गर्भावस्थाको क्रममा डिम्बवाहिनी नलीमा शुक्रकीटले डिम्बलाई निषेचित गरेको केही दिन पछि पाठेघरमा आई बस्दा हल्का रगत देखिनु स्वभाविक भएपनि गर्भावस्थामा अन्य कुनै बेलामा रगत देखा पर्नु राम्रो मानिँदैन । त्यसो त गर्भावस्थाको शुरुवाती तिर रगत देखापर्नाको कारण र गर्भावस्थाको मध्य वा अन्त्यतिर रगत देखा पर्नाको कारण भने फरक फरक हुनसक्छ । गर्भावस्थाको शुरुवातीतिर गर्भपतन भएर, नलीमा रहेको गर्भ फुटेर वा मोलर खालको असामान्य गर्भ रहेर रक्तश्राव हुन्छ भने गर्भावस्थाको मध्य वा अन्त्यतिर साल गलत ठाउँमा बसेर वा सुत्केरीपूर्व साल छुट्टिएर असामान्य रक्तश्राव हुनसक्छ । यसरी गर्भावस्थाको कुन महिनातिर रक्तश्राव भएकै आधारमा यसको कारण अनुमान लगाई वा निदान गरि सोही मुताबिक व्यवस्थापन गरिन्छ । नियमित वार्ड राउण्ड लिने क्रममा प्रसुतीपूर्व कक्षमा छिर्नै लाग्दा ड्युटीमा रहेका जुनियर डाक्टरहरु हस्याङफस्याङ गर्दै एउटी सुत्केरी व्यथा लागेकी महिलालाई ट्रलीमा राख्दै अपरेशन कक्षमा सार्न हतारिँदै थिएँ । कारण बुभ्mदा साल पाठेघरको मुखतिर बसेको आशंका गरिएको, पाठेघरको मुख पनि खासै नखुलेको र गर्भेशिशुको मुटुको चालमा पनि गडबडी आउन थालेको कारण यथाशिघ्र सिजेरियन अपरेशन गरि डेलिभरी गर्ने निर्णय गरिएको जवाफ पाएँ । करिब एक घण्टापछि अपरेशन पश्चत् आमा र नवजात शिशु दुवै स्वस्थ रहेको थाहा पाएँ । र, साल पनि छुट्टिएको प्रमाण भेटिएको जानकारी पाएँ । गर्भावस्थामा साल असामान्य तवरले पाठेघरको तल्लो भाग वा मुखतिर बसेको खण्डमा सुत्केरी व्यथा लाग्न थालेदेखि साल छुट्टिएर रगत बग्न थाल्ने समस्या आउँछ । यस केसमा पनि शायद यस्तै भयो, धन्न समयमै उचित निर्णय लिएका कारण आमा र बच्चा दुवै राम्रो भयो । गर्भावस्थाको १३ देखि २८ हप्ता सम्मको अवधीलाई मध्य त्रैमासिक र गर्भावस्थाको २९ हप्ता देखि ४० हप्ता सम्मको अवधीलाई तेश्रो त्रैमासिक मानिन्छ । गर्भावस्थाका अन्य त्रैमासिकमा भन्दा तेश्रो त्रैमासिकदेखि सुत्केरी व्यथा लाग्नु अगाडि सम्म पृथक खालका समस्याहरु आउन सक्छ । बच्चा उल्टो वा गलत तरिकाले बस्नु, सुत्केरी बेथापूर्व पानी फुट्ने समस्या, महिना नपुग्दै व्यथा लाग्ने समस्या, गर्भावस्था लम्बिने समस्या जस्तै प्रसुती सेवामा एकाध पटक आईपर्ने समस्या हो – गर्भावस्थाको मध्य वा अन्त्यतिर रक्तश्राव हुने समस्या । गर्भावस्थामा मध्य वा अन्तिमतिर रगत बग्नाका कारण गर्भवती बेलाको दोश्रो चरण तिर साल गलत ठाउँमा बस्नाले तथा सुत्केरी पूर्व साल छुट्नाले अधिक रक्तश्राव हुनसक्छ । साल कहाँ बसेको छ भन्ने कुरा भिडियो एक्सरे (अल्ट्रासाउण्ड) बाट थाहा पाउन सकिन्छ । गर्भावस्थाको दोश्रो त्रैमासिकमा कथंकदाचित साल पाठेघरमा ठिक ठाउँमा बसेको छैन वा पाठेघरको तल्लो भाग र मुख तिर आई बसेको छ भने रगत बग्न सक्दछ । यसरी साल बेठिक ठाउँमा रहि रक्तश्राव हँुदा पहिलो चोटी थोरै मात्रामा भएपनि पछि अत्याधिक मात्रामा हुनसक्छ । साल गलत ठाउँमा रहेको थाहा पाउने बित्तिकै नियमित अन्तरालमा भिडियो एक्सरे दोहो¥याइरहनु पर्दछ। त्यसैगरी तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भवती