अंग्रेजी महिनाको नोभेम्बर १४ तारिखका दिन अर्थात् अधिल्लो हप्ता मधुमेह दिवस मनाइयो । नेपालमा पनि विगत केही वर्ष देखि विभिन्न कार्यक्रमको आयोजना गरी मधुमेह दिवस मनाउँदै आएको छ । के हो मधुमेह ? तुलनात्मक रुपमा इन्सुलिनको कमी हुँदा वा ठ्याप्पै उत्पादन नहुँदा वा कोष तहमा इन्सुलिनको काममा अवरोध हुँदा यसको परिणाम स्वरुप रगतमा चिनीको मात्रा बढ्ने समस्यालाई नै मधुमेह भनिन्छ । त्यसैले यो एक प्रकारको जीर्ण खालको मेटाबोलिक समस्या हो । मधुमेह प्रभावित व्यक्तिको शरीरमा बोसो र प्रोटिन टुक्रिने क्रिया समेत प्रभावित हुन्छ । मधुमेहले शरीरको हरेक अंगलाई असर पु¥याउँछ । लामो समय देखिको मधुमेहले आँखालाई बढ्ता असर गर्दछ । मोतिबिन्दु चाँडै हुनु, आँखाको पर्दा (रेटिना) मा समस्या आउनु र अन्धोपना हुनु यस्तै केही उदाहरण हुन् । यसले मुटु र रक्तनलीमा असर गरी हृदयाघात, रक्तचाप र मुटु दुख्ने समस्या निम्त्याउन सक्छ । मधुमेहले गर्दा मृगौलाको कार्य क्षमतालाई असर गरी बढी मात्रामा प्रोटिनको खेर गराउँछ । यसैकारण जिउ सुन्निने हुन सक्छ । बिस्तारै मृगौलालाई काम नलाग्ने गराउँछ । मधुमेहले मस्तिष्क र स्नायु प्रणालीमा असर गरी स्मरण शक्ति, संवेदनाको कमीको कमी हुने, रिंगटा लाग्ने, पक्षघात हुने हुन सक्छ । मधुमेह किन हुन्छ ? हामीले खाएको खाना पेट (आमाशय) मा पुगेपछि बिस्तारै पाचन हुन थाल्छ र ग्लुकोजमा परिणत हुन्छ । यही ग्लुकोज आन्द्राबाट सोसिएर रगत मार्पmत् शरीरको विभिन्न कोषमा पुग्छ । ग्लुकोजलाई कोषमा पु¥याउन प्यान्क्रियाजबाट उत्पादित हुने इन्सुलिनले सहयोग गर्दछ । कोषले ग्लुकोजलाई शक्तिमा परिणत गर्दछ । मधुमेह समस्याले प्रभावित हुँदा कोषले रगतमा रहेको ग्लुकोज लिन सक्दैन । यसले गर्दा कोषले पर्याप्त शक्ति प्राप्त गर्दैन भने रगतमा पनि चिनीको मात्रा बढ्न जान्छ । रगतमा निश्चित मात्रामा चिनी हुन्छ । यदि यो मात्रा नाघ्यो भने पिसाबमा पनि ग्लुकोज देखिन थाल्छ । यसैले पनि पहिले पहिले मानिसले खुल्ला ठाउँमा पिसाब गर्दा कमिला भन्केको आधारमा गुलियो रोग (मधुमेह) लागेको शंका गरिन्थ्यो । मधुमेहका प्रकार पहिलो प्रकारको मधुमेहबाट प्रभावित व्यक्तिमा प्यान्क्रियाज नामक ग्रन्थिको इन्सुलिन उत्पादन गर्ने कोष नष्ट भइसकेका हुन्छन् । त्यसैले पूर्णरुपमा इन्सुलिनको उत्पादन हुँदैन । यस्तो खालको मधुमेह कलिलो उमेर (युवावस्था) मै देखा पर्दछ र वंशाणुगत खालको हुन्छ । यस्तो खालको मधुमेहलाई रोक्न सकिँदैन । उपचारको क्रममा इन्सुलिनकै जरुरत पर्दछ । दोश्रो प्रकारको मधुमेहीमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन वा कोष तहमा अवरोध हुने हुनाले इन्सुलिनको कार्य क्षमतामा कमी आउँछ । वयस्क उमेरकी तथा मोटोपना भएकी महिलामा यस्तो खालको मधुमेह देखा पर्दछ । यसको उपचार औषधिसेवन एवं जीवनशैलीको परिवर्तनबाट गर्न सकिन्छ । मधुमेह प्रभावित व्यक्तिको खानपिन तथा उपचार मधुमेह पूर्ण रुपमा निको पार्न सकिँदैन तर उचित बानी व्यहोरा तथा उपचारबाट मधुमेहलाई नियन्त्रणमा राख्न तथा यसबाट हुने जटिलता कम गर्न सकिन्छ । नियमित आहार, व्यायाम, व्यक्तिगत स्वास्थ्यको हेरचाह, चिकित्सकको सल्लाहमा इन्सुलिन वा औषधिको सेवन गर्नु पर्दछ । मधुमेह प्रभावित व्यक्तिले हिँड्ने बानी, व्यायाम गर्ने बानी बसाल्नु पर्दछ । शारीरिक व्यायामले गर्दा शरीरका कोषले ग्लुकोजको खपत बढाउने हुनाले रगतमा रहेको ग्लुकोजको मात्रा घटाउँछ । एक अध्ययन अनुसार ६ किमि प्रतिघण्टाको दरले आधा घण्टा हिँडेको खण्डमा १३५ क्यालोरी खर्च हुन्छ भने साइकल चलाएको खण्डमा २०० क्यालोरी खर्च हुन्छ । मधुमेहका लागि योगाभ्यास गर्नु राम्रो मानिएपनि भोको पेटमा बिहानै देखि व्यायाम गर्दा प्रतिकुल असर पर्न सक्छ । मधुमेह प्रभावित व्यक्तिलाई उपयुक्त खाना र व्यायाम अत्यन्त आवश्यक छ । निश्चित समयमा खाना खाने बानी बसाल्नु पर्दछ । मधुमेह प्रभावित व्यक्तिले हरियो सागपात, काँक्रो, गोलभेंडा, प्याज, लसुन, कागतीको बढ्ता सेवन गर्न सकिन्छ । चना वा गहुँको पिठोबाट बनाइएका रोटी फाइदाजनक हुन्छ । मेठी, करेलाले फाइदा पु¥याएपनि यी परिकार मात्र खाएर जीवनलाई कष्टकर बनाउनु हुँदैन । नरिवल, काजु लगायतका ड्राई फ्रुट्स, मासु, अण्डा, मरमसला ठिक्क मात्रामा मात्र खानु पर्दछ । नुन, चिनी, घ्यू, तेल, दुग्धजन्य पदार्थबाट बनाइएका चीज पनीर लगायतका परिकार, मेवा, मिठाई, आइसक्रिम, चकलेट सकेसम्म खानु हुँदैन । मधुमेह प्रभावित व्यक्तिले थप के गर्नुपर्दछ ? मधुमेह प्रभावित व्यक्तिले नियमित रुपमा रगतमा चिनी, बोसो (कोलेस्टेरोल), मृगौलाको काम गराई बारे रगत परीक्षण गराउनु पर्दछ । समय समयमा रक्तचाप, आँखा तथा मुटुको परीक्षण गराउनु पर्दछ । मधुमेहले नशामा असर गरेको खण्डमा पैतालामा घाउ चोट लागेको थाहा नै हुँदैन यसको हेक्का राख्नुपर्दछ । लामो समय भोकै बस्ने वा ब्रत बस्ने क्रममा कहिलेकाहीँ शरीरमा रगतको मात्रा स्वाट्टै घटेर जटिल स्थिति आउन सक्छ । यस्तो बेला तुरुन्तै चकलेट वा ग्लुकोजको पाउडर खानु पर्दछ । मधुमेह प्रभावित व्यक्तिले धुम्रपान तथा मद्यपान गर्नुहुँदैन । चिकित्सकको निगरानीमा रहेर नियमित औषधि वा इन्सुलिन लिनुपर्ने हुन्छ ।