IMG-LOGO

उमंगमय बनाउन सकिन्छ गर्भावस्था

 मंगल, माघ १३, २०७७  डा.सुमनराज ताम्राकार

    पछिल्लो समय नेपालको दाम्पत्य जीवनमा व्यापक परिवर्तनहरु आएको देखिन्छ । संयुक्त परिवारबाट एकल परिवारमा परिणत, कामकाजी कारणले श्रीमान श्रीमतीले नै जागिरे हुनुपर्ने अनि कामकै लागि शहरी क्षेत्रमा मात्र नभई विदेशिनु पर्ने बाध्यता आईलागेको छ । यस्तो परिस्थितिमा गर्भधारण गर्नु वा गर्भवती हुनु जस्तो खुशी, उमंगको विषय भईकन पनि चिन्ता वा त्रासको वातावरण बन्न सक्छ । विवाहित महिला पुरुष पा पार्टनरहरु बीच साधन बिनाको यौन सम्पर्क पश्चात् नियमित रुपमा भईरहेको महिनावारी रोकिनासाथै वा महिना खप्टिनासाथै गर्भ रहेको आशंका गर्न सकिन्छ । घरका सासुबूढीहरुले चाहिँ आफ्नो बुहारीले महिनावारी नबारेसँगै वाकवाकी गर्न थालेको वा खान मन नगरेबाट दुई जिउ भएकी हो कि शंका गर्न थाल्छन् । आजकल समय फेरिएको छ घरमै किट ल्याई गर्भ आएको हो होइन यकिन गर्न सक्छन् ।     गर्भ रहनु अगाडि महिला शरीरमा इस्ट्रोजेन वा प्रोजेस्टेरोनको आपसी तालमेलसँगै महिनावारी नियमित रुपमा भईरहन्छ । तर डिम्ब निष्काशन हुने समयको आसपासमा पुरुषसँग संसर्ग भएसँगै डिम्ब निषेचित भई गर्भाशयमा प्रत्यारोपित भएमा प्रोजेस्टेरोन हर्मोनको चलखेल हाबी हुन थाल्छ । यसका कारण महिनावारी रोकिन्छ । यही प्रोजेस्टेरोन हर्मोनको बढ्दो क्रियाकलापका कारण गर्भवती महिलाको विभिन्न शारीरिक प्रणालीमा सामान्य परिवर्तनहरु देखा पर्न थाल्छन् । एकल परिवारमा, अलकाँचा दम्पत्तिका लागि यही सामान्य परिवर्तनहरु पनि गम्भीर प्रतित हुन थाल्छ ।        यही प्रोजेस्टेरान हर्मोनकै कारण गर्भावस्थामा आउने प्रजननसँग सम्बन्धित ग्रन्थिहरुको रासायनिक अनि शारीरिक परिवर्तन विशेषगरी गर्भ रहेको तीन वा चार महिना सम्म देखा पर्दछ । गर्भवती हुँदा खाद्यनलीमा प्रोजेस्टेरोनको अधिक प्रभावका कारण बिहानीपख वाकवाकी लाग्ने, बान्ता हुने हुन्छ । बिहान उठ्ने बित्तिकै सुख्खा खालको खानेकुरा (चिल्लो रहित बिस्कुट खाने) चिल्लो पिरो खानेकुरा कम खाने, दिनभरिमा धेरै पटक तर थोर थोरै मात्र खाने गरेमा उल्टी एवं वाकावाकीको समस्याबाट छुटकारा पाउन सकिन्छ । कसैकसैमा अधिक वाकवाकी एवं उल्टीले शिथिल बनाउने हुनाले तत्काल इनर्जी प्राप्तिका लागि झोल वा पाउडर ग्लुकोज फिटेर खानु राम्रो हुन्छ ।      गर्भावस्थाको शुरुतिर आमाशय संगै जोडिएको खाद्यनलीको तल्लो भाग (मेडिकल भाषामा स्फिन्क्चर) खुकुलो हुन जानाले आमाशयको अम्लिय वातावरण खाद्यनली तिर फर्किई खाद्यनलीमा चिडचिडाहट भई तथा गर्भावस्थाको अन्तिम तिर बढेको पाठेघरले आमाशयलाई थिच्ने हुनाले मुखमा अमिलो पानी आउने र छाती पोल्ने गर्दछ । यसका लागि मसला र चिल्लो युक्त खाना कम गर्ने, प्रशस्त झोलिलो पदार्थ पिउने गर्नु पर्दछ । गर्भावस्थाको पछिल्लो अवधितिर विशेषतः बेलुकाको खाना खाने बितिकै ओछ्यानमा पल्टिने गर्नु हुँदैन । सिरानी अलि अग्लो बनाउने एवं अम्लियपना कम गर्ने खानेकुरा एवं औषधीको जरुरत पर्न सक्दछ ।     