बाँझोपन हुनाको समग्र कारण खोतल्दा २० देखि ४० प्रतिशतमा महिलामा, उत्तिकै प्रतिशतमा पुरुषमा खराबी भएर तथा १० प्रतिशतमा महिला पुरुष दुवैमा खराबी भएर र १० प्रतिशतमा बिना कारण हुन सक्छ । तर महिलाहरुकै कारणले बाँझोपन हुनसक्ने अवस्थाहरु र त्यसका उपचारात्मक प्रक्रियाहरु के, कस्तो हुनसक्छन् थाहा पाईराख्नु उचित हुन्छ । महिलाजन्य बाँझोपनका कारणहरु महिलाको उमेर ३५ वर्ष भन्दा बढी, अपर्याप्त सहवास, मासिक चक्रमा गर्भ रहने समयको अज्ञानता, यौन सम्पर्क राख्दा हुने अधिक पिडा, निसन्तानका कारण अत्याधिक चिन्ता, उदासीपन, शुक्रकिटलाई असर पु¥याउने (योनीमार्ग चिप्लो बनाउन प्रयोग गरिने) जेल वा क्रिमको प्रयोगका कारण पनि गर्भ रहन नसकिरहेको हुन्छ । यसको अलावा डिम्बाशयजन्य तत्वहरु, पाठेघरको मुखमा तथा योनीमा अन्तर्निहित खराबी, पाठेघर तथा डिम्बवाहिनी नलीमा खराबी, इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको कार्यमा खराबी तथा इन्डोमेट्रिओसिस महिलाजन्य बाँझोपनका कारणहरु हुन् । कसरी पत्ता लाग्छ ? महिलाको उमेर, विवाहित समयावधी, पहिले बच्चा पाइसकेकी छ, छैन एवं यौनरोग, मधुमेह एवं स्त्री जनेन्द्रिय वरिपरि कुनै संक्रमण, तल्लो पेटमा गरिएको कुनै शल्यक्रियाको जानकारी महत्वपूर्ण हुन्छ । यसका साथै महिलाहरुमा महिनावारी बारे, परिवार नियोजनको अस्थायी साधनको प्रयोग तथा यौन सम्पर्कका बेला अधिक पिडा हुने तथा यौन सम्पर्कमै रुचि छ, छैन जानकारीबाट समस्याको आँकलन हुन्छ । यसैगरी अधिक मोटोपना वा दुब्लोपना, यौनाङ्ग वरिपरि तथा काखीमा रौंको वितरण, यौनाङ्गहरुको विकास, अन्तश्राव ग्रन्थिको गडबडीका कारण साना तथा अपरिपक्व धेरै डिम्ब उत्पादन हुने (बन्ने), ओंठ गालामा अधिक रौं पलाउने तथा स्तनबाट असामान्य श्रावको समस्यासँग बाँझोपन सम्बन्धित हुनसक्छ । महिलामा कुनैपनि बेला एउटा भन्दा बढी खराबीका कारण बाँझोपन भएको हुनसक्छ । ल्याब परीक्षणको हकमा नियमित रुपमा सामान्य तरिकाले डिम्ब निष्काशन हुन्छ, हँुदैन, दुवै तर्पmको डिम्बवाहिनी नली खुल्ला छ, छैन, पाठेघरको भित्री तहमा मासु पलाएको वा टाँसिएको, पाठेघरको बनावटमा कुनै जन्मजात खराबी तथा पाठेघरको मुख साँगुरिएको पत्ता लगाउन अल्ट्रासाउण्ड, हिस्टेरोसाल्पिङ्गोग्राफी वा ल्याप्रोस्कोपीको आवश्यक पर्दछ । यसको अलावा महिलामा रगत जाँचबाट मधुमेह, थाइरोइड ग्रन्थिको कामको गडबडी, डिम्ब उत्पादन गर्ने, परिपक्व बनाउने एवं निष्काशन गर्ने हर्मोनहरुमा गडबडी