चौरी देउराली गाउँपालिका वडा नं. ५ पिता शिवप्रसाद ढकाल, माता रुकुमाया ढकालका छोरा रत्न ढकालको जन्म २०३६ साल माघ ६ गते भएको हो । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष, माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेतको जिम्मेवारी सम्हाल्नु भएका ढकाल हक्की स्वभावका हुनुहुन्छ । २०७४ मंसिर २१ गतेको निर्वाचनमा जीत हाँसिल गर्नुभएका ढकाल बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ । कांग्रेसका सिवी लामालाई ७ हजार २ सय २१ मत बेसी ल्याई जीत हाँसिल गर्नुभयो । उहाँले २५ हजार १ सय ६ मत प्राप्त गरी विजयी हुनुभएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा काभ्रे क्षेत्र नं. १ को ‘क’ मा प्रदेश सदस्यको उम्मेदवारको रुपमा सत्ता घटक नेपाली कांग्रेस सहितको ५ दलीय गठवन्धनको साँझा उमेदवार बन्नु भएका रत्न ढकाल संग चुनाव जित्ने आधार के छन ? जीत हाँसिल गरेको खण्डमा आफ्नो क्षेत्रमा के गर्ने दृढ संकल्प छ भन्ने सवालमा रेडियो एविसीमा गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा दोश्रो पटक प्रदेश सभा सदस्य उम्मेदवार बन्नुभएको छ जित्ने आधार के छ ?
माओबादी केन्द्रको जन- संगठन र जनमत नै जित्ने आधार हो । अर्को बलियो आधार भनेको जनमतलाई लत्याउने संविधान माथि पटक पटक कुठाराघात गर्ने नेकपा केपी ओलीको नेतृत्वमा बनेको झण्डै दुई तिहाईको सरकार बनेको थियो । माओवादी केन्द्र समेत सम्मिलित भई एमालेसँग पार्टी एकीकरण भएको र जनाले मत दिएर ठूलो पार्टी बनाएको थियो तर संविधान विपरीत दुई दुई पटक प्रतिनिधि सभा भंग गरेर केपी ओलीले जनताहरू माथि घात गरेकाले संविधान पचाउने लोकतन्त्र बचाउने र जनताका हक अधिकारलाई स्थापीत गराउने शक्ति मध्येको संविधान बनाउने नेपाली कांग्रेस पार्टी सत्ता घटकसँग हामीले ५ दलीय गठबन्धन गरेका छौं ।
जनताको जीवीकाका सवाल, सम्मुनत नेपाल निर्माण गर्ने प्रतिबद्धता सहित हामी चुनावमा होमिएका कारण काभ्रेमा गठबन्धनका साझा उम्मेदवारले जित्ने निश्चित छ । जनमतको अपमान गर्ने एमालेलाई जनताले मत दिदैनन् । त्यस्तै गरी म सांसद भई निर्वाचित भएको पछि र वागमती प्रदेशको मन्त्री भएपछि मेरो आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार गरेको छ । भौतिक पूर्वाधारको क्षेत्र, सडक कालोपत्रे, सडक सञ्जाल विस्तार, रोशी, तिमाल, खानेपानी, महाभारत गाउँपालिका, खानी खोला गाउँपालिकामा विद्युतिकरण गर्ने सवालमा र खेलकुदको क्षेत्रमा समेत काभ्रेमा महत्वपूणर् कार्य गरिएको छ बाँकी कार्य पूरा गर्न मेरो उम्मेदवारी हो ।
नीति, विचार, सिद्धान्तलाई तिलाञ्जली दिँदै कांग्रेससँग गठबन्धन गरेर चुनावमा जानु भनेको लोकतन्त्रप्रति नै घात गरेको संविधान विदहरूको भनाइ प्रति तपाईं के भन्नु हुन्छ ?
केपी ओली नेतृत्वको सरकारले संविधान नमान्ने लोकतन्त्रलाई नै धराप पार्ने कार्य गरेकाले लोकतान्त्रिक बामगठबन्धन गर्नुपरेको हो। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको रक्षा गरी जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गरी देशको समग्र विकास गर्नु आजको आवश्यकता हो । नीति, सिद्धान्त र विचार पार्टीको आ-आफ्नो छन् । ५ दलीय गठबन्धनको आ आफनो घोषणा पत्र अनुसार चुनावमा जाने हो। एमालेसँग चुनावी प्रतिस्पर्धा हुन्छ ।
तपाईँ निर्वाचत भएपछि गरेका उपलब्धी मुलक ५ कार्य के के हुन् ?
डाडाँपारी तथा कोशीपारी क्षेत्रमा सडक पूर्वाधार निर्माण, विपी राजमार्ग हुँदै महाभारत गाउँपालिका जाने सडक खण्डको स्तर उन्नती त्यहाँ जनताहरु जिल्ला सदरमुकाम आउन जान र त्यहाँ भएका उत्पादनहरु बजार सम्म ल्याउन सहजता, खानीखोला र महाभार गाउँपालिकाको विद्युतीकरण कार्य शुरु भएको आगामी वर्ष पुरा हुने, रोशी, तिमाल खानेपानी आयोजना सम्पन्न गरी एक घर एक धारा जडान कार्य तिव्र रुपम अघि बढेको छ । लिफट सिँचाई आयोजना, खेति योग्य जमिनमा उत्पादन बढाउने, पर्यटन क्षेत्रको विकास, भिमचुलीको भिमटावर निर्माण, तामाङ संग्राहलयको निर्माण, त्यस्तै गरी महाभारत गाउँपालिकामा १५ शैयाको अस्पताल बन्दै छ । चौरीदेउराली गाउँपालिकामा अस्पताल निर्माण सम्पन्न भयो । प्रभा वहुमुखि क्याम्पस कानपुर, जनक क्याम्पस एक विद्यालय एक नर्स कार्यक्रम लागु, काभ्रेको १३ वटै पालिकामा खेलकुद विकासको पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिएको छ ।
असारे विकासे प्रवृति हावि छ अब विकासको अवधारणा परिवर्तन गरी दिगो लक्ष्य प्राप्तिका योजना निर्माणमा किन ढिलाई ? यहाँले जित्नु भयो भने के गर्नु हुन्छ ?
यहाँले उठाउनु भएको जिज्ञासामा म सहमत छु । खरिद ऐन परिवर्तन भई सकेको छ । केहि अझ सुधार गर्न बाँकी छ । ससाना टुक्रे योजना निर्माण गरी बजेट विनियोजन गर्दा भौतिक पूर्वाधार सडक क्षेत्रमा बढि समस्या देखिएका छन् । त्यसलाई सुधार गर्दै जानु आवश्यक छ । टेण्डर आह्वान गरी निर्माण व्यवसायीलाई कार्य गर्न दिएपछि काम नगरेमा ठेक्का रद्ध गर्न कठीन छ । यस्ता नियमलाई परिमार्जन गरी असारे विकासे प्रवितिलाई अन्त्य गर्नु छ । हरेक वर्षको जेष्ठ मसान्त भित्र योजनाका कार्य सम्पन्न गर्नुपर्छ । भुक्तानी समेत गरिसक्ने प्रवन्ध गर्नुपर्छ । शिक्षा, स्वास्थ्य क्षेत्रको पहुँच विस्तार, भौतिक पूर्वाधार निर्माणमा दिगो लक्ष्य हाँसिल गर्ने गरी विज्ञटोलीबाट गर्न जरुरी छ । भ्रष्टाचार नियन्त्रण गरी शुसासन कायम गरी जनताको जीवन बदल्न सक्ने आधारतय गर्नु छ ।