नेकपा एमालेले केही दिन अघि प्रज्ञा भवनमा राष्ट्रिय महिला भेला गंंंंंंं¥यो । उक्त भेलाकी प्रमुख अतिथि थिइन् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । जुन कार्यक्रमलाई एमाले बृत्तमा भण्डारीको शक्ति प्रदर्शनका रुपमा पनि व्याख्या गरियो । दुई कार्यकाल राष्ट्रपतिमा रहेर शीतल निवासबाट बिदा भएपछि एमालेको सार्वजनिक कार्यक्रममा भण्डारी पहिलो पटक प्रमुख अतिथिका रुपमा सहभागी भइन् ।कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख वक्ता बनाइएको थियो । एमालेका अरु सबै कार्यक्रममा ओली प्रमुख अतिथि हुन्थे । तर महिला भेलाका नाममा एमालेले त्यस दिन भण्डारीका लागि ‘रेड कार्पेट’ ओछ्यायो । कुनैबेला एमालेकी उपाध्यक्ष रहेकी भण्डारी र वर्तमान अध्यक्ष ओली उपस्थित भएको उक्त भेलामा सहभागीका कारण प्रज्ञा भवनको हल पूरै भरिएको थियो । यो भेलामा प्रमुख अतिथि बनेपछि भण्डारी अब एमालेको राजनीतिमा फर्किने धेरैले आंकलन गरेका छन् । उनी आफैंले पनि राजनीतिमा फर्किने इच्छा जाहेर गरेको नेताहरू बताउँछन् । राजनीतिमै आउने अन्तिम निर्णय भने भइनसकेको उनीनिकट नेताहरू बताउँछन् ।
एमालेकै केही वरिष्ठ नेताहरू भने भण्डारीले पार्टीको सदस्यता पनि गत बैशाख १ गते नवीकरण गरिसकेकी छिन् । महिला भेला आयोजनाको नेतृत्व लिएका एमाले जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल नेपालको महिला आन्दोलनमा भण्डारीको भूमिका र पार्टीको एक महत्वपूर्ण आइकन भएकाले प्रमुख अतिथिका रुपमा स्वागत गरिएको बताएकाछन्् । पुनःस्थापित प्रतिनिधिसभामा २०६३ जेठ १६ गते एमालेकी तत्कालीन उपाध्यक्षको हैसियतमा भण्डारीकै नेतृत्वमा महिलाको अधिकारसम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरिएको थियो । उक्त सङ्कल्प प्रस्तावमा आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुन खारेजी र महिला हिंसाको अन्त्य लगायत विषय समेटिएको थियो । त्यसैको सेलिब्रेशन, प्राप्त उपलब्धि रक्षा गर्दै अबको बाटो र कार्यदिशा तय गर्न उक्त बृहत्त् भेला आयोजना गरिएको पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेल बताउँछिन् । उनी भेलामा पनि २३ वटै जनसंगठनका महिला नेताहरू सहभागी भएर सामूहिक छलफलसमेत गरेको बताउँछिन् ।
जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश र जिल््ला कमिटी महिला पदाधिकारी, अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित महिला प्रतिनिधिसहित ५ हजार जना सहभागी भएको नेतृ विद्या भट्टराई बताउँछिन् । यसलाई लिएर भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने अनुमान गरिएको छ । यसबारे प्रतिनिधि सभाकी सांसदसमेत रहेकी भट्टराई भन्छिन्, ‘आवश्यक परेमा परिस्थितिले के भन्छ उहाँको कुरा भयो । उहाँले हामीलाई केही भन्नु भएको छैन । महिला आन्दोलनमा उहाँ हाम्रो आदर्श हो ।’
के भने सहभागीले ?
