दुस्मनी जम कर करो,
लेकिन ये गुंजाइश रहे,
जब कभी हम दोस्त हो जाएँ तो शर्मिंदा न हों ।
– बशीर बद्र
नयाँ सरकार गठनसँगै सहमतिका नयाँ अभ्यास हुँदै छन् ।सरकारले ३० फागुनमा विश्वासको मत लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ महिनायता यो तेस्रोपटक विश्वासको मत लिनका हुन् । परिस्थितिले अहंकार तोड्छ । ‘सहकार्य र सह–अस्तित्वका आधारमा अघि बढ्ने भनेर एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच फेरि संवाद र सम्बन्ध सुरु भए । कांग्रेसविरुद्धको प्रतिक्रियाले पार्टीहरूबीच गठबन्धन त गरायो तर धरमरमै छ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई ‘धोकेबाज र बेइमान’ तल ओर्लेर गाली महात्म्य दोहो¥याएनन् । त्यो नै पनि नेपाली राजनीतिमा विरलै भेटिने दुर्लभ धैर्यता र संयमता मान्नुपरेको छ ।
एमाले र माओवादी दुवै ‘कम्युनिस्ट’ झण्डा बोक्ने पार्टी भए पनि गल्फ अफ अलास्का अर्थात् एट्लान्टिक र प्रशान्त महासागरको मिलन विन्दुजस्तै छन् । भेटिन्छन्, तर अन्तरघुलन भने हुँदैनन् । दुई धाराहरू भेटिएर गल्फ अफ अलास्का बने पनि सतहमा भने खैरो र हरियो रङको पानी नै देखिन्छ । नेपाली बाम गठबन्धन वा पार्टी मिलन यस्तैयस्तै भएका छन् । सँगसँगै भएर पनि एकाकार हुन नसक्ने र चाहिनेभन्दा ज्यादा ‘कम्युनिस्ट’ एकताका पाल्सी कुरामा रमाउने प्रवृत्ति देखियो । सहकार्य छुट्यो कि गाली सुरु । स्वार्थमा मिल्ने र छुट्ने बानी परेका नेताका लागि ती सबै सामान्य भइसके, तर कार्यकर्ता भने तरंग भुल्नै सक्दैनन् ।
सांस्कृतिक सामन्तवादले राजनीतिक चरित्र अहंकारी बनाउँछ । सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि कुन बेला मित्र र विरोधीको कित्ता फेरिने हो ? गाली मित्रवाणी बन्ने हो, पत्तै हुँदैन । अझ बेस्ट मिनिस्टर प्रणालीको संसदीय व्यवस्थामा विचार, आदर्श र न्यूनतम योजना, उद्देश्य र प्रतिबद्धताले भन्दा पनि संसदको गणितले महत्व राख्छ । त्यसैले सरकार बन्ने र भत्किने गर्छ । शक्ति र स्वार्थमा हेरफेर भइरहन्छ । त्यसैले साना पार्टी र दामलीको पनि महत्व बढ्न जान्छ । त्यतिबेला भावनाले राजनीति चल्दैन ।
नयाँ गठबन्धनका कारण
आवश्यकताका सिद्धान्त नै चुत्थो विकल्प भएकाले पुराना आक्रामक गाली फुच्चे भए । कांग्रेस महाधिवेशनमा आफ्नै नेतृत्वको सरकार होस् भन्ने देउवाको चाहना थियो । त्यो सुविधा पार्टीभित्रको प्रतिपक्षले दिन चाहँदैनथ्यो । कांग्रेसमै ‘महारानी’ आतंक झन् चर्को थियो । तब ऐतिहासिक रेकर्ड बनाउने देउवाको ज्योतिषी भविष्यवाणीले तत्कालका लागि काम गरेन ।
संविधानकै आधारभूत प्रस्थापनाको कांग्रेस महासमितिले विरोध ग¥यो । सरकारभन्दा महासरकारले मण्डिखाटारबाट हुकुम चलाउन थाल्यो । प्रधानमन्त्री प्रचण्डलाई शान्ति सम्झौताको मूल पाटो टीआरसी कसैगरी पास गराउनुपर्ने बाध्यता थियो । त्यसैले भने, ‘मलाई उपयोग गर्न खोजियो भने म लात्तीले हानेर उम्किन्छु ।’ त्यो पुरानो साझेदारलाई मात्रै नभई आउँदा दिनको संकेत र सन्देश पनि थियो । त्यसैले मूख्य सहयोगी दल झस्कियो । एमालेले मन्त्रीमण्डलमा तेस्रो तहका नेताहरूलाई मात्र सामेल गराएर प्रधानमन्त्रीलाई सन्देश दिएको देखिन्छ । गठबन्धन बन्नुअघि अध्यक्ष ओलीले भनेको ‘खरानीको डल्लो कुनै पनि बेला फुट्न सक्छ’ नयाँ गठबन्धनका लागि पनि सन्देशमूलक छ । त्यसैले सरकारको नयाँ यात्रा आशंका लिएरै सुरु भएको छ ।
जीवनजस्तै राजनीतिमा पनि हुने र देखिने कुरा फरक हुन्छन् । फेरिरहने घटनाका दृश्यबारे कार्ल माक्र्सले भनेका छन्, ‘पहिलोपटक घटना त्रासदीका रूपमा हुन्छ भने अर्को पटक प्रहसनको रूपमा ।’ एमाले–माओवादीको एकता र विभाजन पनि त्यस्तै अर्को प्रहसन बन्न सक्छ ।
जुट्नै थियो भने किन फुटेको ?
