IMG-LOGO

गजल विकासको सन्दर्भमा

 मंगल, असार १९, २०८१  – डा. घनश्याम न्यौपाने

 

     नेपाली गजलको विकासका सन्दर्भमा हामी  गजलकारहरू नै प्रमुख बाधक छौँ । हामीमध्ये कोही अरबी, फारसी र उर्दूका कठोर नियममा रूढ छौँ । कोही संस्कृत पिङ्गल छन्दमाथि आरूढ छौँ । बहर छन्द नै हो अरबीको, बहर मिटर नै हो अंग्रेजीको र बहर छन्द नै हो संस्कृतको । तर यो प्रयोगमा संस्कृत छन्दभन्दा बढी लचकर उदार र केही आन्तरिक उपनियममा छन्दभन्दा पनि कठोर विधिले बनेको छ । हिन्दीमा पनि कोही हिन्दीअनुकूल त कोही उर्दू अनुकूलको पक्षमा छन् । मैले २०४४ तिर बहरका कुरा गर्दा अग्रज गजलकारहरूले असन्तुष्टि जनाउनुहुन्थ्यो । मनुव्राजाकी दाइले एकपटक भन्नुभएको थियो (घनश्यामजी ! गजल खासमा बहरमा नै लेख्नुपर्ने हो । तर म सक्दिनँ । तर तपाईं सक्नुहुन्छ । बहरमा लेख्नुहोस् ।

     मैले बहरका कुरा गर्दा त्यो बेलादेखि आक्रमण सहँदै आएको थिएँ र अहिले त सर्वाधिक आक्रमण बहरवादी हुँ भन्नेहरूबाटै भइरहेको छ म माथि । तर पटक्कै विचलित भएको छैन । आफ्नो यात्रा निरन्तर चलिरहेको छ अहिलेसम्म । सुरुमा बूँद राना, सनतकुमार वस्तीलगायतका केही साथीहरू लचकतासहित र गोविन्द विनोदी, केशवराज आमोदीलगायतका मित्रहरू छन्दवादको माध्यमबाट गजलमा आउँदा मैले दुवै पक्षलाई बराबर महत्व दिएको थिएँ । यसैबीच घनेन्द्र ओझाको नेतृत्वमा आएको अनाम मण्डलीले पनि छन्दवादलाई नै पछ्यायो । यसमा आन्तरिक रूपमा देवी नेपालको सहयोगी  भूमिका थियोे । यसले मलाई सल्लाहकारमा मनोनयन गरेको थियो, माया र आदर पनि उत्तिकै गरेको थियोे । यसको एउटा कार्यक्रममा मैले बहर र यसका लचकता र मात्रा गिरावट, चढावटका कुरा उठाउँदा ममाथि अ‍ोंला ठड्याउने साथीहरू पछि साँच्चिकै बहरको अध्ययनका माध्यमबाट गजलमा देखिनुभयो । मेरो यस समूहप्रति अनाम मण्डलीप्रति भन्दा बढी विश्वास रह्यो । यद्यपि यो समूहको आक्रमणको तारो म नै भएँ । तर पनि मैले यस समूहको अभियानलाई सदैव सकारात्मक ढङ्गले हेरिरहेँ । पछिल्लो चरणमा यस समूहको पनि परोक्ष माया पाइरहेको छु जस्तो लाग्दछ । केही पूर्वाग्रहीहरू हुनु स्वाभाविकै हो ।

     गजलको लागि अभियानमा लाग्दा मैले विश्वास पात्रको रूपमा लिएका व्यक्तिहरूमध्ये एउटा व्यक्तिको नाम हो (घनेन्द्र ओझा । मेरो यो विश्वास आजसम्म यथावत् छ । घनेन्द्रजीले मेरा गजलमा दोष पक्षको मात्रै खोजी गर्नुहुन्छ जुन मलाई मन पर्छ । मैले घनेन्द्रका गजलमा गुण पक्षको खोजी गर्छु । त्यो उहाँलाई कस्तो लाग्छ कुन्नि ! घनेन्द्र विशुद्ध छन्दवादी हुनुहुन्छ, म गजलमा विशुद्ध बहरवादी । हामीबिच मन मिल्छ, धार मिल्दैन । यद्यपि घनेन्द्र ओझा र घनश्याम परिश्रमीका बिच फाटो सिर्जना गर्न खोज्ने व्यक्तिहरूर गुटहरू छन् । तर पनि उनीहरू सफल हुने छैनन् । हामी दुवै आआफ्नै ढङ्गले गजलको विकास र विस्तारमा फरक मतसहित एउटै डुङ्गामा यात्रारत छौ भन्दा फरक पर्दैन ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्