रवि लामिछानेले कायम नरहेको पुरानो नागरिकता प्रयोग गरेको मुद्दाका सन्दर्भमा मलाई केही गम्भीर तत्वज्ञान भएको छ । यो ज्ञान मेरा प्रिय मित्रहरूलाई पनि उपयोगी हुनसक्ने जस्तो लागेर शेयर गरेको छु ः
१. कसैप्रति हृदयमा अन्धभक्तिको ज्वार उठिसकेपछि मानिसहरू भेडाको बथानमा परिणत हुने रहेछन् र त्यस्ता मानिसहरूले आवाद गरेको समाज मानव समाज नभएर ठूलो भेडीगोठ बन्दो रहेछ ।
२. त्यस्ता भेडिगोठेहरूले दाल–भात खाए पनि वा पिज्जा– बर्गर चपाए पनि, थोत्रा बसमा यात्रा गरे पनि वा बीएमडब्ल्यु ड्राइभ गरे पनि तिनीहरूको सोच र सरोकारमा कुनै फरक आउँदो रहेनछ ।
३. सबै टल्कने धातु सुन नभएझैँ सुकिला–मुकिला, स्कुल– कलेज बुत्याएका, देश–देशावर घुमेका हुँदैमा तिनीहरू आलोचनात्मक चेत भएका विवेकशील व्यक्ति भइहाल्ने होइन रहेछन् ।
४. मानिस सुट–टाइ लगाउँने भेडो बनेपछि हरेक कुरालाई तत्व र तर्कको आधारमा पर्गेलेर निश्कर्ष निकाल्न छोडी आफूलाई लागेको कुरालाई परम् सत्य र बाँकी जगत् लाई मिथ्या ठान्दो रहेछ ।
५. भेडिगोठेहरूले त्यस्ता व्यक्तिलाई नेताका रूपमा हृदयमा विराजमान गराउँने रहेछन् जो घाँटीका नसा फुलाएर चिच्याउँदै अरूलाई गाली गर्न खप्पिस हुन्छ ।
६. अन्धभक्त भेडिगोठेहरू जात–पात र राष्ट्र फरक फरक भए पनि मनसा–वचसा– कर्म्मणा एकै किसिमका हुँदा रहेछन् आफ्ना आराध्यदेवको पक्षपोषण गर्ने मामिलामा । राष्ट्रपति डोनाल्ड ट्रम्पका रातो गर्धन भएका गोरा अन्धभक्तहरू र हाम्रा केपीबा र रवि लामिछानेका गहुँगोरा अन्धभक्तहरूको सोच र सरोकार ठ्याम्मै मिल्छ । न ओलीभक्तहरूले उनले गैर–संवैधानिक रूपले दुई पटक संसद भङ्ग गरेको गलत थियो भनेका छन् न त रवि लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरिरहनु हुँदैनथ्यो अथवा नेपालको कानूनले फौजदारी अपराध मान्ने एकै पटक दुई देशको पासपोर्ट राख्नु हुँदैनथ्यो नै भनेका छ्न् ।
गिदीमा मूर्खताको लेदो लबालब भएका अन्धभक्तहरूको पूजा–अर्चनाबाट पात्तिएर पो रविले नेपालको ऐन–कानूनको धज्जी उडाउँने धृष्टता गरेर आफ्नै फजिती गराएका हुन् कि !