IMG-LOGO

क्वाँटिको फाईदा

 मंगल, भदौ ४, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

          हिजो जनैपूर्णिमाको दिन नुहाई धुवाई पछि नजिकको तीर्थस्थलमा गई हातमा धागो बाँध्ने तथा जनै फेर्ने गरिन्छ । घरघरमा विभिन्न खाले गेडागुडीहरु मिसाई पकाएको क्वाँटी खाने चलन छ । यस दिन कृषकहरुले धानबालीमा लाग्ने किराफट्याङ्ग्राहरु खाइ दिने भ्यागुतालाई ब्याँ जानकेगु भनि खेतमा चामल, अक्षताले पूज्ने चलन छ । त्यसैगरी आज गाईजात्रालाई नेवारीमा सापारु (सा को अर्थ गाई र पारु को अर्थ प्रथमा तिथि) पनि भनिने गरेको यस पर्वको दिन पनौतीका बासिन्दा कसैको घरमा परिवारजनको मृत्यु भएको छ भने उहाँको सम्झनामा तहाशा वा साँचा (गाई), झाँकी तथा ख्याली निकाल्ने चलन छ । यसका साथै रामायण निकाल्ने पनि गरिन्छ । केबुल टेलिभिजन तथा भिडियोको प्रचलन अगाडि मनोरञ्जनको हिसाबले महत्वपूर्ण यस चाडको रौनकता निकै घटेको छ । पहिले पहिले भए गाईजात्राको सात दिन सम्म ज्यापू ज्यापुनी नाच, डबु (डबली) प्याखँ, ख्याली निकाल्ने चलन थियो । भाद्र कृष्ण प्रतिपदा – गाईजात्रा, काँक्रो, नासपाती, भिजेको केराउ बाँड्ने चलन छ ।           यी दुवै दिन नेवारी समुदायमा क्वाँटि र फकसंना (अमिल्याइएको कर्कलो) खाने गरिन्छ । यी खानेकुराको पौष्टिक महत्व यस प्रकार छ । क्वाँटि बनाउन नौ थरिका गेडागुडी (ठूलो केराउ, सानो केराउ, भटमास, बोडी, गेडा मास, चना, मस्याङ, सिमी र बकुला), तेल, लसुन, अदुवा, जिरा, बेसार, ज्वानो, पिठो, नुन चाहिन्छ । कम्तिमा एक दिन अगाडि गेडागुडी भिजाउने । तेल तताएर भिजाएको गेडागुडी राख्ने, त्यसमा आवश्यक अनुसार पानी राखेर उमाल्ने । त्यसमा लसन, अदुवा, नुन, बेसार, जिराको धूलो लगायतका मसला राख्ने । क्वाँटी बाक्लो बनाउनको लागि पिठो अलिकति थप्न सकिन्छ । यसलाई थप स्वादिलो बनाउन राम्ररी पाकेको क्वाँटीमा तेलमा ज्वानो फुराई झान्न सकिन्छ ।           फकंसनाको लागि अलि छिपेको कर्कलाको डाँठ, अदुवा, बेसार, रायोको गेडा, तेल (झान्नलाई), लसुन, मेथी, नुन चाहिन्छ । सबभन्दा पहिले डाँठको बोक्रा निकाल्ने । त्यसपछि टुक्रा टुक्रा पारी घाममा सुकाउने । सुकाएपछि यसमा रहेको गन्ध हटेपछि यसमा नुन, अदुवा, लसुन, पःका हालेर मोल्ने त्यसपछि सिसीमा हालेर घाममा सुकाउने । एक हप्ता जति पछि खान मिल्छ । खानु अगाडि बेसार सहतिको तेलमा अलिकति मेथी पड्काएर झान्नियो भने थप स्वादिष्ट हुन्छ । क्वाँटि र फकसंना बनाउँदा प्रयोग हुने खाद्यतत्वका पौष्टिक महत्व यस प्रकार