IMG-LOGO

स्तनबाट असामान्य दूध बग्ने समस्या (ग्याल्याक्टोरिया)

 मंगल, कार्तिक २५, २०७७  --

ल्याटिन भाषामा ग्यालाक्टोको अर्थ दूध भन्ने बुझिन्छ । मेडिकल शब्दावलीमा पछिल्तिर –रिया (प्रत्यय) थप्नुको अर्थ असामान्य वृद्धि भन्ने बुझिन्छ । जस्तै कि झाडा लाग्ने अवस्थालाई डाइरिया, पिप बढी बग्ने अवस्थालाई पाइरिया, रुघा लागेको बखत अधिक पातलो सिँगान बग्ने बवस्थालाई राइनोरिया आदि । यसै मेसो स्तनबाट असामान्य तवरमा दूध बढी बग्ने अवस्थालाई ग्यालाक्टोरिया भनिन्छ ।  यस्तो असामान्य प्रकारको दूध पनि कञ्चन हुनुको साथै पहेँलो, सेतो वा हरियो रंगको हुनसक्छ । सुत्केरी अवस्था वा सन्तात उत्पादनसँग सम्बन्धित नभईकन पनि एउटा वा दुवै स्तनबाट दूध बहनु सामान्य अवस्था होइन । गर्भावस्थाको दोश्रो त्रैमासिक देखि वा स्तनपान गराइरहेकी महिलामा बाहेक अन्यमा स्तनबाट दूध आउने समस्या सामान्य होइन । स्त्री रोग विभागमा चेकजाँचका लागि आउने करिब १० देखि १५ प्रतिशत किशोरी वा महिलामा यो समस्या हुनसक्छ । स्तनबाट असामान्य तवरमा दूध बग्ने समस्या (ग्यालाक्टोरिया) जुनसुकै उमेरमा पनि हुनसक्छ । कहिलेकाहीँ महिनावारी सुकिसकेकी (रजनोवृत्ति भैसकेकी) महिलामा पनि यो समस्या हुनसक्छ । ग्यालाक्टोरियाको समस्याबाट प्रताडित एक तिहाई महिलाको रगतमा प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्न सक्छ । दूध उत्पादनका लागि प्रोल्याक्टिन निकै महत्वपूर्ण हर्मोन हुन्छ । गिदीमा रहने पिट्युटरी ग्रन्थिमा प्रोल्याक्टिनोमा भनिने ट्युमर आयो भने रगतमा प्रोल्याक्टिनको मात्रा बढ्छ । यसरी बढी मात्राको प्रोल्याक्टिन भयो भने दूधको उत्पादन असामान्य तवरले बढ्न जान्छ । विरलै भएपनि पुरुषमा पनि ग्यालाक्टोरियाको समस्या हुनसक्छ । प्रोल्याक्टिनोमाको समस्या भएका महिलामा एक वा दुवै स्तनबाट श्राव बग्ने, महिनावारी अनियमित हुने वा रोकिने, टाउको दुख्ने वा आँखाको दृष्टि समस्या आउने हुनसक्छ । प्रोल्याक्टिन बढी मात्रामा उत्पादन हुने समस्यामा रजनोवृत्तिका लक्षणहरु जस्तै गर्मी महशुश हुने, योनी सुख्खा हुने तथा हड्डी खिइने समस्या हुनसक्छ । कारण मानसिक वा शारीरिक तनावले रगतमा दूध उत्पादन गर्न सघाउने प्रोल्याक्टिन नामक हर्मोनको उत्पादन बढाउने हुनाले स्तनबाट असामान्य तवरमा दूध बग्नुको कारण जीर्ण प्रकारको तनाव पनि हो । त्यसैगरी अधिक स्तनको उत्तेजना, स्तनको थिचाई, कतिपय औषधिको साइड इफेक्ट एवं पिट्युटरी ग्रन्थीको समस्यामा पनि ग्यालाक्टोरियाको समस्या हुनसक्छ । पटक पटकको यौन क्रियाकलापका दौरान स्तन माड्ने कार्यले तथा किशोरी वा महिलामा आपैंmले आफ्नो स्तनमा क्यान्सर वा ट्युमर पलायो कि भनि घरिघरि गरिने स्तन जाँचको कारण पनि बिस्तारै दूध उत्पादन तथा निष्काशन हुनसक्छ । विरलै मात्रामा कडा वा खरो खालको ब्रा वा भित्री कपडाको घर्षण पनि कारक तत्व हुनसक्छ । कतिपय पिल्स चक्कीको कारणले पनि असामान्य स्तनश्राव हुनसक्छ । र, अधिकांश केसमा ग्यालाक्टोरियाको कारण नखुट्टिन पनि सक्छ । परीक्षण महिला शरीरमा अधिक मात्रामा प्रोल्याक्टिनको मात्रा बढ्न गयो भने महिनावारी अनियमित हुने वा रोकिन सक्छ । तर ग्याल्याक्टोरिया भएकी करिब ३० प्रतिशत महिलामा सामान्य महिनावारी हुनसक्छ । ग्यालाक्टोरियाको कारणले महिनावारी नगराउने वा गडबडी गराउने हुनाले निःसन्तानको समस्या भएकी महिलाको उपचारको क्रममा ती महिलाको शरीरमा प्रोल्याक्टिनको मात्राको जाँच वा ग्यालाक्टोरियाको समस्या छ, छैन सम्बन्धित चिकित्सकले निक्र्यौल गर्नुपर्दछ । ग्याल्याक्टोरियाको समस्यामा स्तनबाट निक्लिएको रस (दूध) जाँच गर्ने क्रममा चिल्लोका कणिका भेटिन्छ, भेटिँदैन भन्ने आधारमा दूध हो, होइन भन्ने कुरा प्रमाणित गर्दछ । ग्यालाक्टोरियाको समस्या हुनुको मुख्य कारण मस्तिष्क भित्रको प्रोल्याक्टिनोमा भनिने पिट्युटरी ग्रन्थीको ट्युमर पनि हुनसक्ने हुनाले सीटीस्क्यान बाट कारण पत्ता लाग्छ । उपचार अकारण वा बिना कारण देखिएको ग्यालाक्टोरियाको समस्या समयक्रममा आपैंm निको हुन्छ । ग्यालाक्टोरियाको समस्या आपैंmमा रोग होइन तर कतिपय गम्भीर रोगको लक्षण चिन्ह भने हुनसक्छ । स्तनको मुन्टा चलाउन छोडेमा वा दूध उत्पादन हुने औषधिको सेवन बन्द गरेमा ग्यालाक्टोरियाको समस्या ठिक ठाउँमा आउँछ । ग्यालाक्टोरियाको समस्यामा निरन्तर वा यदाकदा दूध आपैंm झर्ने वा चलाउने बित्तिकै दूध बग्ने हुन्छ । त्यसो भएर ग्यालाक्टोरियाको समस्या भएकाले स्तन खेलाउने, यौन क्रियाकलापका बेला मुन्टा छुने गर्नु हुँदैन । स्तनमा गिर्खा आएको, ट्युमर पलाएको छ कि भनेर चेक जाँच गर्ने कार्य महिनामा एक पटक भन्दा बढी स्तन परीक्षण गर्ने गर्नु हुँदैन । त्यसैगरी निकै कसिलो खालको एवं स्तनको छालामा घर्षण गराउने वा चिडचिडाहट पार्ने ब्रा लगाउनु हुँदैन । नरम खालको प्याडयुक्त ब्रा प्रयोग गर्नु राम्रो हुन्छ । यी सबै उपायबाट पनि ग्यालाक्टोरियाको समस्या समाधान भएन भने सम्बन्धित चिकित्सकको निगरानीमा ब्रोमोक्रिप्टिन र क्याबरगोलिन जस्ता कतिपय औषधि सेवन गर्नुपर्ने हुन्छ । पुछारमा, गर्भावस्था बिना पनि दूध उत्पादन हुनसक्ने रहेछ । विरलै मात्रामा भएपनि पुरुषमा पनि ग्यालाक्टोरियाको समस्या हुनसक्छ । गर्भावस्थाको दोश्रो त्रैमासिकबाटै दूध उत्पादन हुन थाल्ने हुनाले कसैको दोश्रो त्रैमासिक पछि गर्भ खेर गयो वा अधिग्रो गयो भने ती महिलामा दूध उत्पादन रोकिने औषधि चलाउनु पर्ने हुन्छ । नत्र स्तन गान्निएर पीडा हुने, पीप जम्ने, काम ज्वरो छुट्ने हुनसक्छ । कतिपय श्रीमान वा पुरुष पार्टनरले एवं महिला आपैंmले दूध सेवन गरेको खण्डमा के हुन्छ भन्ने जिज्ञासा राखेको पाईन्छ । स्तनबाट असामान्य तवरमा बगेको दूध शिशुका लागि पोषिलो भएपनि वयस्कको लागि गाईको दूधमा भन्दा कम प्रोटिनयुक्त हुन्छ । त्यसो भएर त्यस्तो दूध खाँदैमा केही हुने होइन तर नखानु नै वेश हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्