जीवन मासिन्छ, फेरि उम्रिन्छ, प्रकृति मर्दैन यौवन नासिन्छ, फेरि उम्रिन्छ, प्रकृति मर्दैन शाश्वत रहने थोक हो, मीठो अनुभूति यो घरीघरी पलाइरहने वसन्त हो प्रेमानुभूति यो जीवन हुँदैन नयाँ न पुरानो, प्रेमानुभूति पनि बाँच्ने शैलीले फनफनी बेस्सरी बेह्रिए पनि निस्सासिएको मन उदाङ्गो पार्ने तत्त्व नै प्रेमानुभूति रहेछ एउटा शाश्वत तत्त्व हृदयभित्र झुण्डिरहने तुर्लुङ्ग ! अक्षरहरू भएर पन्नाहरूलाई अँगालिरहने गुम्लुङ्ङ ! आधुनिक–उत्तरआधुनिक विचारका थाक्राहरूमा कति दिन नयाँ भएर उभिन्छ हँ जीवन ? त्यसपछिको जीवन कति नयाँ ? कति पुरानो ? सधैँ नयाँको पछि लाग्ने ? पुरानोदेखि भाग्ने ? नयाँ भनेको एउटा अमूर्त शब्द मात्रै, न त यसले प्रेमानुभूतिलाई नयाँ बनाउन सक्छ, न त यसले जीवनलाई पुरानो कलाउन सक्छ, फेरि अहम् किन पाल्ने नयाँ हुँ भन्ने ? फेरि बहाना किन बनाउने नयाँ हुँ भन्ने ? शाश्वत् थोकलाई कसरी चिन्ने ? कुन नयाँ ? कुन पुरानो ? प्रश्न यो कसलाई सोधूँ ? नयाँलाई कि पुरानोलाई ? कुरो जवानी र बुढेसकालको होइन जीवनचक्रको हो, कुरो बँचाइ र जँचाइको होइन शाश्वत वृत्तको हो, जुन चलिबस्छ ,जुन घुमिबस्छ जसको आदि छ न अन्त, अनादि रूप यो अदृश्य कस्तो हो ! चलिरहन्छ, घुमिरहन्छ अनन्त छ यात्रा यसको अहो ! आदि अनादिको चरित्र भिर्ने मनदेखि आत्मासम्म चिर्ने अदेख अनुभूति कस्तो हो यो ! अनन्त क्रम जारी छ कुन नयाँ ? कुन पुरानो ? वादहरूको भुँवरीभित्र ? डाउहिल, खरसाङ, भारत