के मदन भण्डारीको हत्यारा गिरिजाप्रसाद नै थिए ? नेकपा एमालेले ‘शोकलाई शक्तिमा बदलौँ’ भन्दै त्यही दिन देखि लासमाथि राजनीति प्रारम्भ ग¥यो । पहिलो प्रयोगका रूपमा मदन पत्नी विद्यादेवी भण्डारीलाई सेतो सारी लगाएर सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराइयो । शिर्षकमा उठाइएका यि प्रश्नहरुको उत्तर तीन दशक देखि आजसम्म पाइएको छैन ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीत चढेको जिप २०५० जेठ ३ गते दासढुङ्गाबाट त्रिशुली नदीमा खस्दा दुई नेताको ज्यान गएको थियो तर जिप चालक अमर लामा भने बाँचेका थिए । नेपालको इतिहासमा अर्थात पहिलो जन–आन्दोलन पछि एउटा विचारक नेताको रहस्यमय दुर्घटनामा मृत्यु हुनु नेपालीका लागि ठुलो क्षति हो । यो क्षतिको पुर्ताल नेपाली राजनीतिमा कहिल्यै पुरा हुँदैन ।
नेकपा एमालेले मदन भण्डारीको हत्या तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा भएको भनेको थियो । मदन भण्डारीको हत्या नै हो र हत्यारा गिरिजाप्रसाद कोइराला नै हुन् भनेर एमालेले काठमाडौंमा आन्दोलन ग¥यो । आन्दोलनमा रत्नपार्क वरिपरिको सडकका रेलिङ्ग भाँचिए, सडकमा टायर बालेर काठमाडौं नै कुइरीमण्डल भएर प्रदुषित भएको थियो । यति कि सर्वसाधारण सडकमा हिड्न सक्ने वातावरण नै थिएन, ट्राफिक व्यवस्थापन गर्न मुस्किल भएको थियोे । दिनहुँ भएको आन्दोलनको दबाबमा घटनाको जाँचबुझ गर्न गिरिजा सरकारले पूर्व प्रधानन्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा छानविन आयोग बनाएको थियो । सो आयोगको प्रतिवेदन सार्वजनिक पछि असन्तुष्टि जनाउँदै एमालेले सडक आन्दोलन झनै चर्कायो । आन्दोलनका क्रममा ३ जना निर्दोष नागरिकको ज्यान पनि गएको थियोे । चर्किएकाले स्थिति शान्त पार्न सरकारले फÞेरि बहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा नेतृत्वको आयोग गठन गर्यो, तर सो आयोगले दुर्घटना या हत्या केही किटान गर्न नसकेपछि एमालेले नै केपी ओलीको एक सदस्यीय आयोग बनाएको थियोे । ओलीको एक सदस्यीय आयोगको प्रतिवेदन नै लुकाइयो । ओली कार्यदलको सो प्रतिवेदन आजसम्म किन सार्वजनिक गरेनन् ? हत्याको आरोप चोर औंलो गिरिजाप्रसाद कोइराला तिर देखाउदा बाँकी ४ औंला एमालेतिरै फर्किएका छन् । नत्र दुई–दुई पल्ट राष्ट्रपति भएकी विद्या भण्डारीले आफ्नै पति को हत्यारा खोज्न किन सकिनन् ? के ले रोक्यो उनलाई ? घटनाका एक मात्र साक्षी चालक अमर लामालाई किन लखेटेर गोली हानी मारियो ?
यि अनुत्तरित प्रश्नको जवाफ कहिले पाइन्छ ?
ओहो ! डरलाग्दो त्यो दिन म र तेजबहादुर मिजार एउटै कोठामा बसेर राति ८ बजेको समाचार ब्लाक एण्ड ह्वाइट टेलिभिजनबाट ;हेरिरहेका थियौ । त्यो समाचार सुन्नासाथ हामी हेराहेर मात्र गर्यौ , एक छिन बोल्नै सकेनौं । हामी एउटै पार्टीमा संगठित थियौ। तत्कालीन एकता केन्द्र हाम्रो पार्टी थियो । एमालेका महासचिव मदन भण्डारीको जीप दुर्घटनाको खबरले हामी दुबै त्यो रात पुरै स्तब्ध बनेका थियौ । हामीले बनेपामा मित्र एग्रो भेटेरिनरी नामको पसल साझेदारीमा चलाउथ्यौ । प्रत्येक साझ भात खाएपछि मादल बजाउदै जनवादी गीत गाउने नाच्ने हामी त्यो दिन मौन बस्यौं । हामीले गीत नगाएको देखेर तेजबहादुर कि छोरी सुजाता र सुजनले हामीलाई हेरिरहेको झल्को प्रत्येक जेठ ३ ले सम्झना गराउँछ । मलाई त लाग्छ जेठ महिना नेपालीका लागि कालो महिना हो । मदन – आश्रीत मात्र होइन राजा वीरेन्द्रको वंश विनास हुनेगरी नारायणहिटी राजदरबार हत्याकाण्ड पनि २०५८ जेठ महिनामा भएको थियोे । दुवै घटनाले नेपाललाई अस्थिरताको सुरुङ्ग भित्र पारेको मेरो ठहर छ ।
नेकपा एमालेले ‘शोकलाई शक्तिमा बदलौँ’ भन्दै त्यही दिन देखि लासमाथि राजनीति प्रारम्भ ग¥यो । पहिलो प्रयोगका रूपमा मदन पत्नी विद्यादेवी भण्डारीलाई सेतो सारी लगाएर सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराइयो । २०५१ सालमा एमालेको अल्पमतको सरकार हुँदा मदन–आश्रीतका हत्यारा पत्ता लगाउन सक्थे, तर चु पनि गरेनन् । मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिद्धान्तले होइन मदन र जीवराजको लास माथि राजनीति गरेर एमाले र ओली यो स्थानमा पुगेका हुन् । आज मदन जिउँदा हुन्थे भने राजनीतिको कोर्स नै अर्को हुन्थ्यो कि ? हुन त उम्केको माछो ठुलो र मरेको मान्छे महान भन्ने नेपाली उक्ति रहदँै आएको छ । एउटा कुरा किटेर भन्न सकिन्छ कि मदन बाँचेका भए उनकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति हुने थिइनन् । त्यस्तै खड्गप्रसाद शर्मा ओली यो तहमा पुग्ने मौका नै पाउन्नथे। अहिले ओली बा बनेका उनका पछि लाग्ने नेता कार्यकता पनि हुने थिएनन् । माधवकुमार नेपाल, झलनाथ खनाल पनि प्रधानमन्त्री हुने थिएनन् । बरु सीपी मैनाली बामदेव गौतम, बेदुराम भुषाल र नव युवाहरु घनश्याम भुसाल नारायण ढकाल गोकर्ण बिष्ट रामकुमारी झाँक्रीको स्तर झन् उपल्लो स्तरमा पुग्ने निश्चित थियो ।
रवि लामिछाने राजनीतिक होलान् !
नेपालको राजनीतिको रङ्गमञ्चमा टेलिभिजन प्रस्तोता रवि लामिछानेको प्रवेशसँगै अनौठा र कसैले नसोचेका घटनाहरु परिदृष्यमा आएका छन् । उनी मात्र होइन अरु पनि केही व्यक्ति र प्रवृत्तिको प्रवेश भएको छ । यस्तो हुनु सम्पूर्ण दोष इतिहास भएका ठूला दलको अकर्मण्यता नै हो । ठूला दलहरु यो स्थिति सृजना हुनुमा आफ्नो गल्ती स्वीर्काछन् वा स्वीकार्दैनन् त्यो उनीहरु जानुन्, हामी भन्छौं यो सबै उनीहरु कै कारणले भएको हो । २०४६ सालको पहिलो जन–आन्दोलन पछि नेपाली काङ्ग्रेसका सन्त नेता तथा एउटा आदर्श र निष्ठा भएको नेता कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराउनु २०४६ को परिवर्तनको हार भएको थियोे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो कार्यकालमा उदार नभएका कारण नेपाली काङ्ग्रेस ३६ र ७४ मा विभाजन भएको थियोे । नेपाली काङ्ग्रेस कै कारण माओवादी उदाएको र एमाले फस्टाएको हो ।
२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले मेयर पदमा चुनाव जितेपछि रवि लामिछाने राजनीतिमा हाम फाले । न्युज २४का टेलिभिजन प्रस्तोता लामिछानेले जनतासँग सिधा कुरा मार्फत आफूलाई स्थापित र चर्चित बनाएका थिए । जिन्दगीभर अर्काको टेलिभिजनमा काम गर्नु भन्दा आफ्नै टेलिभिजनमा काम गर्ने सोचका साथ सहकारी ठग जिबि राई सङ्ग मिलेर गोर्खा नेटवर्क स्थापना गरी निकै तामझामका साथ ग्यालेक्सी फोर टेलिभिजन उदघाटन भएको थियो । टेलिभिजन शुरूवातको केही समय पछि नै स्थानीय चुनावमा काठमाडौ महानगरपालिका बालेन शाह र धरान उप–महानगरमा हर्क साङ्गपाङ जित्नुले उनलाई राजनीतिमा हामफाल्ने प्रेरणा मिल्यो । त्यही उर्जाले सिद्धान्त बेगरको राष्ट्रिय स्वतन्त्र पार्टी । सो पार्टीको अध्यक्ष बनेर उनले राजनीतिमा कहिल्यै नलागेका केही व्यक्तिलाई जबर्जस्त राजनीतिमा ल्याएका थिए । ठूला दलबाट निरास भएका मास हिस्टेरियाले ग्रस्त नेपाली समाजमा रास्वपाको घण्टीले चुनाव जितेको हो ।
रास्वपा र रवि लामिछाने नेकपा एमालेका केपी ओली को वफादार देखिन्छन् । रविले राजनीतिमा आएर बेग्लै परिचय दिएका छैनन् । उनी उचालिएका सिकारी जस्तैः देखिन्छन् । भड्काउने र बहकाउने शैली छ उनको । त्यसैले आइतबार सदनमा गृहमन्त्रीको पदिय मर्यादा विपरित अमूर्त कुरा बोले । आफू विरुद्ध हुने संसदीय छानबिन समिति नबनाउने जिकिर हो उनको । त्यसैले रवि लामिछाने राजनीतिक व्यक्तित्व होलान् ! यो भ्रम कसैले नपाले हुन्छ । उनी माथि गहिरो छानबिन हुनुपर्छ ।