- प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
२०७४ साल मंसिर २१ गतेको क्षेत्र नं. १ (ख) प्रदेश प्रतिनिधि सभा र प्रदेश सदस्य उम्मेदवार सदस्यको निर्वाचनमा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको चन्द्र लामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को (ख) मा दोस्रो पल्ट टिकट प्राप्त गरी निर्वाचनको मैदानमा उत्रनु भएको छ । ५ दलिय गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका तिर्थ लामासँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नेकपा एमाले काभ्रेका युवा नेता एवं काभ्रेका उपाध्यक्ष समेत रहेका चन्द्र लामा यस अघि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनुभयो । कुन पार्टी कोसँग गठवन्धन गर्छ चुनावी मैदानमा उत्रन्छ त्यो गौण कुरा भएको बताउनु हुन्छ । जनताहरुले हिजो गरेका राम्रा कार्य, राष्ट्र हितका सवालमा उठाएका मुल मुद्दा, विकास र समृद्धिका दुरगामी योजना जनताका जनजीविकाका मुख्य सवालहरु क्रमागत रुपमा पुरा गर्ने पार्टी नेकपा एमाले भएकाले देशको समग्र विकास गरी समृद्ध नेपाल बनाउने संवाहक नै एमाले पार्टी भएको तर्क गर्नुहुन्छ चन्द्र लामा । उहाँसँग आगामी मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा रेडियो एविसी एफ.एम. मा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा चुनाव मैदानमा उत्रनु भएको छ , चुनावी एजेण्डा के छन् ?
देश विकासको मुल फुटाउने गरी कार्य गर्ने पार्टी नेकपा एमाले हो । केही दिनमै चुनावी घोषणापत्र तयार हुँदै छ । मुल प्रश्न भनेको जनताहरुको जनजीविका, शान्ति, अमन चयान र सुशासन नै हो । जनताका असंख्य समस्याहरुको समाधान गर्ने सेवा सुविधा छिटो छरितो प्रवाह गर्ने हो । मुल दायित्व देश र जनतालाई शिरमा राखेर कार्य गर्नु नितान्त आवश्यक छ । “मैले आफ्नो क्षेत्रको ३३ वटा वडाको भुगोललाई जनताहरुको विकासको चाहनालाई सम्बोधन गर्ने क्रममा समानुपातिक बजेट विनियोजन गरेर मैले कार्य गरेको छु बाँकी रहेको योजनाहरु पुरा गर्न म प्रतिवद्ध छु । मैले विगतमा भनेको थिएँ सकेसम्म जनहितको कार्य गर्छु । मेरो व्यक्तिगत लाभको लागि केही कार्य गर्दिन भनेको थिएँ । काभ्रेली जनताहरुले विगतमा पनि विश्वास गर्नुभयो । अब पनि गर्नु हुन्छ भन्ने विश्वास लिएको छु । शिर निहुरिने गरी कार्य गरेको छैन सधैँ जनताको सेवकको रुपमा कार्य गर्ने छु । ”
कांग्रेस काभ्रेका जिल्ला सभापति समेत रहेका तिर्थ लामा तपाईको चुनावी प्रतिस्पर्धी हुनुहुन्छ । उहाँसँग ५ दलीय गठवन्धनको तागत छ । तपाईलाई जित्न फलामको चिउरा सावित छ भन्नेलाई तपाइँ के भन्नु हुन्छ । यहाँको जित्ने आधार के छ ?