जाँच गराउनु बुद्धिमानी हुन्छ । गर्भवती महिलाको रक्तसमुह अनुसारको ३—४ पोका रगतको संचय गरि राख्नुपर्दछ । साल बेठिक ठाउँमा रहेको महिलाले अनुभवी स्वास्थ्यकर्मीको निगरानीमै सुत्केरी गराउनु पर्दछ । यसैगरी व्यथा लाग्नु ठिक अगाडि वा लाग्ने बित्तिकै अत्याधिक रक्तश्राव हुनुको कारण चाहिं बच्चा जन्मिनु अगाडि नै पाठेघरबाट साल छुट्नाले हो । गर्भावस्थामा उच्च रक्तचाप हुँदा, पेटमा चोट पुग्दा, पाठेघरमा पानी धेरै हुँदा, जुम्ल्याहा बच्चा हँुदा यस्तो परिस्थिति आउन सक्छ । यस्तो अवस्थामा धेरैजसोलाई सिजेरियन अपरेशन गरेर बच्चा निकाल्नु पर्ने अवस्था आउने हुनाले अस्पतालमै सुत्केरी गराउनु पर्दछ । सुत्केरी व्यथाका बेला बच्चा जन्मि सकेपछि सालनाल र अन्य झिल्ली पाठेघरबाट छुट्टिने एवं निस्कने क्रममा थोरै रगत बग्न सक्छ । तर सुत्केरी पश्चात पाठेघर राम्ररी नखुम्चिएमा, पाठेघर भित्र सालका टुक्रा वा झिल्ली बाँकी रहेमा, सालनाल छुट्टिनु अगाडि बल गरि तानेमा अत्याधिक रक्तश्राव हुन सक्छ । यसको अलावा योनीद्वारको भित्ता, पाठेघरको मुख वा योनीद्वार च्यातिएमा, सुत्केरी महिलामा रगत जम्ने खराबी भएमा, रक्त अल्पता भएमा, पाठेघर वा योनी मार्गमा कहिं संक्रमण भएमा पनि बढि रक्तश्राव हुन सक्छ । यी कारणहरु अनुसार नै कारक तत्वको उपचार गर्नुका साथै सलाइन पानी र रगतको जरुरत पर्न सक्दछ । गर्भ तुहिने समस्या नियमित रुपमा भइरहनुपर्ने महिनावारी रोकिनुलाई गर्भाधान हुनुको प्रमुख लक्षणका रुपमा लिइन्छ । गर्भ आएपछि महिनावारी रोकिने क्रिया सुत्केरी पछिको केहि महिना सम्म जारी रहन्छ । तर कसैकसैमा गर्भाधानको क्रममा शुक्रकिट र डिम्बको मिलनपछिको निषेचित डिम्ब पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तश्राव देखिनु बाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिंदैन । विशेषतः २८ हप्ता अगाडि वा पछाडि गरी गर्भावस्थामा रगत बग्ने कारण फरक फरक हुन्छ । विकासोन्मुख देशहरुमा गर्भावस्थाको २८ हप्ता सम्ममा (विकसित देशहरुमा २० हप्ता) पाठेघर भित्रको भ्रुण (गर्भे शिशु) तथा अन्य वस्तुहरु पाठेघरको मुख हुँदै बाहिर आउने प्रक्रियालाई गर्भ तुहिनुका रुपमा लिइन्छ । डिम्ब वा शुक्रकिटमा वंशाणुगत समस्या भएमा, पाठेघरमा भ्रुण बस्ने वातावरण अनुकुल नभएमा, पाठेघरमा मासु बढेमा, जनेन्द्रिय भित्र विषाणुजन्य संक्रमण भएमा, गर्भावस्थाको शुरु तिर अधिक ज्वरो आउने कुनै संक्रमण भएमा गर्भावस्थाको पहिलो त्रैमासिक भित्र योनीमार्गबाट अत्याधिक रगत बग्ने (गर्भ तुहिने) हुन सक्छ । यसैगरी पाठेघर बाहिर डिम्बवाहिनी नली वा अन्य भागमा गर्भ रहँदा पनि कुनैबला अत्याधिक रक्तश्राव हुन सक्छ । यसैगरी सग्लो गर्भको ठाउँमा अंगुरको दाना जस्तै बन्ने खालको मोलर गर्भ रहँदा पनि गर्भावस्थाको शुरु तिर वा मध्यतिर असामान्य रक्तश्राव हुनसक्छ । सारांशमा, गर्भावस्थामा रगत बग्ने समस्यालाई हल्का तवरले लिनु हुँदैन । सम्बन्धित चिकित्सकसँग परामर्श लिई आवश्यक जाँचपड्ताल गराउनु बुद्धिमानी हुन्छ । समयमै आवश्यक उपचार गराएको खण्डमा आमा र बच्चा दुवैका स्वास्थ्य राम्रो हुन्छ ।