कोरोना भाइरसको चुनौतीका बाबजुत ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ । तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक विदा भएको हो । हरेक चार चार वर्षमा आयोजना हुने विश्व खेलकुदको कुम्भमेला गत वर्ष नै आयोजना हुनुपर्नेमा कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको थियो । तै पनि यो ओलम्पिकको नाम टोकियो ‘ओलम्पिक २०२०’ तर, कोरोनाबाट भने यो वर्ष पनि विश्व मुक्त भइसकेको छैन । साथै ओलम्पिक जस्तो ठूलो इभेन्टमा दर्शकहरु मैदान प्रवेश गर्न नै पाएनन् । टोक्यो ओलम्पिकमा २ सय ६ राष्ट्रसँगै शरणार्थी टोलीका ११ हजार ३ सय भन्दा बढी एथलिटले ३३ खेलमा विभिन्न ३३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।
समापन समारोहमा आयोजना जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा पेरिसमा प्रत्यक्ष समारोह समेत भएको थियो । ओलम्पिकको उद्घाघाटनमा नेपालबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा बोकेका थिए । समापनमा नेपालको झन्डा स्वयंसेवकले बोके ।
ओलम्पिकको अन्तिम दिनसँगै सबै ३ सय ४० स्वणर् ३३८ रजत र ४०२ कास्यगरी १०८० पदकको छिनोफानो भएको छ । ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीका ११ हजार ९० एथलिटले ३३ खेलमा विभिन्न ३३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । ओलम्पिकमा नेपालसहित ११२ राष्ट्र पदकविहीन बने । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६५ राष्ट्रले स्वणर् जित्दा ९३ राष्ट्रले पदक तालिकामा भने नाम लेखाए । विश्व खेलकुदको कुम्भमेलामा वर्चस्व जमाउने अमेरिका यसपटक पनि पदक तालिकामा शीर्षस्थानमा रह्यो । अमेरिकाले ३९ स्वणर्, ४१ रजत र ३३ कास्यगरी कुल ११३ पदक जित्न सफल भयो । चीनले अन्तिम दिन स्वणर् जित्न नसकेपछि दोस्रो स्थानमा झर्न बाध्य बन्यो । चीनले ३८ स्वणर्, ३२ रजत र १८ कास्यगरी ८८ पदक जित्न सफल भयो । आयोजक जापान २७, स्वणर् १४ रजत र १७ कास्यगरी कुल ५८ पदकका साथ तेस्रो स्थानमा रह्यो । दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वणर्सहित कुल ७ पदक जितेको छ । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
यस पटकको टोक्यो ओलम्पिकमा पनि नेपाली खेलाडीहरुको सहभागिता सहभागितामै सिमित रह्यो । पाँच जना खेलाडी नै दोस्रो चरणमा पुग्न असफल हुँदा तीन जना खेलाडी गौरिका सिंह, एलेक्जेन्डर शाह र कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए । गौरिका र एलेक्जेन्डरले पौडीमा कीर्तिमान बनाउँदा कल्पनाले सुटिङमा कीर्तिमान बनाइन् । यसैगरी जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन सन्तोषजनक रहेन ।