बोलीचालीको भाषामा चिल्लो भनिने गरेको उच्च कोलेस्टरोलको समस्यालाई मेडिकल भाषामा हाइपरकोलेस्टेरोलेमिया भनिन्छ । मुटु सम्बन्धी समस्या भएका मध्ये दुई तिहाईमा उच्च कोलेस्टेरोलको समस्या हुने गरेका कारण ३० वर्षको उमेरपछि नियमित अन्तरालमा कोलेस्टेरोलको परीक्षण गर्नु बुद्धिमानी हुन्छ । कोलेस्टरोल शरीरको हरेक कोषको महत्वपूर्ण तत्व हो । यो जम्दाखेरि मैन जस्तै हुन्छ । शरीर भित्रै उत्पादन हुने कोलेस्टेरोल शरीरको राम्ररी संचालनको लागि आवश्यक छ । कोलेस्टेरोल उत्पादनको लागि आवश्यक कच्चा पदार्थ खानामा भएको चिल्लो पदार्थबाट प्राप्त हुन्छ । शरीरमा राम्रो र नराम्रो खालको गरी दुई थरिको कोलेस्टेरोल हुन्छ । बढी घनत्व (हाई डेन्सिटी लिपोप्रोटिन) राम्रो खालको तथा कम घनत्व (लो डेन्सिटी लिपोप्रोटिन) नराम्रो खालको । नराम्रो खालको कोलेस्टेरोलले रक्तनलीमा अवरोध ल्याउँछ भने राम्रो खालको कोलेस्टेरोलले खराब कोलेस्टेरोललाई सफा गर्दछ । अत्याधिक बोसो तथा चिल्लोयुक्त पदार्थको सेवन र व्यायामको अभावले रगतमा कोलेस्टेरोल (बोसो) को मात्रा बढ्न थाल्छ । शरीरमा कोलेस्टेरोल उत्पादनको लागि आवश्यक कच्चा पदार्थ बढी थुप्रिन थाल्यो वा आवश्यकता भन्दा बढी मात्रामा कोलेस्टेरोल उत्पादन हुन थाल्यो भने रक्तनली (धमनी) को भित्तामा जम्मा हुन थाल्छ । यसरी रत्तनलीमा अतिरिक्त कोलेस्टेरोल जम्मा हुनाले रगत बग्ने बाटो बिस्तारै अवरुद्ध हुन्छ । कथंकदाचित मुटुमा रगत पु¥याउने नली साँगुरियो भने हृदयाघात (हर्ट अट्याक) हुन जान्छ । त्यसैगरी मस्तिष्कसम्म रगत लैजाने नली अवरुद्ध हुँदा मस्तिष्काघात (पक्षाघात) समेत हुन्छ । छोटकरीमा रगतमा कोलेस्टेरोलको मात्रा जति बढी हुन्छ, मुटुको रोग र पक्षाघातको जोखिम पनि त्यति नै बढी हुन्छ । आजकालको व्यस्त दैनिकी, खानपानको गलत, तनावपूर्ण वातावरण, व्यायामको अभावले उच्च कोलेस्टेरोलको कारण हुनसक्छ । परिवारमा कसैलाई एन्जाइना, हृदयाघात भैसकेको वा मुटुको रोग छ भने खराब कोलेस्टेरोलको मात्रा कम हुनु राम्रो हुन्छ । त्यसैगरी मुटु रोगी, मधुमेहका रोगी, उच्च रक्तचाप भएका तथा धुम्रपान गर्नेको कोलेस्टेरोलको मात्रा घटाउनु राम्रो हुन्छ । उच्च कोलेस्टेरोलको समस्या तथा यसको परिणतिले जुनसुकै उमेरकोलाई असर पु¥याउन सक्दछ । सानै उमेरदेखि कोलेस्टेरोलको मात्रा नियन्त्रणमा राख्नु राम्रो हुन्छ । र, शरीर पातलो हुँदैमा कोलेस्टरोलको समस्या नहुने होइन । दैनिक आधा घण्टा व्यायाम तथा खानपानमा सजगताबाट कोलेस्टेरोलको स्तर घटाउन सकिन्छ । र, धुम्रपान छोडें भन्ने व्यक्तिले चुरोटको तलतल मेटाउन पान, सुपारी, गुट्खा (जर्दा भएको वा नभएको) खाने गरेको छ । यी सुर्तीजन्य पदार्थहरु पनि स्वास्थ्यको दृष्टिले उत्तिकै जोखिमपूर्ण छन् । स्वस्थकर खाना, शारीरिक सक्रियता, शारीरिक तौलमा नियन्त्रण, प्रशस्त फलपूmल तथा मधुमेहका विरामीले चिनी सुगर नियन्त्रणबाट कोलस्टेरोल नियन्त्रण ल्याउन सकिन्छ । होइन भने कोलेस्टेरोल घटाउने औषधिको सेवन गर्नुपर्ने हुन्छ । कोलेस्टेरोल र खानपान पारिवारिक खाना स्वस्थ्यकर हुनु पर्दछ । सगोलमा खाइने खानाको प्रकृति उस्तै हुने भएकोले पनि सजग हनुपर्दछ । ६ जनाको परिवारलाई एक महिनामा ३ लिटर भन्दा बढी तेल चाहिन्छ भने परिवारजनमा कोलेस्टेरोलको समस्या उत्पन्न हुनसक्छ । शाकाहारी नै भएपनि दूध, दही, घ्यू बढी मात्रामा हानीकारक साबित हुन्छ । सबै खाले मिठाईले ट्राइग्लाइसेराइड बढाउँछ । बनस्पति घ्यू बढ्ता हानीकारक हुन्छ । त्यसैगरी ट्रान्सफ्याटी एसिड हुने घ्यू मख्खन तथा तेलको सेवन पनि घटाउनु पर्दछ । वनस्पति घ्यू भन्दा सोयाबिन, सूर्यमुखी वा मकैको तेल राम्रो हुन्छ । मांसाहारीले अण्डा खानु छ भने पहेँलो भन्दा सेतो भाग चाहिँ स्वस्थ्यकर हुन्छ । मांसाहारीका लागि अण्डा भन्दा माछा राम्रो, माछा तथा अन्य मासु भन्दा छाला नभएको कुखुराको मासु स्वास्थ्यवद्र्धक हुन्छ । अनि भुटेको, पोलेको, तारेको भन्दा उसिनेको तथा झोल हालेको परिकार राम्रो हुन्छ । मैदाबाट बनेका बस्तुको सेवन कम गर्नुपर्दछ । प्रशस्त मात्रामा ताजा फलपूmल तथा सागपात खानुपर्दछ । यसले रक्तनलीमा नराम्रो कोलेस्टेरोलको प्रभावलाई पनि कम गर्दछ ।