भण्डारी एमालेको राजनीतिमा फर्किनुपर्ने धारणा भेलाका सहभागीले पनि राखेका थिए । हाम्रो प्रश्नमा उनीहरुले भण्डारी राजनीतिमा आएर नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुपर्ने बताए । दिवंगत पति मदन भण्डारीजस्तै उनमा पनि संगठन निर्माणको खुबी रहेको सहभागीहरूले बताएका थिए । सुदूरपश्चिमबाट सहभागी सरिता राउतले भनिन, ‘मैले त विद्या कमरेडलाई मदन भण्डारीको दोस्रो रूप हो भन्छु ।’ महिला भेलामा भाग लिनसानोठिमी क्याम्पसबाट विद्यार्थीको नेतृत्व गरेर आएकी नम्रता न्यौपाने पूर्व राष्ट्रपति भण्डारीले अब एमालेबाट देशको नेतृत्व गर्नुपर्ने बताउँछिन् । उनले भनिन, ‘अब उहाँ एमालेको राजनीतिमा आएर प्रधानमन्त्री बन्नुपर्छ । म उहाँलाई देशको प्रधानमन्त्री भएको हेर्न चाहन्छु ।’ मुगुबाट प्रतिनिधि भएर आएकी गार्मु लामा पनि भण्डारी एमालेको राजनीतिमा आएर महिलाका मुद्दालाई अझ व्यापक बनाउनुपर्ने बताउँछिन् । उनले भनिन्, ‘म जस्ता सामान्य महिलाहरूको मुद्दा उठाउने उहाँ नै हो । अब उहाँ हाम्रो पार्टीको सेविका बन्नुपर्छ ।’
झापाबाट आएकी विद्यार्थी नेतृ सनजोती नेम्बाङ भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनुपर्ने बताउँछिन् । कानुनकी विद्यार्थी नेम्बाङले भण्डारी राजनीतिमा आउनु देशका लागि गैरवको कुरा भएको तर्क गरिन् । हामी जे गरे पनि उहाँको साथमा भइहाल््छौं । यसबारे पार्टीमा कुरा उठेको थाहा भएन ।’ विद्यानिकट भएका एमाले नेताहरूका अनुसार उनी सामाजिक कार्यमा अहिलेबाटै सक्रिय भइसकेकी छन् । तर राजनीतिमा आइहाल्ने या कुर्नेबारे उनी पनि दोधारमा छिन् । यदि उनी राजनीतिमा नआए मदन भण्डारी फाउन्डेसनमार्फत आफूलाई सक्रिय बनाउँदै लैजाने योजनामा छिन् । एमाले सचिवालयका एकजना नेताका अनुसार उनले महिला भेला गर्न भनेकी थिइन् । नेता ढकालसहितलाई उनले महिला भेलाका लागि आग्रह गरेको खुलेको छ । यो महिला भेलाको मनोभाव बुझेपछि उनले राजनीतिमा फर्किनेबारे धारणा बनाउँदै छिन् ।
ओली के चाहन्छन् ?
हुन त भण्डारी ६३ वर्ष मात्रै पुगेकी छन् । उनी अझै सक्रिय राजनीति गर्न सक्ने अवस्थामा छिन् । दुई पटक राष्ट्रपति हुनुअगाडि उनी ०५४ सालमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनिन् । त्यसपछि रक्षा र वातावरण तथा जनसंख्या मन्त्रीका रूपमा पनि काम गरेकी थिइन् । उनी एमाले उपाध्यक्ष र अखिल नेपाल महिला संघकी अध्यक्ष भइसकेकी छन् । विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय उनलाई २०५० जेठ ३ मा विवादास्पद जीप दुर्घटनामा भएर पति मदन भण्डारीको निधन भएपछि पार्टीले नै राजनीतिमा ल्याएको थियो । उनले काठमाडौं क्षेत्र नम्बर १ मा २०५० सालमै भएको उपनिर्वाचनमा तत्कालीन् सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई हराइन् । त्यसपछि उनको राजनीतिक उचाइ बढेको थियो ।
त्यसपछि उनी निरन्तर एमालेबाट लाभको पद लिने व्यक्तिमा पर्छिन् । त्यही भएर अब अरूलाई पालो दिनुपर्ने पक्षमा पनि एमाले शीर्ष नेताहरू देखिएका छन् । अध्यक्ष ओलीनिकट एमाले नेताले भने, ‘भण्डारीजी अब राजनीतिमा फर्किएपछि देशले के पाउँछ र ?’ ती नेताका अनुसार ओली आफू शक्तिमा रहुन्जेल भण्डारीलाई रोक्ने पक्षमा देखिएका छन् । ओली अब एक पटक प्रधानमन्त्री हुने दाउमा रहेकाले आफ्नो हैसियत समानका नेतालाई ल्याउन चाहँदैनन् । ओली अहिले पनि उत्तराधिकारी खोज्ने पक्षमा देखिएका छैनन् ।