शक्तिमा पुगेपछि हिजोका वाचा कसैले सम्झँदैन । शक्तिमा पुगेपछि टिकिरहन चाहनु र बाहिरिएकाहरू शक्तिमा जान चाहनु सामान्य हो । त्यस क्रममा हुने सम्झौता र सहमति बन्ने र भत्कने गर्छन् । राजनीतिमा हुने सम्झौता भद्र सहमति हुँदैन । समयक्रममा ती उहिलेका कुरा खुइले बन्न पुग्छन् । उधारो सम्झौता, नगदका सामुन्ने थोत्रा तमसुक बनेर च्यातिन्छन् । डबल नेकपा बन्दा एकले अर्कालाई पचाइदिन्छु भन्ने अध्यक्ष ओली र अध्यक्ष प्रचण्ड दुवैको सोच थियो । विकसित परिस्थितिलाई आफ्नो अनुकूल पार्छु भन्नेमा दुवै विश्वस्त थिए । डबल नेकपामा हिजो एमाले अध्यक्ष ओलीले पुराना सहमति सम्झेनन्, २०७९ मा प्रचण्डले उसैगरी १० पुसका वाचाबन्धन तोडे ।
तर्कका मात्रै होइन, कुतर्कका पनि आधार हुन्छन् । सबैका आ–आफ्ना कमजोरी हुन्छन् । तृष्णा सबभन्दा ठूलो कमजोरी बन्छ । विरोधीले त्यसलाई नियालेर धराप थाप्ने योजना बनाइरहेका हुन्छन् । मौकामा चौका हानेर अक्करमा ठक्कर दिँदै तिरीमिरी झ्याइँ बनाउँदै मर्माहत बनाउँछन् । शक्तिखेलमा हिजोको आदर्श नभई भोलिको ख्याल गरिन्छ । संसदीय गणितीय खेल अङ्ककेन्द्रित हुन्छ । मित्र र विरोधी साँध फेरिनुलाई नै राजनीतिक खेल मानिन्छ । त्यसैले समयसँगै तर्क र साझेदार पनि फेरिन्छन् ।
आजको दिनमा पार्टीको रूपमा नेपाली कांग्रेस मात्रै छ । एमाले, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चारै पार्टी अध्यक्षको राजनीतिक जिम्वाली हुकुमीतन्त्रमा झैँ चल्छन् । नेतृत्वका हरेक निर्णय आदेश बन्छन् । स्वीर्कानुभन्दा नेता–कार्यकर्तालाई सहमति जनाउनेबाहेक कुनै विकल्प हुँदैन । त्यसमा प्राज्ञिकसभा भनिने राष्ट्रियसभाको चुनाव नियाले पुग्छ ।
पार्टीहरू आफ्ना योग्यता, क्षमता र लोकप्रियताभन्दा विरोधीका कमजोरी र नालायकीमै आफ्ना अस्तित्व धानिराखेका छन् । कार्यकर्ता भक्तराम बन्दा त्यस्तो सुविधा मिलेको हो । समीकरण बन्नु र भत्किनुमा सत्ता भएन भने केही हुँदैन भनेर कार्यकर्ताको मनोभावले काम गरेको छ । त्यसैले मिसन २०८४ मा जुटेका पार्टीका आन्तरिक र बाहिरी समस्याले नयाँ गठबन्धन बनाउन दबाब सिर्जना ग¥यो ।
पार्टीहरूका समस्या र भयको राजनीति
भयको राजनीतिलाई शंका र भ्रम सबैभन्दा खतराका विषय हुन् । मिसन २०८४ का लागि गठबन्धन सरकार चुत्थो विकल्प बन्यो । देउवालाई कांग्रेस सभापतिमा निरन्तरता नदिन पार्टी प्रतिपक्षको लक्ष्य सफल भयो । अहङ्कारको संस्कृतिले सगोलको डबल नेकपा फुटेको थियो । एकता र विभाजनमा माधव नेपाल केन्द्रीय कारक बनेका थिए । अध्यक्ष ओलीले चाहेजस्तो परिणाम निकाल्न र जोगाउन सकेनन् । ओलीलाई नेपाललाई ध्वस्त गर्ने कुनै मौका नचुकाए पनि संसदीय अङ्क गणितले भने निर्णय फेर्न बाध्य बनायो ।
