IMG-LOGO

पुरुषजन्य निःसन्तानको समस्या

 मंगल, भदौ १८, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

                 अस्पतालमा दिनानुदिन विरामीहरु हेर्ने क्रममा निःसन्तान भएका दम्पत्तिका कतिपय समस्या टिठलाग्दो अर्थात् कारुणिक लाग्दो हुन्छ । कतिपय अवस्थामा साधारण जाँच पड्ताल गरे पश्चात् वा सम्बन्धित दम्पत्तिसँग गर्भ प्रक्रिया बारे राम्ररी छलफल गरेकै भरमा पनि समस्या सल्टिन्छ । पछिल्लो डेढ, दुई दशकदेखि वैदेशिक रोजगारका कारण देशको आर्थिक अवस्थामा धेरै सुधार आएको देखिन्छ तर सामाजिक अस्तव्यस्तता भने अकल्पनिय रुपमा खल्बलियो । एकातिर विवाहईतर यौनसम्बन्धका कारण गर्भपतन तथा यौनहिंसा, महिलाहिंसा, सम्बन्ध विच्छेदका घटना बढ्दो छ भने अर्कोतिर किन हो वैदेशिक रोजगारबाट (विशेषतः खाडी मुलुकबाट) फर्किएका पुरुषहरुमा निःसन्तानका समस्या बढी देखिन थालेको छ । विस्तृत अध्ययन, अनुसन्धान त भईसकेको छैन तर उच्च तापक्रममा काम गर्नुपर्ने बाध्यताका कारण शुक्रकीट उत्पादनमा खलल पुगेर वा लामो समयसम्मको घर बाहिर, नियमित यौनसम्बन्धबाट टाढा रहनुपर्दाको अप्रत्यक्ष असरले पो यसो हुन गएको भन्ने आँकलन मात्र छ ।                त्यसैपनि करीब १० प्रतिशत दम्पत्तिमा निःसन्तानको समस्या हुन सक्छ । निःसन्तान हुनाको कारणमा करीब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता लाग्दैन । ६ महिना अघिको साधना हेल्थ एण्ड ब्युटी मासिकमा महिलाजन्य निःसन्तानको समस्या बारे उल्लेख गरिसकेकाले यस पटक पुरुषजन्य निःसन्तानका कारणहरु, पुरुषको कारण हुने निःसन्तानको जाँच पड्ताल एवं उपचारको चर्चा गरिएको छ । पुरुषजन्य निःसन्तानका कारणहरु                शुक्रकिट बन्ने प्रक्रियामा समस्या, बनिसकेको विर्य बाहिर आउने बाटोमा समस्या, योनीमा विर्य स्खलन हुन समस्या तथा शुक्रकिटको बनावटमा समस्या पुरुषजन्य निःसन्तानका कारणहरु हुन् । अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको कार्यमा खराबीको कारणले शुक्रकिट बन्न अप्ठ्यारो पर्न सक्छ । त्यसैगरी शुक्रकिटवाहिनी नली नै नहुने, शुक्रकिटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकिटवाहिनी नली नै थुनिने हुनसक्छ । मानसिक समस्या (लिङ्ग नउठ्ने वा उत्तेजित नहुने, शिघ्र स्खलन हुने) तथा पुरुषमा पिसाब खुल्ने प्वाल बेठाउँमा भयो भने विर्य योनीमा जम्मा हुन पाउँदैन । त्यस्तै शुक्रकिटको चाल, संख्या, बनावटमा तथा यसमा पोषिलो पदार्थ नपुग भयो भने पनि निःसन्तानको समस्या हुनसक्छ ।                नियमित रुपमा एक वर्ष सम्मको कुनै साधन बिना सहबास पछि पनि बच्चा नभएमा जाँच पड्ताल गराउनु राम्रो हुन्छ । यदि महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघी सकेको छ भने ६ महिना सम्ममा बच्चा भएन भने सम्बन्धित चिकित्सक कहाँ जँचाउनु पर्दछ । विवाहको दोश्रो वर्ष पछि प्रजनन क्षमता दरमा निकै कमी हुने हुनाले चाँडै स्वास्थ्य परीक्षण गराउनु पर्दछ । सामान्य जानकारी एवं सल्लाह बाट ठिक पार्न सकिने समस्याहरुका लागि ढिलो गर्नुहुँदैन । पुरुषजन्य निःसन्तानको जाँच पड्ताल                प्रभावित व्यक्तिको उमेर, विवाहित समय, पहिले विवाह गरिसकेको वा पहिले बच्चा पाउन मद्धत गरेको, धुम्रपान वा मद्यपान गर्ने बानी भएको सामान्य जानकारी पछि यौनरोग, हाँडे, मधुमेह, अण्डकोष वरिपरि हाल कुनै समस्या भएको वा पहिले कुनै शल्यक्रिया गरिसकेको, लामो समय सम्म तापमा बसी गर्नुपर्ने कार्य बारे जानकारी लिनुपर्दछ । यौन सम्पर्कका दौरान यौनाङ्ग उठाउन (उत्तेजित पार्न), राम्रो सँग छिराउन तथा विर्य स्खलन सम्बन्धी कुनै समस्या छ, छैन पत्ता लगाउनु पर्दछ । शारीरिक जाँचको क्रममा यौनाङ्गको पनि राम्ररी जाँच गर्नुपर्दछ । त्यसपछि वीर्य जाँच (सकिन्छ भने तीन दिन सम्म सहबास नगरी) गरी शुक्रकिटको संख्या, शुक्रकिटको चाल, बनावट तथा अन्य कुनै पिप वा संक्रमण छ, छैन थाहा पाउनु पर्दछ ।                