माया १ ’चिर्पटले हानेर श्रीमतीको हत्या’ कान्तिपुर दैनिक, कार्तिक १०, २०७७ ’जुठो खाएपछि माया बढ्छ’ भन्दै आमा सधैँ बाँले खाएको जुठो थालमा पस्कनु हुन्थ्यो प्रेम त्यसैले होला सायद, बा रक्सी पिएर आमाको शरीरभरि बर्साउनु हुन्थ्यो मायाको नीलडाम बाँको माया धेरै भएको एकरात आमाको आत्मा नै बाहिर निस्कियो अत्याधिक मायाले ज्यान लिने रहेछ माया २ ’दाइजो थोरै ल्याएको निहुँमा आगो लगाएर श्रीमतीको हत्या’ उज्यालो नेटवर्क, फाल्गुन १०, २०७७ ’नाकमा धेरै पसिना आउनेले धेरै माया पाउँछ’ भन्दै दिदी मक्ख पर्नुहुन्थ्यो त्यसैले होला सायद भिनाजुले दाइजोको निहुँमा दिदीलाई असिन्–पसिन् बनाए सधैँ भिनाजुको प्रेम धेरै भएको एक साँझ दिदी जल्नुभयो धेरै प्रेममा मान्छे जल्दो रहेछ माया ३ ’प्रेममा धोका पाएकी युवतीद्वारा आत्महत्या’ नागरिक दैनिक, पुस १६, २०६९ ’मायाप्रेममा सबथोक जायज हुन्छ’ भन्थी बहिनी त्यसैले होला सायद कसैले जायज प्रेमको चिनो राखि दियो उसको गर्भमा एक दिउँसो उसले आफ्नो जायज प्रेमीको नाममा झुण्ड्याई आफूलाई मृत्युको धुरीमा यो मायाप्रेममा मृत्यु पनि जायज हुनेरहेछ माया ४ ’अन्तरजातीय विवाह गरेका युवा तीन दिनदेखि बेपत्ता’ अन्नपूर्ण पोस्ट, पुस ३, २०७८ ’मायाप्रेमममा हराएपछि जात र धर्म र लिङ्ग र औकात केही हेरिँदैन’ भन्नुहुन्थ्यो दाजु त्यसैले होला सायद अन्तरजातीय विवाह गर्नुभएको दाजुलाई मान्छे देखेनन् भाउजुका माइतीले पनि र, एक बिहान गायब हुनुभयो दाजु भाउजुको प्रेममा माया प्रेमममा साँच्चिकै हराउँदो रहेछ मान्छे माया ५ ’संसारकै सुन्दर कुरा हो प्रेम’ म भन्दैछु म भोग्दैछु अहिले म बाँचेछु या मरेछु भने लेखिदेला कसैले यसको सुन्दरता या कुरुपता कति माया प्रेम अधुरै रहे झैँ त्यतिञ्जेललाई अधुरै रहनेछ यो कविताको अन्तिम हरफ