पत्ता लाग्छ । साथै स्त्री जनेन्द्रियको माथिल्लो भाग तथा योनीमा कुनै संक्रमण छ, छैन योनीश्रावको जाँचबाट पत्ता लाग्छ । महिलाजन्य बाँझोपनको उपचार पुरुष पार्टनरको वीर्य जाँच सामान्य छ र महिलाको योनीमार्ग, पाठेघरको मुख, पाठेघरको बनावट (भित्री तह) एवं डिम्बवाहिनी नलीमा कुनै समस्या छैन भने सम्बन्धित चिकित्सकको निगरानीमा बढी डिम्व उत्पादन तथा निष्काशन हुने औषधि÷सूईबाट गर्भ आउने सम्भावना बढ्छ । अल्ट्रासाउण्डबाट डिम्ब परिपक्व भएको निश्चित भएपछि प्राकृतिक रुपमै यौन सम्पर्क राख्न वा उनको पार्टनरको परिष्कृत वीर्य विशेष खालको क्याथेटरको माध्यमबाट पाठेघरमा राखिदिने (कृत्तिम गर्भाधान) बाट फाईदा हुन्छ । यदि महिला पार्टनरमा मधुमेह, अधिक मोटोपना तथा शरीरमा प्रोल्याक्टिनको मात्रा बढी छ भने वा स–साना डिम्ब धेरै उत्पादन तर अपरिपक्व हुने समस्या छ भने आवश्यक उपचार गर्नुपर्दछ । यसैगरी इन्डोेमेट्रिओसिस, स्त्री जनेन्द्रियको माथिल्लो भागको संक्रमण, पाठेघरको मुख साँगुरिएको, पाठेघरको भित्री तहमा मासु पलाएको, भित्री तह टाँसिएको, डिम्ब वाहिनी नली वरिपरिमा आन्द्रामा टाँसिएको, पाठेघरको बनावटमा जन्मजात खराबी छ भने शल्यक्रियाजन्य उपचार आवश्यक हुनसक्छ । पहिलेको स्त्री जनेन्द्रिय संक्रमण वा शल्यक्रियाका कारण दुवै डिम्बवाहिनी नली थुनिएको वा काम नलाग्ने छ भने टेष्ट ट्युब भनेर चिनिने कृत्तिम गर्भाधान विधिको जरुरत पर्न सक्छ । यस क्रममा पुरुष पार्टनरको शुक्रकिटको संख्याको आधारमा आइ भी एफ (महिलाको डिम्ब वरिपरि शुक्रकिट राखिदिने) वा इक्सी (महिलाको डिम्बमा एउटा शुक्रकिट छिराइदिने) जस्ता कृत्तिम गर्भाधान विधिबाट फाईदा पुग्छ । बाँझोपनको उपचारको क्रममा गर्भ तुहिने, पाठेघर बाहिर गर्भ रहने सम्भावना दोब्बर र शिशु वा नवजात बच्चाको मुत्यु हुने सम्भावना पनि छ । तर पनि बाँझोपनको समस्या भएका दम्पत्तिमा जाँच पड्तालको दुई वर्ष अवधिमै आवश्यक उपचारपछि ३० – ४० प्रतिशतले गर्भाधान गर्न सक्छ । यदि कृत्तिम गर्भाधानको सहायता लिएको खण्डमा यो सफलता ६० प्रतिशत सम्म पुग्दछ । बाँझोपनको उपचारको क्रममा औषधि वा शल्यक्रियाको अलावा तिनीहरुमा व्याप्त हुने मानसिक चिन्ता तथा उदासिपनका लागि राम्रो परामर्श दिने, आवश्यक परे खानपिनमा परहेज गरी शारीरिक वजनलाई नियन्त्रणमा राख्ने तथा धुम्रपान एवं मद्यपान त्याग्ने र महिनावारीको जानकारीको क्रममा मासिक चक्रको उर्वरा (गर्भ रहने) समय बारे प्रष्ट हुन जरुरी छ ।