छन् । ज्वानो           संस्कृतको एउटा उखान अनुसार ज्वानोको गेडोमा सयौं खाले अन्न पचाउन सक्ने खालको हुन्छ । पाचक औषधिको मुख्य तत्व ज्वानोमा कटु पौष्टिक तत्व, वायुनाशक एवं अग्निदीपक गुण पनि छ । यसैकारण यो कफ, वायु, गानुगोला, जुका निर्मूल गर्न प्रभावकारी मानिन्छ । ज्वानो न्यानो तथा रुक्ष पदार्थ हो । यसमा कामोद्दीपक गुण छ ।           ज्वानो चपाउने, यसको बाफ लिने, यसलाई तताएर पातलो कपडामा बाँधेर सुँघ्ने गर्नाले रुघाखोकी, जीउ र टाउको दुखाइ कम हुन्छ । सुत्केरीलाई ज्वानो खान दिँदा भोक लाग्छ, कम्मर दुख्न कम हुन्छ र गर्भाशय पनि सफा हुन्छ । पक्षाघात पीडितका लागि लाभदायक ज्वानो छाती दुख्दा, अत्याधिक बाडुली, बान्ता, अपच, पिसाब रोकिने, पत्थरीको समस्यामा समेत फाइदाजनक हुन्छ । सिमी           सिमी घुलनशील रेसा (फाइबर) को राम्रो श्रोत हो । सिमीको तरकारीले कोलेस्टेरोलको मात्रा घटाउने हुनाले हृदयाघातको खतरा घटाउँछ । यसले मुटुरोग तथा रक्तचाप बढ्न दिँदैन । सिमीमा सोडियमको मात्रा कम तथा पोटासियम, क्याल्सियम र म्याग्नेसियमको मात्रा बढी हुन्छ । यसमा रहेको लवणको मिश्रणले स्वास्थ्यलाई थप फाइदा गर्दछ ।           सिमीमा पाइने राइबोफ्लेबिन शरीरको कोशिका प्रक्रियाका लागि निकै आवश्यक घटक हो ।  सिमीको ‘ग्लाइसेमिक इन्डेक्स’ कम हुन्छ । त्यसैले रगतमा चिनीका मात्रा बढाउँदैन । सिमी मृगौलासम्बद्ध रोगमा समेत फाइदाजनक हुन्छ । शरीरका कोशिका मर्मतमा उपयोगी एन्टिअक्सिडन्टको मात्रा बढी हुन्छ । सिमीमा ‘फाइटोइस्ट्रोजेन’ पाइने भएकाले स्तन क्यान्सरको जोखिम पनि घटाउँछ । चना           चनाले शरीरमा तागत र भोजनमा रुचि बढाउँछ । यसले तन्दुरुस्त बनाउन, रक्तनलीलाई शक्ति दिन, रगत सफा राख्न तथा धातु बढाउन सघाउँछ । कलेजोको लागि लाभदायी चनाको सेवनले पिसाब खुलाउँछ । यसमा भिटामिन सी बढी मात्रामा हुने भएकोले तौल बढाउने, रगत वृद्धि गर्ने गर्दछ । यसले कोलेस्टेरोलको मात्रा घटाउने हुनाले मुटुका रोगीलाई पनि सहायकसिद्ध हुन्छ । कब्जियतका समस्या भएकाका राम्रो गर्दछ ।           नियमित तवरले भिजाएको वा अंकुरित चना खाएको खण्डमा फोक्सोलाई बलियो बनाउँछ । यसले मांसपेशीलाई सुदृढ र शरीरलाई बज्र जस्तो कठोर बनाउँछ । यसले छालालाई लाभ दिन्छ । केराउ           केराउ काँचै वा उसिनेर तरकारीको रुपमा वा यसलाई भिजाएर अचार वा अन्य परिकार पनि मिसाएर खाइन्छ । प्रोटिनको राम्रो श्रोत केराउमा भिटामिन बी, म्याग्नेसियम, म्यांगानिज, फस्फोरस, आइरन र पोटासियम लगायतका खनिज