गर्भ रहेको वेला योनीश्राव (सेतो पानी) अलि बढ्ता बग्न सक्छ । अन्य बेला भन्दा गर्भवती अवस्थामा स्त्री जननेन्द्रिय प्रणालीमा रगतको प्रवाह बढ्न गई योनीरसको उत्पादन पनि बढ्न जान्छ । यसको अलावा गर्भवती अवस्थामा योनी भित्रको अम्लियपना घट्न गएर दही जस्तो छेक्रा छेक्रा वा सेतो पानी बगाउने ढुसी (पंmगाई) को वृद्धि हुन्छ । सेतो पानी बग्न नदिन वा यसको असर कम गराउन यौनाङ्गको सरसफाई गर्ने एवं सुतीको भित्री कपडा ( भित्री कट्टु) दिन दिनै जसो फेर्नु पर्दछ । यदि सेतो पानी धेरै वा ढिक्का ढिक्का बग्ने समस्यासँगै पिसाब पोल्ने, योनी चिलाउने, योनीश्राव गन्हाउने, रगत मिसिएको श्राव देखा पर्ने वा ज्वरो आउने भयो भने थप उपचार आवश्यक हुन्छ ।     गर्भवती अवस्थामा कतिपय महिलामा पिँडौला एवं जनेन्द्रिय वरिपरिको नशाहरु फुल्न सक्दछ । गर्भमा बढिरहेको बच्चाले (विशेषगरि ७ महिनापछि) पाठेघरको ठिक्क पछाडि रहने मोटो खालको शिरा (मेडिकल भाषमा इन्फेरियर भेनाकाभा) लाई थिच्ने हुनाले खुट्टाहरुका साथै शरीरको तल्लो भागबाट रगत फर्किन गाह्रो हुन्छ । सामान्य तवरमा मुटुतिर फर्किनुपर्ने रगतमा अवरोध आउँदा खुट्टा तिर वा यौनाङ्गतिरको रक्तनशाहरु फुल्दछ । गर्भावस्थामा नशा फुल्ने समस्या भएकाले धेरै बेर उभि राख्ने गर्नु हुँदैन । आफ्नो पेशा वा काम नै उभिराख्नुपर्ने खालको छ भने बीच बीचमा ब्रेक लिएर पल्टेरै आराम गर्नु राम्रो हुन्छ । नर्स, ट्राफिक प्रहरी, सेक्युरिटी, होटल रेष्टुँरा आदि क्षेत्रमा काम गर्ने अलि बढी जोखिममा हुन्छन् । राती सुत्दा वा दिउँसो आराम लिँदा वा कतिपय कारणले अस्पतालमा भर्नारत छँदा देब्रेपट्टि कोल्टे परि आराम गर्नु पर्दछ । देब्रेतिर लामो समय कोल्टे फेराईले थकाई लागेमा दायाँ तिर कोल्टे परि आराम गर्नु पर्दछ । यसको अलावा पिँडौलामा पट्टी (ब्याण्डेज) वा लामो खालको मोजा (स्टकिङ) लगाउन सकिन्छ । कतिपयलाई नशा फुल्ने क्रममा अल्काई (पायल्स) को समस्या बढ्न वा बल्झिन गई दिसा गर्दा चह¥याउने, पोल्ने एवं रगत देखा पर्ने हुन सक्छ । गर्भावस्थमा अल्काईको बढ्दो समस्याको लागि चिकित्सकसँग आवश्यक सल्लाह लिनु पर्दछ ।     प्रोजेस्टेरोन हर्मोनले आन्द्रालाई अल्छि बनाई दिन्छ । यसैकारण कतिपय गर्भवती महिलामा पेट एवं आन्द्राको चाल अलि ढिलो हुने हुनाले कब्जियतको समस्या हुन जान्छ । नियमित रुपमा दिसा गर्ने बानी बसाल्नुका साथै गर्भावस्थाको पेटलाई असर नपर्ने गरि हल्का व्यायाम गर्ने, प्रशस्त झोलिलो पदार्थको सेवन एवं रेशादारयुक्त खानेकुरा (सिजन अनुसारको सागसब्जी, स्याउ, मुला, गाजर ) खानु पर्दछ । रेशादार खाद्यपदार्थले दिसाको मात्रा र गुणस्तर बढाउने हुनाले कब्जियतको समस्या कम गराउँछ । मासु , चिल्लो र मसलायुक्त खाना कम गर्नु पनि फाईदाजनक हुन्छ ।      प्रोजेस्टेरोनकै असरले गर्भवती महिलाको जिउमा पानी अलि थेग्रिन गर्ई हात खुट्टा जिउ सुन्निने समस्या हुन्छ । धेरै जसोमा घुँडा मुनिको भाग (दुवै तिरको) सुन्निने हुन्छ । यदि एक डेढ घण्टा सुतेरै आराम गरेपछि वा राती भरि सुतेर भोलीपल्ट बिहान सुन्निएको भाग बस्छ भने डराउनु पर्ने खालको होइन । किनकि गर्भावस्थामा उच्च रक्तचापको समस्या हुँदा पनि हातखुट्टा सुन्निने हुन्छ । जुन यथेष्ट आराम गर्दा पनि बस्दैन । त्यसो भएर खुट्टा सुन्निने समस्या भएकाले गोडा नझुण्डयाई बस्ने, धेरै बेर उभि नराख्ने, बीच बीचमा पल्टेरै आराम गर्ने, कोल्टे फेरि आराम गर्ने, राती सुत्ने बेलामा खुट्टाको भाग अलि अग्लो बनाई सुत्ने गर्नुपर्दछ । यदि हात र अनुहार समेत फुलेको छ भने गर्भवती बेलामा बढ्ने रक्तचापको कारणले हो वा अन्य कुनै कारणले जँचाउन जानु पर्दछ ।     