जनपक्षीय उम्मेदवार भयो की भएन् । जनताका सुख, दुःखमा कसले साथ दियो, जनताका विकासका चाहनाहरुलाई कतिको सम्बोधन गर्न सक्यो । गुणस्तरीय खानेपानी, सिचांई, मोटर बाटोको स्तरउन्नती, सडक कालोपत्रे गर्ने देखि निर्माण गर्ने कार्य काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ (ख) को ३३ वटा वडामा गर्नुपर्ने जनताका विकासका आवश्यकतालाई साच्चै परिपूर्ति गर्ने काम कसले गरेको छ । त्यसको मुल्याङ्कन जनता जनार्जनले गर्नु भएकै छ भन्ने मलाई लाग्छ । कुन पार्टीले को को सँग साँठ गाँठ गर्छ कति दलीय गठवन्धन गर्छन् त्यसमा कुनै खालको चासो र चिन्ता भएको विषय हैन भन्ने म ठान्दछु । मेरो जित्ने आधार भनेकै जनताका विचमा गरेको जनपक्षीय कार्य नै हो । हाम्रो पार्टीले लिएको नीति, सिद्धान्त, विचार, देशप्रतिको जिम्मेवारीपन, दिगो विकास लक्ष्यका योजना देशलाई अग्रगामी दिशामा अघि बढाउने पार्टीका अध्यक्ष केपी ओलीको दृढ संकल्प नै चुनाव जित्ने आधार हो ।
व्यवस्था परिवर्तन भयो जनताको अवस्था परिवर्तन भएन । एमाले, कांगे्रस, माओवादी ठूला पार्टीको मुल नेतृत्व ३० औँ वर्ष सम्म उहि हुने पटक पटक सांसद हुने, प्रधानमन्त्री हुने, गुट उपगुटको राजनीतिले पार्टी नै क्षत विक्षत हुने, राजनीति सत्ताको लागि मात्र गर्ने भयो भनेर कार्यकर्ता र जनता नै आक्रोसित भएका छन् । यसमा तपाईको धारण के छ ? अब प्रधानमन्त्री सिधै जनताले चुन्न पाउनुपर्छ भनिरहेका छन् नि ?
विगत र वर्तमानलाई नियाल्न बहुदल प्राप्त पछि देशमा भएको विकासको सूचकलाई मापन गर्नुपर्छ । हिजोको दिनमा शिक्षा, स्वास्थ्यको पहुँच, भौतिक पूर्वाधारको विकासको अवस्थालाई नियाल्नु पर्छ । आजको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको समग्र विकासमा धेरै परिवर्तन आएको छ । जन अपेक्षा अनुसार नभए पनि क्रमागत सुधार भएकै छ । कमी कमजोरी सुधार गर्दै देशलाई आत्मनिर्भरको बाटोमा लग्ने ग्रामिण अर्थतन्त्र बलियो बनाउने गरी नीति कार्यक्रम ल्याउनु पर्छ । लोकतान्त्रीक गणतन्त्र स्थापना पछि विकासले गति लिएको छ । तिब्र विकासको गति लिन राजनीतिक स्थायित्व आवश्यक छ । दलगत स्वर्थको कारण केहि समस्या अएका छन् । यी कमजोरीहरु सुधार गर्नुपर्छ । जहाँसम्म प्रमुख राजनीतिक पार्टीका मुल नेतृत्वको सवाल छ । बहुदल लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि मुल नेतृत्वले खेलेको भूमिकालाई कम आक्नु हुन्न । अहिलेको निर्वाचनमा पनि युवा पुस्तालाई समावेस गरेर नेकपा एमाले पार्टी अघि बढेको छ । नेतृत्व युवा पुस्तामा विस्तार हस्तान्तरण गर्ने सवालमा बहस उठेको छ । जहाँसम्म जनताहरुले सिधै प्रधानमन्त्री चुन्ने सवाल संविधान संसोधन गर्नुपर्छ त्यसको लागि दुई तिहाई आवश्यक पर्छ । जनअपेक्षा बढ्दै जाँदा संविधान संसोधन गरी सो प्रणाली अगाँल्ने बेला आउन सक्छ । उक्त कुरा एउटा कुनै दलले चाहेर मात्र सम्भव छैन ।
अन्त्यमा केहि भन्नु छ की ?
मलाई निर्वाचित गरेर पठाए पछि मैले मेरो बुद्धि विवेकले भ्याए सम्म जनताहरुको सेवा गरेकै छु । १० वटा पक्की पुल निर्माण, भौतिक पूर्वाधार सडक कालोपत्रे गर्ने देखि लिएर पिपलटारको खेल मैदान निर्माण, कुशादेवी दाहालटार सडक कालोपत्रे गर्ने, बनेपा-पनौती सडक खण्डको पिच गर्ने , खोपासी तालढुङ्गा बाटो निर्माण, फलामे साँघुमा अस्पताल निर्माण, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार शैक्षिक गुणस्तर बृद्धि गर्ने सवालमा मैले कार्य गरेको छु । विकास निर्माणका बाँकी कार्य पुरा गर्न जनताहरुले अवसर दिनुहुने छ भन्ने विश्वास लिएको छु । सुशासन पारदर्शीता सहितको विकास गर्ने अवसर दिनुहुन काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को (ख) का जनताहरुमा हार्दिक अपिल गर्दछु ।