IMG-LOGO

अमेरिकालाई रुस र चीनजस्तो बनाउन खोज्दै छन्– ट्रम्प

 मंगल, मंसिर ११, २०८१  – गिडियन राकमन

           डोनाल्ड ट्रम्पको नारा हामी सबैलाई थाहा छ । तर, आफ्ना घरेलु शत्रु विरुद्ध युद्ध सुरु गरेर उनले अमेरिकालाई फेरि महान् बनाउने छैनन् । बरु, उनको प्रतिशोध अभियानले अमेरिकाको महानताका वास्तविक आधारहरूलाई भत्काउने खतरा छ ।          अमेरिकी सेना, देशका प्रमुख विश्वविद्यालय, फेडेरल रिजर्भ, न्यायप्रणाली, स्वतन्त्र प्रेस, वैज्ञानिक प्रतिष्ठान र अमेरिकी नागरिकको स्वास्थ्य समेत जोखिममा छ । ट्रम्पले महत्वपूर्ण पदहरूमा प्रतिशोधी सनकीहरूलाई मनोनयन गरेका छन् । रोबर्ट एफ केनेडीजस्ता मानिसलाई मनलाग्दी गर्ने छुट दिने वाचा गरेका छन् ।          ट्रम्पका नीतिले अमेरिकालाई जुन क्षति गर्न सक्छ, त्यसबाट मस्को र बेइजिङजस्ता उसका असली शत्रु खुसी हुनेछन् । जब कुनै राष्ट्र आफ्नैविरुद्ध आक्रमणमा उत्रिन्छ, तब त्यो राष्ट्रको अन्तर्राष्ट्रिय शक्ति पतन हुन सक्छ । आफ्नै इतिहास हेरेर तिनले यो कुरा जान्दछन् ।          ट्रम्पका तालिमप्राप्त फौजको विश्वास छ– पहिले आन्तरिक शत्रुलाई नष्ट गरेपछि मात्रै मुलुकलाई पुनः महान बनाउन सकिन्छ । ट्रम्पले नै भनेका छन्, रुस र चीनभन्दा ‘भित्रका शत्रु ज्यादा खतरनाक हुन्छन् । उनले नियुक्त गरेका मान्छेहरू बदलाका लागि अमेरिकी संस्थाहरूलाई उलटपुलट गर्न तयार छन् ।          ट्रम्पले रक्षामन्त्रीमा मनोनयन गरेका पिट हेगसेथले लेखेका छन्, ‘कहिलेकाहीँ लडाइँ आन्तरिक शत्रुविरुद्धको संघर्षबाट सुरु हुनुपर्छ । एउटा पडकास्टमा उनले घोषणा गरेका छन्, ‘विविधिता, समानता र समावेशिता कार्यक्रममा सहभागी जुनसुकै जर्नेल, जुनसुकै एड्मिरललाई निकालिनेछ ।          वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाउन र तिनको ठाउँमा वफादारहरूलाई नियुक्त गर्न ट्रम्पले एउटा ‘वारियर बोर्ड गठन गर्ने योजना बनाएको समाचारहरूमा जनाइएको छ । त्यस्तै, उनको टिमले अफगानिस्तानबाट भद्रगोल फिर्तीमा भूमिका खेलेका केही सैन्य अधिकारीहरूलाई ‘कोर्ट मार्सल गर्ने विषयमा सोचविचार गरिरहेको खबर पनि छ ।          पहिलो कार्यकालमा ‘उनका जर्नेलहरूले आफ्नो वफादारी व्यक्तिगत रूपमा उनीप्रति होइन, संविधानप्रति रहेको बताएपछि ट्रम्प आगो भएका थिए । ‘ब्ल्याक लाइभ्स म्याटर प्रदर्शनका क्रममा ट्रम्पले सडकमा सेना उतार्न खोज्दा वरिष्ठ सैन्य अधिकारीहरूले विरोध गरेका थिए ।          यसपटक आफ्ना नयाँ बढुवा भएका सैन्य अधिकारीहरू पूर्णतः आज्ञाकारी रहून् भन्ने उनको चाहना छ । खासगरी उनले अवैध आप्रावासीहरूको सामूहिक निकालामा सेना खटाउन चाहेमा । तर, सबैभन्दा वरिष्ठ जर्नेलहरूलाई हटाउँदा देश नै कमजोर हुनसक्छ र सेना पनि द्विविधामा फस्न सक्छ ।          अमेरिकाका जासुसी निकाय पनि जोखिममा छन् । ट्रम्पद्वारा नेसनल इन्टेलिजेन्सको निर्देशक मनोनित तुलसी गबार्ड सिरियाका बसर अल असद अनि रुसका भ्लादिमिर पुटिनप्रति सहानुभूति राख्ने मान्छेका रूपमा चिनिन्छिन् । उनले लगातार रुसी प्रचारबाजी दोर्होयाउने गरेकी छन् । युक्रेनमा रुसको आक्रमण हुनुमा नेटोको विस्तार जिम्मेवार रहेको र अमेरिकाले युक्रेनभित्र गुप्त जैविक प्रयोगशाला चलाइरहेको उनको भनाइ छ । उनको नियुक्तिले अमेरिकाका सहयोगीहरू माझ खलबली मच्चिनेछ । त्यसमध्ये बेलायत सबैभन्दा प्रमुख हो, जसले अमेरिकासँग नियमित रूपमा जासुसी सूचना साझा गर्ने गर्छ ।          