तिमीलाई लाग्यो– लुकिङ ग्लासमा तिमीले नदेख्ने गरी छेलिएर म तिमीलाई हेरिरहेको छु । मलाई लाग्यो– लुकिङ ग्लासमा मेरो आँखा छलेर तिमी मलाई हेरिरहेकी छ्यौ । लुकिङ ग्लासमा हेरिरहेको न तिमीले मलाई थियो न मैले तिमीलाई थियो । खासमा हेरिरहेको लुकिङ ग्लासले आफूमा हामीलाई थियो । यत्ति कुरा नबुझेर हामीले एकअर्कालाई एकआपसमा समर्पित गरिदियौं– सधैँ सधैँका लागि ।