अध्यक्ष ओली र नेपालको निकटता बाध्यताले घँचेटेर भएको हो । अझ अध्यक्ष ओलीलाई गिरीबन्धु टि स्टेटको अनुसन्धान हुने भय थियो । अख्तियारका प्रेम राईलाई कसैगरी जोगाएर हित साधना गर्नु उनको अर्को पक्ष हो । सुनले माओवादीलाई लघारिरहेका छन् । त्यसको लहरो धेरै परसम्म पुग्नेवाला छ ।
दबाब र तनावमा रहेका रवि लामिछाने लोकप्रियताको शिखरमा पहिलेजस्तो अवस्थामा रहेनन् । विकल्पको खोजी र मूलधारको राजनीतिसँग वाक्क भएर प्रतिक्रियामा संचालित समर्थकहरू रविको नाङ्गो यथार्थले उनीप्रतिको आस्थाको भ्रम टुटिसकेको छ । अन्य मुद्दा त सक्रिय थिए नै, सर्वसाधारणसँग जोडिएको सहकारी प्रकरणले उनलाई लघारिरहेको छ । सोही आतङ्कले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उनले अर्थमन्त्रीमा अघि सारेनन्। राजनीतिले कसरी न्याय व्यवस्थामा प्रभाव पार्छ र हित अनुकूलको न्यायिक फैसला गराउन सिकिन्छ भनेर भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरण, बालकृष्ण खाँण र लक्ष्मी कोइरी साटासाट न्यायिक व्यवस्थापन बुझेका चतुर लामिछानेलाई प्रेरक बन्यो । अहिले पनि आसन्न संकटमोचक पद बन्न सक्छ भन्नेमा उनी विश्वस्त भए ।
महन्थ ठाकुर र राजेन्द्र महतोलाई कुनै भाउ नदिए पनि मधेशलाई जिमिदारी सोच्ने जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवलाई सीके राउतको हस्तक्षेपले भने तिलमिलाइदियो । सरकारको बहुमत पक्का देखेपछि मधेश प्रदेश सुरक्षित गराउन नयाँ गठबन्धनमा सामेल भए । प्रतिष्ठा र अभिजात तप्काप्रतिको घृणाले भिडलाई उत्तेजित पारेर सत्ता हिस्सेदार बनेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अहिले श्रीमान्–श्रीमतीको घर झगडामा अल्झियो । सहमति तोडिनुका पत्यारिला तर्क र नयाँ सहमतिका आधार प्रस्ट नभई बनेको नयाँ गठबन्धन भयको राजनीतिमा केन्द्रित छ ।
सबैका आआफ्ना बाध्यता, तर्क र योजना छन्
संसदीय व्यवस्थामा गठबन्धन बन्छन् र भत्कन्छन् । तर, त्यसका कारण भने हुन्छन् । प्रतिक्रियाले नभई न्यूनतम साझा कार्यक्रम साझेदारबीच हुनु आवश्यक छ । डरका कारण बनेका गठबन्धनहरूमा सबभन्दा ठूलो संकट विश्वासको आतंक बन्छ । नयाँ सम्झौता, सहमति र सहकार्य गर्न हिजोका भूमिका ख्याल गरिँदैन । बाध्यताले घँचेटेपछि राजनीतिमा आफ्नै मान्यताको विपक्षमा उभिनु स्वाभाविक हुन्छ । तर्क उमार्न सकिन्छ तर वास्तविकता र नांगो वास्तविकतामा भने फरक हुन्छ । सहमति भए पनि तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले भिड्छौँ भन्ने मूल कार्ययोजना बनेको छ । भय र प्रतिक्रियाले संचालित पार्टी र नेतृत्वहरू शक्ति र सत्ता गुमेपछि हुने डरले सत्ताकेन्द्रित राजनीतिको मात्र ध्याउन्नमा हुन्छन् । तर गुमेको विश्वास पुनः प्राप्त कसरी गर्ने भन्नेमा भने उनीहरूको ध्यान जाँदैन । के नेपाली राजनीतिमा गठबन्धन संस्कृतिले विश्वासको पुनःप्राप्ति गर्न सक्ला ? कि यस्तै अस्तव्यस्त भइरहला ?