कवि पत्रकार कृष्ण सेनलाई भृकुटी मण्डप पुलिस क्लबमा हत्या गरिएको पनि निश्चित समयमा शब्दले भूमिका निभाएर प्रतीक वा बिम्ब बनेको हुन्छ । नेपाली पत्रकारितामा मात्रै हैन राजनीतिको तुफानी परिवर्तनको याममा जनादेश शब्द पत्रिका नाम मात्रै नभै जनयुद्धको प्रवक्ता पनि बनेको थियो । कवि थिए, साहित्यकार थिए, सोचलाई भूमिकामा उतार्ने एक्टिभिष्ट थिए । सेनजीले साहित्यक पत्रिका कलमको पनि सम्पादन गरे । तर बहुआयमिक व्यक्तित्वका धनी सेनजीलाई जनादेशको सम्पादक भनेर देश र दुनियाले ज्यादा चिन्यो । जनादेश पत्रिका मात्रै हैन् आन्दोलनको मुखपत्र बन्यो । बिद्रोह र क्रान्तिको मशाल बन्यो । नेपालको सन्र्दभमा जनादेश एउटा शब्द मात्र रहेन कमजोर, स्वप्नद्रष्टा, र क्रान्तिकारीको आत्मिक उर्जा बन्यो भने परिवर्तन विरोधी, यथास्थिति चाहने, प्रतिकृयावाद र पश्चगमनमा रमाउनेकालागी आतंक ।
समयसंगै राजनीतिका चरित्र, आन्दोलनका रुप, मिडियाका भास्य, नायक र खलनायकका परिभाषा, सौन्र्दयको मानक सवै फेरिए । कतिपय नायक खलनायकमा फेरिए भने कतिपयि दुश्मनलाई मित्र मान्नुपर्ने विवसता पनि आए । सेनकालीन जनादेशले अहिले पहिलाकै गरिमा धान्न सक्थ्यो कि सक्दैनथ्यो ! बहस हुँन सक्छ । बुजुर्वा आदर्शमै टिकेका संसारमा धेरै मिडिया पनि छन । संसारकै श्रेष्ठ पब्लिक इन्टिलेक्चल नोम चोम्स्की मेक्सिकोको ला जार्नेडालाई उत्तम पत्रिका भन्दछन ।
लास बोकेर इतिहासका व्याज खानेका लागी सेन आतंक हुन । आदर्श त्याग गर्ने र आदर्शको व्याज खाँदै हिजाका कथाबाचकहरुलाई सेन आतंक हुन । सेन आतंक हुँन– त्याग त्यागेर त्यागी देखिनका लागी । मानवसभ्यताका नायकहरूमा सेन पहिलो पनि हैनन् अन्तिम पनि रहनेछैनन् । सेन त अव विद्रोहको नेपाली कर्ममा उत्रिने बौद्धिकहरुका मशाल बनिसके ।
तत्कालीन राजनीतिक र धार्मिक सत्ता र शक्तिसँग हाकाहाकी आँखा जुधाएर बोलेर र लेखेर ज्यान जोखिम मोल्ने धेरै भए । लिखित इतिहासमा त्यो परम्परा सुकरातको हलाहल विषपान बाट भयो । प्लेटो मण्डिमा बेचिए । कोपरनिकस, ग्यालिलियो र जियोड्रानो ब्रुनोहरुको लामो सूची छ ।
सत्ता यथास्थिति खजबज्याउन दिँदैन, समाज यथास्थितिमा रहन चाहँदैन । समाजको सपना र युगको हुटहुटी कवि, दार्शनिक र क्रान्तिकारीहरूले वाणी दिन्छन । तव हरेक सत्तालाई, विद्रोही, दुष्ट, अधार्मिक, राजद्रोही भनिएर मारिन्छन । जेलमा सडाइन्छ । तर उनीहरूकै काँध चढेर युगले कोल्टे फेरिरहेको, सभ्यताको विकास भैरहेको, मुर्दासमाज जाग्राम भैरहेको हुन्छ । कृष्ण सेन इच्छुक नेपालको सन्दर्भमा मकैका खेती लेख्ने कृष्णलाल अधिकारी र साप्ताहिक हाँकका सम्पादक शोभाकर धनञ्जयका पछिल्लो संस्करण हुन । मूल्यभुक्तान नगर्ने तर आर्दश गफाडीका गफ स्वकर्म भन्नेलाई चेतावनी दिने नायक हुन ।
अहिले अवस्था फेरियो । सबैकुराको निर्णय राजनीतिले गर्छ । राजनीतिका चरित्र फेरिएसँगै जनादेश र नेपाली पत्रकारिताका रूप, गुण, अवस्था, मर्म र परिभाषा पनि फेरिएको सन्दर्भमा सेनकालीन जनादेशको आदर्श टिक्न सक्दैनथ्यो । तर बुर्जुवा आदर्श भित्र पनि सेनचरित्र त नियमित हुन सक्थ्यो । माओवादी भित्रका जनयुद्धकालीन र शान्तिकालीन अन्तरविरोध जनादेशका सम्पादक र सम्पादकीय समूहमा आउने हेरफेरले अद्यार्थीलाई बुझन अझ सहज होला ।
कृष्ण सेन इच्छुकको सङ्क्षिप्त जीवनी
कृष्णसेन इच्छुकको जन्म यमबहादुर सेन ( भारतीय सेनामा जागिरे, बुबा ), भीमकुमारीको (आमा) कोखबाट भारतको देहरादुनमा २०१३ कार्तिक ३ मा भएको हो । उनको ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बिते । उनको पुर्ख्यौली घर प्यूठान जिल्लाको साराङकोटबाट अर्घाखाँचीको जलुके, सातमारामा बसाइ सरेको होे ।
सेन केही समय दाङ कोइलाबासको साल्ट ट्रेडिङमा जागिरे पनि भए । पहिलोपटक २०३६ सालको विद्यार्थी आन्दोलनमा गिरफ्तार परे । जेलबाट छुटेपछि दाङको महेन्द्र क्याम्पसमा पढ्दा विद्यार्थी आन्दोलनमा सक्रिय भए । २०३९ सालमा पुनः पक्राउ परे । साढे ५ वर्ष जेल जीवनबाट २०४४ सालमा मात्र जेलबाट छुटे । उनको समग्र जेलजीवन १० वर्षभन्दा धेरै रहेको छ ।
उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । २०३७ सालदेखि दाङमा विद्यार्थी आन्दोलनको नेतृत्व गरे । २०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । २०४६ सालमा कम्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय ब्युरोको सेक्रेटरी बने । पछि संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य बने । साथै अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद्, पत्रकार महासङ्घका पार्षद्, दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यसमेत भए । उनका साहित्यिक कृतीहरुमा शोकाञ्जलि (२०४८) इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरी (२०५८) पर्खालभित्रका बन्द आवाजहरु रहेका छन ।
जेल सेनको जीवनको अभिन्नअङ्ग रह्यो । उनी ०३९ देखि ०४४ सालसम्म दाङ कारावासमा छ वर्ष, ०५६ सालमा काठमाडौंको भद्रबन्दी गृहमा १ वर्ष र सिराहा तथा राजविराजमा २ वर्ष गरी नौ वर्षसम्म जेल बसे । सङ्कटकालका बेला ०५९ साल जेठ ६ गते काठमाडौँबाट गिरफतार गरिएका सेनको ७ दिनपछि अर्थात् जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरमयातनाका कारण ४६ वर्षमै मृत्यु भयो । उनको जीवन साथी तक्मा केसी र छोरी समीक्षा केसी रहेका छन् ।