कतिपय पुरुष मानिसको वीर्यको सामान्य जाँच पछि रगतमा अन्य हर्मोन ( शुक्रकिट उत्पादन तथा परिपक्व बनाउन मद्धत गर्ने) सम्बन्धी जाँच, अण्डकोष तथा वरिपरिको भिडियो एक्सरे, अण्डाशयबाट थोरै मासु निकालेर गरिने जाँच (बायोप्सी) वा सियो हालेर गरिने कोषको जाँच एवं वंशाणु अंश बारे जाँच गर्नुपर्ने हुनसक्छ । पुरुषजन्य निःसन्तानको उपचार                पोषिलो खाना खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, धुम्रपान मद्यपान त्याग्नुका साथै यौनाङ्ग वरिपरि बढ्ता न्यानो हुने गरी वा तातो बनाउने कसिलो कट्टु लगाउनु हुँदैन । दिनहुँ पटक पटक यौन सम्पर्क राख्दा वीर्यको गुणस्तर घट्ने हुनाले निःसन्तानको समस्या भएकामा मासिक श्रावको उर्वरा समय ख्याल राखी मात्र शारीरिक सम्पर्क राख्नुपर्दछ । सम्बन्धित चिकित्सकबाट यस सम्बन्धि प्रष्ट जानकारी पाउन सकिन्छ । मासिक श्रावको उर्वरा समय ठ्याक्कै थाहा पाउन आवश्यक परे आफ्नो कोठाको भित्तेपात्रो (क्यालेण्डर) मै चिनो लगाइ राख्नुुपर्दछ । भिटामिन ई, सी तथा बी १२, फोलिक एसिडयुक्त खानेकुराले शुक्रकिट बन्न मद्धत गर्दछ । पुरुषको शरीरमा रहेको हर्मोनको उतारचढावको कारण शुक्रकिट उत्पादन सम्बन्धी गम्भिर समस्याको व्यवस्थापन उचित तवरले गर्नुपर्दछ । जनेन्द्रिय तथा वीर्यमा संक्रमणको छनक मिले त्यहि अनुरुपमा गर्नुपर्दछ ।                वीर्यमा शुक्रकिटको संख्या कम छ भने कृतिम रुपमा वीर्य निकाली सामान्य सरसफाई पछि विशेष किसिमको पाइप (क्याथेटर) बाट महिलाको पाठेघरमा राखिदिन सकिन्छ । तर वीर्यमा शुक्रकिट छँदै छैन भने दम्पत्तिको आपसी सल्लाहमा अन्य पुरुषको वीर्य प्रयोग गरेर बच्चा पाउने तथा धर्मपुत्र ÷पुत्री पाल्नुको विकल्प छैन । अण्डाशयबाट गरिएको मासुको जाँच (बायोप्सी) मा भेटिएको अपरिपक्व शुक्रकिटलाई विशेष उपचार पछि विशेष सुक्ष्म दर्शक यन्त्रको सहयोगले महिलाले उत्पादन गरेको डिम्व भित्र छिराई कृत्तिम गर्भाधान गराउने उपाय इक्सी (इन्ट्रा साइटोप्लाज्मिक स्पर्म इन्जेक्शन) गर्न सकिन्छ । यो प्रविधि खर्चिलो एवं नेपालमा उपलब्ध नहुन पनि सक्छ ।                शिघ्रपतन, लिङ्ग नउठ्ने तथा योनी भित्र लिङ्ग छिराउन समस्या भएकामा मनोवैज्ञानिक परामर्श दिनुपर्दछ । अण्डकोषमा पानी भरिएको (हाइड्रोसिल), अण्डाशयबाट रगत फर्काएर लाने शिरा झोलिएको तथा हर्नियाको समस्या भएकोमा सामान्य शल्यक्रियाको जरुरत पर्न सक्छ । यी उपचार बाट सामान्य सुधार हुन सक्दछ । बिना कारण पनि निःसन्तानको समस्या                करीब १० प्रतिशतमा बिना कारण पनि निःसन्तानको समस्या हुन सक्छ । विस्तृत जाँच पड्ताल पछि पनि कुनै कारण खुट्याउन सकिँदैन । यस्तो महिलामा डिम्ब वाहिनी नली खुल्ला छ, छैन भनि गरिने सामान्य जाँच पश्चात् प्राकृतिक यौनसम्पर्कबाट मात्र पनि गर्भ रहन सक्छ । कतिपय दम्पत्तिमा भने पुरुषको वीर्य सामान्य छ तथा महिलाको दुवै डिम्ववाहिनीनलीहरु खुल्ला छ भन्ने प्रमाणित भएपछि डिम्ब बढी उत्पादन हुने औषधि सेवन पछि प्राकृतिक यौनसम्पर्कबाट वा कृत्तिम गर्भाधानबाट गर्भ रहन सक्छ ।                निःसन्तानका समस्या भएका दम्पत्तिमा जाँच पड्तालको दुई वर्ष अवधिमै ३०–४० प्रतिशतले गर्भाधान गर्न सक्छ । यदि कृत्तिम गर्भाधानको सहायता लिएको खण्डमा यो सफलता ६० प्रतिशत सम्म पुग्दछ । कृत्तिम गर्भाधानका कारण कहिलेकाहीँ गर्भ तुहिने, पाठेघर बाहिर गर्भ रहने सम्भावना दोब्बर र शिशु वा नवजात बच्चाको मुत्यु हुने सम्भावना पनि दोब्बर हुन्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्