बाह्र हप्ता सम्मको गर्भावस्थाको पाठेघर पुट्ठाको हड्डी भित्र हुन्छ भने त्यसपछि तल्लो पेटमा छाम्न मिल्ने गरि बढ्न थाल्छ । पुट्ठाभित्र छँदै पाठेघर फुक्ने क्रममा पाठेघरका स्नायु सचेत भएर तल्लो पेट हल्का दुख्छ । यसका साथै बढिरहेको गर्भे शिशु पुठ्ठाको हड्डीमा अटाउनको लागि अलि फुक्नु पर्दछ । यसका लागि महिलाको शरीरमा निस्कने रिल्याक्सिन नामक रासायनिक पदार्थका कारण जोर्नीहरु फुक्ने क्रममा कम्मर पनि दुख्दछ । पछि पेटको आकार निकै बढ्न थालेपछि पेटका छाला तथा मांसपेशी तन्किन जाँदा त्यसको अप्रत्यक्ष असर कम्मरमा पर्न गएर कम्मर पनि मन्द दुख्ने हुन्छ । तल्लो पेट तथा कम्मरको दुखाई कम गर्न लागि पाठेघरमा दखल नपर्ने खालको ढाडको व्यायाम गर्ने, हल्का मालिस गर्ने, कुप्रो परेर काम नगर्ने तथा सुत्दा घुँडा मुनी सिरानी राख्ने गर्नु पर्दछ । यसका साथै मेच कुर्सीमा बस्दा सही पोजिसनमा बस्ने बानी गर्नु पर्दछ । कम्मर दुखाई वा तल्लो पेट दुखाई सँगै असामान्य खालको योनीश्राव बग्ने, पिसाब पोल्ने, ज्वरो आउने भएमा जचाउनु पर्दछ । दुखाई कम गर्ने हेतुले अन्य बेलामा जस्तै गर्भावस्थाको तल्लो पेटमा हट वाटर ब्यागले सेक्नु हुदैन ।      गर्भावस्थाको तीन महिनासम्म बढ्दो पाठेघरले अगाडि पट्टिको पिसाब थैलीलाई थिचेर, गर्भावस्थाको समय स्त्री जननेन्द्रिय वरपर रगत प्रवाह बढेर तथा सुत्केरी हुनु अगाडि गर्भ शिशुको टाउको पुट्ठाको हड्डी भित्र जाने हुनाले गर्भवती महिलामा पिसाब छिटो छिटो लाग्छ । यो गर्भावस्थामा हुने सामान्य समस्या नै हो । तर पिसाब पोल्ने, गन्हाउने खालको पिसाब हुने, ढाडको दायाँ बायाँ अचाक्ली दुख्ने, काम ज्वरो आउने भएमा जचाउनु पर्दछ ।     गर्भवती महिलाको शरीरमा क्याल्सियम तथा अन्य लवण पदार्थको मात्रा कम भयो भने विशेषतः राती पिडौला बाँउडिने समस्या हुनसक्छ । यसका लागि जीवनजल, झोलिलो खानेकुरा, माछामासु, क्याल्सियम युक्त खानेकुरा (दुध, सागपात, अण्डा) खानुका साथै क्याल्सियम चक्की पनि नियमित रुपमा खानु पर्ने हुन्छ ।     ठूल्ठूला अस्पताल तथा गुणस्तरीय स्वास्थ्य संस्थामा पछिल्लो समय एकल परिवार, कामकाजी नवदम्पत्तिमा गर्भ र गर्भावस्थाको हेरचाहलाई विचार गरेर गर्भ आउनु पूर्व नै यथोचित परामर्श (प्रिकन्सेप्सनल काउन्सेलिङ), सुत्केरी व्यथा अगाडि गर्नुपर्ने तयारी (बर्थ प्रिपेयर्डनेस) सम्बन्धी सल्लाह दिन तथा गर्भावस्थामा गर्नुपर्ने फिजियोथेरापी सिकाउन थालेको छ । त्यसो त निकै समय अगाडि देखि नै नेवार जातिमा सुत्केरी व्यथा लाग्नु पूर्व घर र माइतीबाट दही चिउरा ख्वाउने भनेर विभिन्न परिकार ख्वाउने, कतिपय जाति विशेषमा गोड धुवाई गर्ने तथा पश्चिमाहरुको नक्कल गरि शहरी क्षेत्रमा बेबी शावरिङ भनिने चलनले पनि सुत्केरी व्यथाको लागि आवश्यक शक्ति संचय गर्न तथा सुत्केरी व्यथाको डर चिन्ता कम गर्न सघाइरहेको छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्