अमेरिकी विज्ञान र चिकित्सा संसारमै अगाडि छ । तर ट्रम्पले स्वास्थ्य तथा मानव सेवा मन्त्रालयको जिम्मा षड्यन्त्रका सिद्धान्तकारलाई दिने प्रस्ताव गरेका छन् । ट्रम्पकै समर्थन गर्ने न्युयोर्क पोस्टले धरी केनेडी जुनियरलाई भेटेपछि निष्कर्ष निकालेको छ, ‘थुप्रै विषयमा उनी अर्धसिल्ली रहेछन् । खोपप्रतिको उनको दुस्मनी उनले सिंगो अमेरिकामाथि थोपरे भने केनेडी जुनियरले भविष्यको महामारीको बीउ रोप्नेछन् ।          विश्वका शीर्ष १० मध्ये ७ युनिभर्सिटी अमेरिकामा छन् । तर, ती पनि ट्रम्पको शत्रुको सूचीमा छन् । उनका सहयोगीहरूको दाबी छ, युनिभर्सिटीहरू ‘वोकनेस (जागरुकता) र यहुदी घृणाको गढ हुन् । ट्रम्पलाई समर्थन गर्ने एक लगानीकर्ता बिल एकम्यानले हालै भनेका छन्, ‘यल युनिभर्सिटी पनि हमासभन्दा फरक छैन । ‘वोकनेसमाथिको हमलाको नाममा युनिभर्सिटीहरूलाई घुँडा टेकाउने प्रयास हुँदैछ । भोलि गएर अमेरिकामा बौद्धिक स्वतन्त्रतामाथि नै खतरा आउन सक्छ । महान् विश्वविद्यालयहरू त्यही बौद्धिक स्वतन्त्रतामा निर्भर छन् ।          अमेरिकालाई उसका निरंकुश प्रतिद्वन्द्विीहरूबाट वास्तवमै अलग गर्ने विशेषता भनेको प्रेस स्वतन्त्रता हो । त्यो पनि खतरामा छ । ट्रम्पले आफूलाई मन नपरेका सञ्चारमाध्यमहरूका विरुद्ध कयौँ मुद्दा दायर गरेका छन् । यो सर्वसत्तावादी शासनहरूको अत्यन्त प्रचलित रणनीति हो ।          कुनै पनि स्वतन्त्र संस्थालाई ट्रम्प खतरा मान्छन् । उनको प्रशासनले फेडेरल रिजर्भका प्रमुख जेरोम पावेललाई बर्खास्त गर्ने अनुमान छ । ट्रम्पसँग आफूलाई वैधानिक रूपमा हटाउने शक्ति नरहेको पावेलले पत्रकारहरूलाई सम्झाएका छन् ।          तर, ट्रम्पको कानुनी शासनबारे आफ्नै राय छ । महान्यायाधिवक्तामा ट्रम्पले मनोनयन गरेका म्याट गेट्ज नाबालिकको साथ यौन सम्बन्ध राखेकोलगायत नैतिकता उल्लंघनका आरोपमा रिपब्लिकन सांसदहरूकै अनुसन्धानमा थिए । उनले आरोप अस्वीकार गरेका छन् । ट्रम्पजस्तै आफू पनि राजनीतिकरण भएको न्याय प्रणाली सिकार बनेको उनको दाबी छ । स्टिभ ब्यानन, पिटर नवारोलगायत ट्रम्पका निकटस्थहरू भर्खरै जेलबाट निस्केका छन् ।          उनीहरू क्रुद्ध छन् । तिनको उदेश्य बदला लिनु हुनसक्छ । जसले न्यायप्रणालीलाई आफ्ना शत्रुको खेदो गर्न प्रयोग गर्न सक्छन् । यो दुःख पाउने व्यक्तिका लागि मात्र होइन, देशकै लागि नराम्रो खबर हो ।          अमेरिकी महानता कानुनको शासनमा आधारित छ । विदेशीहरूले अमेरिकी सम्पत्ति र सञ्चिति मुद्राका रूपमा डलरलाई विश्वास गर्नुको कारण नै कानुनी शासन हो । यदि ट्रम्पले न्याय प्रणालीलाई शत्रुको खेदो गर्न प्रयोग गरे अनि आफ्ना अर्बपति आसेपासेलाई पुरस्कृत गरे भने लगानीकर्ताहरू डराउन सक्छन् ।          अमेरिकी संस्थाहरूमाथिको आक्रमणले अमेरिका फेरि महान बन्दैन, बरु यसले अमेरिकालाई रुस र चीनजस्तो बनाउने छ । जसले पुटिन र सी चिनिफिङलाई फाइदा हुने छ । त्यसको परिणाम भने अमेरिकी र अमेरिकाका सहयोगीहरूले भोग्ने छन् । (फाइनान्सियल टाइम्सबाट)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्