा घुमिरहेका त छैन ? महिलाहरू स्वंयमले सोच्न जरूरी छ ।