पदार्थ पनि हुन्छ । रेसाको महत्वपूर्ण श्रोत केराउले कोलेस्टेरोल घटाएर मुटुसम्बन्धी समस्या घटाउँछ । रक्तचाप र मधुमेहलाई पनि फाइदा पु¥याउँछ । कब्जियत र पाचनसम्बन्धी समस्या हटाउँछ । कुपोषण, डिप्रेसन, चिन्ता, स्तन तथ प्रोस्टेट क्यान्सर हुन दिँदैन । बकुला           ठूलो खालको गेडागुडी मध्येका एक बकुला तरकारी बनाएर वा अन्य परिकारमा मिसाएर खाइन्छ । त्यतिकै भुटेर पनि खाने गरिन्छ । यसमा प्रोटिन प्रशस्त मात्रामा अुनुका साथै रेसा, कार्बोहाइड्रेट हुन्छ भने सोडिमय, आइरन, तामा, फस्फोरस, पोटासियम, म्याग्नेसियम, फोलेट र भिटामिन बी हुन्छ । मुटु रोग, मधुमेह, रक्तचापका विरामीलाई फाइदा पु¥याउँछ । भटमास           खैरो, कालो र पहेँलो रंगमा पाइने भटमासमा खाद्य पदार्थहरु मध्ये सबैभन्दा बढी प्रोटिन पाइन्छ । भुटेर, उसिनेर (हरियो) तथा अन्य परिकारमा मिसाएर खाइन्छ । सबै उमेर समूहका लागि उपयुक्त भटमासमा कोलेस्टेरोलको मात्रा निकै कम भएकोले उच्च रक्तचाप तथा मधुमेहका विरामीको लागि पनि उपयुक्त छ । यसले टुटेफुटेका तन्तु तथा कोषको पुनःनिर्माण गर्न मद्धत गर्दछ । माछा, मासु तथा अन्डा नखाने शाकाहारीका लागि उपयुक्त विकल्प हो । प्रायसः प्रोटिनयुक्त खाद्यपदार्थ खाने भएपनि रोटी वा चिउरा पनि खाने गरिन्छ । गहु“           गहुँमा कार्बोहाइड्रेटका साथै प्रोटिन, थायमिन, लवण पदार्थ, रेसा, क्याल्सियम, फस्फोरस, आइरन, क्यारोटिन, नायसिन पनि हुन्छ । यसले कोलेस्टेरोललाई कम गर्ने हुनाले मुटु रोग, रक्तचाप, मधुमेह, स्तन क्यान्सर, दमलाई फाइदा पु¥याउँछ । यसका साथै कब्जियत, पित्त थैलीको पत्थर हुन दिँदैन । मकै           मकैले शरीरलाई उर्जा दिन्छ । यो धेरै सुपाच्य हुन्छ । पोले पनि, उसिने पनि वा भुटे पनि पोषक तत्व यथावत रहनु यसको विशेषता हो । काँचो मकै तृप्तिदायक, वातकारक, कफ र पित्तनाशक, मधुर र रुचि उत्पादक अन्न हो ।           मकै पेटको अल्सर निको पार्न सहयोगी हुन्छ । बढी रेसा हुने भएकाले मकै शरीरको तौल घटाउन उपयोगी हुन्छ । शारीरिक कमजोरीमा यसले राम्रो उर्जा दिन्छ । कर्न फ्लेक्सका रुपमा खाँदा हृदयरोग रोकथाममा सहायक हुन्छ । बालबालिकाको सर्वाङ्गिण विकासका लागि मकै अति उपयोगी हुन्छ । सुक्खा रोग लागेका बालबालिकालाई मकै खुवाउनु उत्तम मानिन्छ । यसले मूत्र प्रणालीलाई नियन्त्रण राख्छ । दाँत बलियो बनाउँछ ।           यसको अलावा मास र बोडी लगायतका खाद्यपदार्थमा पाइने पोषण तत्व तालिकामा दिइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्